राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको छ।
गत मंसिरमा महाधिवेशन गरेर राप्रपाले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाएपछि यो पार्टीप्रति यसपालिको चुनावमा पाँच वर्षअघिको चुनावभन्दा आकर्षण देखिएको हो।
२०७४ सालको चुनावमा लिङ्देनले मात्रै जितेका थिए। एक सांसद रहेको राप्रपा अहिले फैलिएर १४ सिटमा पुगेको छ भने संसदमा पाँचौं ठूलो दल बनेको छ।
लिङ्देनले झापा ३, दीपक बोहरा रूपन्देही ३, जुम्लामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), मकवानपुर १ मा दीपक सिंह, चितवन ३ मा विक्रम पाण्डे, नवलपरासी पश्चिम २ मा ध्रुवबहादुर प्रधान, बाँके २ मा धवलशमशेर राणाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जिते।
राप्रपाले केही ठाउँमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।
राप्रपाले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएको छ। जसअनुसार समानुपातिकमा ७ सिट पाएको थियो।
समानुपातिक ७ सिटमध्ये २ जना पुरूष र ५ जना महिलालाई राप्रपाले सांसद बनाएको छ। राप्रपाले क-कसलाई सांसद छान्यो र उनीहरूको विगत के थियो भनेर हामीले यहाँ संक्षिप्त चर्चा गरेका छौं:
१. पशुपतिशमशेर जबरा
राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा समानुपातिकतर्फ प्रतिनिधि सभा सांसद भएका छन्। ८१ वर्षका उनी मंसिर ४ को चुनावबाट चुनिएकामध्ये सम्भवत: सबैभन्दा जेठो सदस्य हुन्। उनी काठमाडौंका बासिन्दा हुन्। उनी अर्थ, परराष्ट्र, जलस्रोत तथा सञ्चार, पर्यटन तथा यातायात मन्त्री र स्थानीय विकास मन्त्री भइसकेका छन्। उनी पूर्वप्रधानमन्त्री मोहनशमशेर राणाका नाति हुन्।
राप्रपाले जबरालाई समानुपातिकतर्फ पहिलो नम्बरमा नाम राखेको थियो। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मतदान गरेरै उनको नाम पहिलो नम्बरमा राखिएको हो। त्यो बेला प्रतिस्पर्धामा उत्रिएर जबराभन्दा २ मत कम ल्याएका प्रकाशचन्द्र लोहनीको नाम दोस्रो नम्बरमा राखिएको थियो। राप्रपाका पूर्वअध्यक्ष लोहनीलाई पार्टीले यसपालि सांसद बनाएन।
२. बुद्धिमान तामाङ
राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई पार्टीले समानुपातिक सांसद बनाएको छ। उनी धादिङका हुन्। उनी गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा कमल थापा प्यानलबाट जितेका थिए। तर थापाले पार्टी छाड्दा उनले साथ दिएनन्। उनले २०५६ को चुनावमा धादिङबाट जितेका थिए। उनी गृहमन्त्री, भौतिक योजना मन्त्री पनि भइसकेका छन्।
३. रोशन कार्की
राप्रपाकी उपाध्यक्ष रोशन कार्की ललितपुरकी हुन्। उनलाई पार्टीले समानुपातिक सांसद बनाएको छ। उनी *पहिलो पटक सांसद बनेकी हुन्। ज्ञानेन्द्र शाह राजा हुँदा उनी स्थानीय सहायक विकास मन्त्रीसमेत भएकी थिइन्, त्यसबेला उनी सांसद थिइनन्।
४. गीता बस्नेत
राप्रपाले बर्दियाकी गीता बस्नेतलाई प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको छ। उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनीतसमेत गरेका थिए। उनी लामो समयदेखि राप्रपामा छिन्। उनले २०७४ को चुनावमा गुलरिया-७ मा वडाध्यक्ष जितेकी थिइन्।
५. बिना लामा
राप्रपाले पार्टी केन्द्रीय सदस्य बिना लामालाई समानुपातिक सांसद बनाएको छ। उनी धादिङकी हुन्। २०७४ मा उनी धादिङको रूबीभ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचितसमेत भएकी थिइन्।
६. बिना जयसवाल
पर्साको वीरगञ्जकी बिना जयसवाललाई राप्रपाले समानुपातिक सांसद बनाएको छ। उनी गत वैशाखमा भएको स्थानीय चुनावमा वीरगञ्ज उपमहानगरपालिकामा राप्रपाबाट उपप्रमुख पदमा उम्मेदवार थिइन्, उनी पराजित भइन्।
७. अनिशा नेपाली
सल्यानकी अनिशा नेपालीलाई राप्रपाले समानुपातिक सांसद बनाएको छ। उनी लामो समयदेखि राप्रपामा क्रियाशील थिइन्। साथै उनी दलित आन्दोलनमा समेत क्रियाशील थिइन्।
(* सच्याइएको)
यो पनि:
एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत?
कांग्रेसले छानेका ३२ समानुपातिक सांसद को हुन्, के हो उनीहरूको विगत?
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका १३ समानुपातिक सांसद, के हो उनीहरूको विगत?