लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दश दलले शनिबार निर्वाचन आयोगमा समानुपातिक तर्फको अन्तिम नामावली बुझाएका छन्।
यो प्रदेशमा जम्मा ३५ समानुपातिक सिटमा ३१ जना महिला छन्। प्रत्यक्षतर्फ एक जना मात्र महिला निर्वाचित भएकाले ३३ प्रतिशत महिला सिट संख्या पुर्याउन समानुपातिकमा सबै दलबाट अधिकांश महिलाको नाम सिफारिस भएको हो।
यो प्रदेशमा समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २-२ तथा जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १-१ सिट पाएका छन्।
मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत प्रत्यक्षमा कुनै सिट नजिका राष्ट्रिय जनमोर्चाले गुल्मीकी तारा थापा र नेकपा एकीकृत समाजवादीले रूपन्देहीकी भगवती अधिकारी घिमिरेलाई सिफारिस गरेको छ।
यी हुन् एमालेबाट सिफारिस भएका प्रदेश सांसदहरू
मंसिर ४ को निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रत्यक्षतर्फ १८ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ११ सिट भाग पारेको थियो।
जसमध्ये एमालेले दश जना महिला र एक जना मात्रै पुरूषलाई समानुपातिक सांसद बनाउँदैछ।
जस अन्तर्गत थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही) लाई सांसदका रुपमा सिफारिस गरेको छ।
दाङकी रेखाकुमारी शर्मालाई पनि उसले सांसद बनाउँदैछ।
त्यस्तै खसआर्य महिलातर्फ बसन्ती न्यौपाने (बाँके), जानकी न्यौपाने (रूपन्देही), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुमपूर्व), यमुना रोका तामाङ (रोल्पा) लाई सांसद बनाएको छ।
दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), मधेसीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) को नाम एमालेले निर्वाचन आयोगमा सिफारिस गरि पठाइसकेको छ।
कांग्रेसले सिफारिस गरेका नामहरू
प्रदेशमा १७ सीट प्रत्यक्षतर्फ जितेको कांग्रेसले समानुपातिकतर्फ दश सांसद जितेको छ। दशमध्ये नौं जना महिला र एक जना पुरुषलाई कांग्रेसले समानुपातिक सांसद बनाउँदैछ।
मधेसीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) को नाम काँग्रेसले सिफारिस गरेको छ।
त्यस्तै मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके), थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) छन्।
त्यस्तै खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) छन्।
जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) लाई कांग्रेसले सांसद बनाउने भएको छ।
माओवादीले सिफारिस गरेका नामहरू
प्रत्यक्षतर्फ एक महिलासहित पाँच सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकमा चार सिट जितेको थियो। जसमा उसले समान दुई महिला र दुई पुरूषलाई समानुपातिक सांसद बनाउन लागेको छ।
उसले जनजातितर्फ दिलकुमारी बुढा (रूकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया), दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) र खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची)लाई सिफारिस गरेको छ।
अन्य दलले क-कसलाई पठाए?
लुम्बिनीमा राप्रपाले मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ (बाँके)लाई सांसद बनाउने भएको छ।
नागरिक उन्मुक्ति पार्टीले निर्मलाकुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) लाई सांसद बनाउने भएको छ।
यस्तै जनमत पार्टीले सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही) को नाम सिफारिस गरेको छ।
त्यस्तै लोसपाले हेमा बेल्वासे केसी (गुल्मी) र जनता समाजवादी पार्टीले अम्बिका काफ्ले (बर्दिया) लाई सांसद बनाउने भएको हो।
२०७४ सालमा लुम्बिनीमा ५ दलको मात्रै प्रतिनिधित्व थियो। ३२ दलले चुनाबमा भाग लिएको भए पनि यो पालि १० राजनीति दलको प्रतिनिधित्व रहनेछ। प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक-एक सिट पाएका छन्।
यहाँ स्वतन्त्रले ३ सीट जितेका छन्। उनीहरु सबै माओवादीबाट बिद्रोह गरि स्वतन्त्र रुपमा निर्वाचनमा भिडेका हुन्।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ।