लगातार चुनाव जितेर सत्ता शक्तिको वरिपरि रहेका नेता थिए, विजयकुमार गच्छदार। त्यसैले मंसिर ४ अघिसम्म उनी चुनावका सफल खेलाडीमा दरिँदै आएका थिए।
यसपटक भने उनी संसद यात्राबाट बञ्चित भए। एमालेकी भगवती चौधरीले सुनसरी ३ मा पराजित गरेर गच्छदारको सातौं पटकको संसद यात्रा असम्भव तुल्याइदिइन्।
२०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए।
२०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका उनी २०७४ मा फेरि कांग्रेसबाट चुनाव जितेका थिए। यसपटक पनि जित्ने उनको लक्ष्य भने भगवतीले पूरा हुन दिइनन्।
यसरी सधैंको चुनावका विजेता गच्छदार पहिलो हारबारे के सोचिरहेका होलान्?
२०७४ मा वाम गठबन्धन हुँदासमेत जितेका उनी यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार हुँदा पनि पराजित हुनुको कारण केलाई ठान्दा हुन् ?
बिहीबार उनी आफैंले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यी खुल्दुली मेट्ने एउटा अवसर थियो।
आफ्ना समर्थकहरूसहित भेला भएका गच्छदारको प्रस्तुतिले चुनावी हारमा आफ्नो कमजोरी कतै फेला नपारेको बुझिन्थ्यो।
उनी कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने पक्षमा खुले।
संसदीय दलमा पुस्तान्तरणको कुरा चलिरहेका बेला त्यसलाई उनले अघिल्लो पुस्ताको इच्छामा भरपर्ने बताइदिए।
पत्रकार सम्मेलनमा लाग्थ्यो, उनीसँग हरेकजसो प्रश्नको सजिलो उत्तर छ।
हारको कारणदेखि नयाँ सत्ता समीकरणसम्मको सवालमा उनको अभिव्यक्तिले त्यही संकेत गथ्र्यो।
त्यसो त यसपटक चुनाव हार्ने गच्छदार एक्ला हेभिवेट होइनन्। एमाले र माओवादीका शक्तिशाली महासचिवहरू नै पराजित भए। अरू धेरै कहलिएका नेताहरू चुनावी असफलता भोग्न बाध्य भए।
यसरी स्थापित र ठूला राजनीतिक दलका प्रभावी नेताहरूको चुनावी असफलताको कारण खोज्न उनीहरूले ढिलाइ गर्न नहुने मत अभिव्यक्त भइरहेका बेला गच्छदारले भने आफ्नो हारको कारण सजिलै फेला पारिसकेका रहेछन्।
हारको सजिलो कारण सुनाइरहँदा उनले आफूले भने कहीँ पनि सच्चिनुपर्ने आवश्यकताबोध गरेका रहेनछन्।
‘मैले ३५ हजारभन्दा बढी मत ल्याएँ, मैले भन्दा थोरै बढी एमालेको मत आयो यसर्थ यसपटक मैले पराजय ब्यहोर्नु पर्यो’, पत्रकार सम्मेलनमा उनले सुनाए ‘कांग्रेसको तीन हजार मत सुरक्षित गर्न सकिएनछ। फेरि उपेन्द्र यादवजीको पार्टीको चार हजार मत सोझै सूर्यमा गयो। यही कारणले मैले चुनाव हार्नुपर्यो।’
चुनाव अघि उनले आफूलाई बालुवाटार जग्गा प्रकरणमा अन्यायमा पारिएको भन्दै ‘जनअदालतले न्याय दिनुपर्ने’ बताउने गरेका थिए।
तर, उनकै शब्द सापटी लिने हो भने सुनसरी ३ का मतदाताले उनलाई ‘न्याय’ दिएनन्।
‘यतिधेरै मतदाताले मत दिएर मलाई न्याय नै दिएका हुन्’, उनले भने ‘थोरै मत सुरक्षित गर्न नसकिएको हो। यसबारे समीक्षा हुँदै जाला पार्टीभित्र।’
एमालेकी भगवती चौधरीले सातौं पटकको संसद यात्रामा ब्रेक लगाइदिएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा झुल्किएका गच्छदारले चुनावी अंक गणितको सोझो हिसाब सुनाएपछि ‘मुलुक राजनीतिक अस्थिरतातिर जाने’ चिन्ता पनि प्रकट गरे।
तर, त्यो चिन्ता हटाउने उपाय पनि उनले सुझाए।
‘यदि कांग्रेस र एमाले मिलेर सरकार बनाए भने स्थिरता हुनेछ’, उनको भनाइ थियो ‘यो कति सम्भव छ थाहा छैन। तर, यसो भयो भने म खुसी हुनेछु।’
कांग्रेस र एमाले मिलाएर सरकार बनाउने कामको पहल लिने पनि गच्छदारले बताए।
भर्खरैको चुनावमा दुइटा फरक गठबन्धनको नेतृत्व कांग्रेस र एमालेले गरेका थिए।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा एकातिर अनि एमाले, जसपा, राप्रपा, राप्रपा नेपालसहितका दलहरू अर्कातिर उभिएर चुनावी प्रतिष्पर्धा गरेका थिए।
चुनावमा बहुमत नआउने बित्तिकै फरक गठबन्धनका दलहरू मिलेर सरकार बनाउनु नैतिक हुन्छ?
सेतोपाटीको यो प्रश्नमा गच्छदारले प्रष्ट कुरा गरेनन्।
‘स्थिरताको सवालमा मैले यसो भनेको हुँ, आन्दोलनहरूमा मिल्ने कांग्रेस एमालेले समृद्धिका लागि यसो गर्नु उचित हुन्छ भन्ने मलाई लागेको हो’, उनले भने ‘तर, म संसदमा छैन। यो कुरा मलाई लागेको छ।’
राजनीतिक अस्थिरताले ‘सिस्टम नै खतरामा पर्ने’ अवस्था आउनसक्ने उनको भनाइ थियो।
लगातार जितिरहेको व्यक्तिलाई सातौं पटक मतदाताले मन र मत बदलेर पराजित तुल्याउँदा आफूबाट केही कमजोरी भयो कि भन्ने लागेको छैन? सेतोपाटीको अर्को प्रश्नका क्रममा गच्छदारले हारको दोष उपेन्द्र यादवतिर सोझ्याएका थिए।
आफ्नो मूल्यांकन र समीक्षाको कुरै नगरी उनले हिसाब लगाएका थिए ‘यदि उपेन्द्रजीको पार्टी एमालेतिर नमिलेको भए त्यो चार हजार मत मलाई नै आउने थियो। म चुनाव जितिहाल्थेँ। मैले उपेन्द्रजीलाई पनि यो कुरा भनेको थिएँ।’
पत्रकार सम्मेलनको सुरूमा उनले नेपाली पत्रकारिता क्षेत्रको प्रशंसामा धेरै शब्द खर्चिए।
‘तपाईंहरूको कलम यति तागतवर छ कि जो कसैलाई उठ्ने र बस्ने बनाइदिन्छ’, प्रंशसाको यति पुल बाँधेर उनले भने ‘म रिटायर्ड लाइफमा पत्रकारिता र लेखनतिर लाग्नेछु।’
त्यो रिटायर्ड जिन्दगी अबको १० वर्षपछि सुरू हुने उनले निर्धक्क बताए।
‘महन्थ ठाकुर ८० वर्षमा संसद आउनुभएको छ, शेरबहादुरजी पनि ७७ वर्षमा फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ। शेखरजी ७३ वर्षको हुनुभयो’, उनले भने ‘म भर्खरै ६९ को भएँ। मेरो ७७ पुग्नै अझै बाँकी छ। तर, म २०८९ सालमा रिटायर्ड हुनेछु।’
यति भनिसकेपछि उनले अहिले पार्टीको संसदीय दलमा उठेको पुस्तान्तरणबारेको प्रश्नमा केहीबेर आफ्ना कुरा राखे।
‘पुस्तान्तरण प्राकृतिक कुरा हो, चलिरहन्छ,’ उनले भने ‘अहिले शेरबहादुरजीले चाहे पुस्तान्तरण हुने हो। उहाँले नचाहेसम्म पुस्तान्तरण वा नेतृत्व हस्तान्तरणको सम्भावना म देख्दिनँ।’