नेपाली कांग्रेसमा पुस्तान्तरणको बहस जबरजस्त रूपमा देखा पर्न थालेको छ। कांग्रेसले गत वर्ष मंसिरमा १४ औं महाधिवेशन गर्दा सभापतिमा पुस्तान्तरण गर्न सकेन। महामन्त्रीमा भने युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले जितेका थिए।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको परिणाम आइसकेको छ। कांग्रेसका युवा नेताहरूले नेतृत्वमा पुस्तान्तरण गर्ने मौकाका रूपमा संसदीय दलको चुनावलाई लिएका छन्।
महामन्त्री थापाले चुनावका बेलादेखि नै संसदीय दलको नेता उठ्ने र अब प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन्। महामन्त्री थापाको योजनालाई साथ दिएका छन्, अर्का महामन्त्री शर्माले। झापा १ बाट पहिलो पटक चुनाव जितेका शर्माले महामन्त्री थापालाई संसदीय दलको नेतामा अगाडि सारेका छन्।
शर्माले केही दिनदेखि थापाका पक्षमा माहौल तयार गर्न दौडधुप गरिरहेका छन्। उनीनिकट एक नेताले दिएको जानकारीअनुसार शर्माले सभापति देउवादेखि नवनिर्वाचित सांसदहरूसँग भेटेर कुराकानी गरिरहेका छन्।
कांग्रेसमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने बहस हाकाहाकी भइरहेको छ। गत शुक्रबार र शनिबार पनि यो बहसले थप व्यापकता पायो, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा।
कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ ३२ सांसद पठाउनु पर्ने थियो। क-कसलाई पठाउने भन्ने तय गर्न शुक्रबार र शनिबार बालुवाटारमा सभापति देउवासँगै महामन्त्रीद्वय थापा र शर्मा पनि थिए।
त्यहाँ अब संसदीय दलमा को उठ्ने भन्ने कुरा पनि अनौपचारिक रूपमा उठेको थियो। महामन्त्री शर्माले मुखै खोलेर देउवालाई सोधे- अब संसदीय दलमा तपाईंले कसलाई उठाउँदै हुनुहुन्छ?
देउवाले जवाफ दिए, अरू को? म नै उठ्छु नि!
यसपछि शर्माले अहिले कतारमा भइरहेको विश्वकप फुटबलको प्रसंग निकाले। शर्मा र सभापति देउवाबीच यस्तो संवाद भयो-
विश्वप्रकाश- सभापतिज्यू, विश्वकप फुटबल हेर्दै हुनुहुन्छ?
शेरबहादुर- कहाँ हेर्न पाउनु यार।
विश्वप्रकाश- ब्राजिल त हार्यो नि!
शेरबहादुर- अँ हार्यो रे!
विश्वप्रकाश- सभापतिज्यूलाई थाहा छ कि छैन, ब्राजिल पाँच पटकको विश्वविजेता हो।
शेरबहादुर- हो है, पाँच पटक जितेको?
विश्वप्रकाश- पाँच पटक जित्यो तर छैटौं पटक जित्न सकेन नि फेरि!
शेरबहादुर- जित्न सकेन है।
विश्वप्रकाश- तपाईं (देउवा) पनि पाँच पटक प्रधानमन्त्री हुनुभयो। जित्नुभयो। छैटौं पटक भन्न सकिन्न नि फेरि।
केहीबेर हाँसो चल्यो।
यसपछि सभापति देउवाले कसलाई संसदीय दल नेता उठाउने हो भनेर शर्मालाई सोधेका थिए। शर्माले सँगै बसेका अर्का महामन्त्री थापालाई देखाउँदै भनेका थिए- अरू अघि नसरे उहाँ नै हो।
महामन्त्री शर्माले फुटबलको कुरा निकाल्दै यसपटक संसदीय दलको नेतामा सहयोग गर्न नसक्ने संकेत गरेका हुन्। कांग्रेसमा अबको संसदीय दलको नेता को हुने भन्नेबारे सौहार्दपूर्ण वातावरणमा यस्ता संवादहरू भइरहेका छन्।
‘हाम्रो पार्टीमा एमालेको जस्तो निषेध छैन। दल नेता लोकतान्त्रिक प्रक्रियाबाट छान्दैछौं,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘जनताको विवेकले सांसद छाने, सांसदको विवेकबाट दल नेता छान्छौं र प्रधानमन्त्री बनाउँछौं।’
कांग्रेसभित्र देउवाको विकल्पमा संसदीय दलको नेतामा रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गगन थापा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, धनराज गुरूङ, शेखर कोइराला लगायतको चर्चा छ। तर अरूले भन्दा गगनले यसपालि आफूलाई दह्रोसँग उभ्याएका छन्।
कांग्रेसले सम्भवत: पुस २ गतेपछि संसदीय दलको नेता चयनका लागि तयारी गर्नेछ।
‘एकातर्फ देउवा र अर्कोतर्फ गगन संसदीय दल नेताका लागि आमनेसामने हुन्छन्। तर शेखर कोइरालाको भूमिका के रहन्छ भन्ने चासोसाथ हेरिएको छ,’ कांग्रेसका ती पदाधिकारी भन्छन्, ‘शेखर आफैं उठ्ने हो कि गगनलाई समर्थन गर्ने हो कि के हो प्रष्ट भइसकेको छैन।’
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। यीमध्ये आधाभन्दा धेरै विगतमा सभापति देउवानिकट थिए। यसपालि संसदीय दलको चुनावमा गत महाधिवेशनमा देउवासँगै उभिएकाहरू फेरि पनि देउवासँगै उभिन्छन् कि पुस्तान्तरणतर्फ मोडिन्छन् यसका लागि केही दिन कुर्नुपर्ने हुन्छ।