जनता समाजवादी पार्टी(जसपा)ले समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ जना सांसद पाएको छ। प्रत्यक्षतर्फ ७ स्थानमा जितेको जसपाका यो संसदमा १२ सांसद हुने छन्।
जसपाले समानुपातिकमा सिफारिस गरेका सांसदमा २०६३ को मधेस आन्दोलनमा लागेकादेखि नवप्रवेशीहरूसम्म छन्। हामीले जसपाबाट समानुपातिक सांसद बनेका ५ जनाको पृष्ठभूमि केलाएका छौं।
१. प्रकाश अधिकारी
प्रकाश अधिकारी जसपाका कार्यकारिणी सदस्य हुन्। सिराहाका अधिकारी २०२८ सालदेखि वाम विद्यार्थी आन्दोलनमा लागेका हुन्। नेकपा संयुक्तबाट विद्रोह गरेर उनले तत्कालीन संघीय समाजवादी फोरमसँग २०७४ मा पार्टी एकता गरेका हुन्। त्यसयता उनी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग निकट भएर काम गरिरहेका छन्।
२. सुशीला श्रेष्ठ
सुशीला श्रेष्ठ जसपाकी कार्यकारिणी सदस्य हुन्। २०२८ सालदेखि पञ्चायतविरोधी राजनीतिमा सक्रिय भएकी श्रेष्ठ २०२९ सालमा संखुवासभाको भानु जन माध्यमिक विद्यालयको स्ववियु कोषाध्यक्ष भएकी थिइन्। नेकपा मालेको झापा आन्दोलनबाट प्रभावित भएकी श्रेष्ठ २०४६ सालसम्म भूमिगत भइन्। २०३५ सालमा आफ्नै आखा अगाडि रत्नकुमार बान्तवालाई पञ्चायती शासकले गोली हानेको श्रेष्ठले सेतोपाटीलाई बताइन्। उनी एमालेनिकट अनेमसंघको उपाध्यक्ष र महासचिव भइसकेकी छन्। २०६९ सालमा उनले आफ्ना पति अशोक राईसँगै एमालेबाट विद्रोह गरेकी हुन्। श्रेष्ठ २०५० सालदेखि स्वप्नवाटिका स्कुलको प्रिन्सिपल छन्।
३. रञ्जु ठाकुर
रञ्जु ठाकुर जसपाकी केन्द्रीय सदस्य हुन्। उनी एमाले पृष्ठभूमिबाट आएकी हुन्। २०७८ चैतमा मात्रै ठाकुर जसपा प्रवेश गरेकी हुन्। २०७० मा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी ठाकुर त्यो बेलामा महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिकी सभापतिसमेत भएकी थिइन्। उनी २०६४ सालको संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट एमालेको उम्मेदवार भई पराजित भएकी थिइन्।
४. रेखा यादव
रेखा यादव जसपाकी केन्द्रीय सदस्य हुन्। उनी सदभावना पार्टीको पृष्ठभूमिबाट आएकी हुन्। २०४७ माघमा सद्भावना अध्यक्ष गजेन्द्रनारायण सिंहको नेतृत्वमा सिंहदरबार घेराउ अभियानमा लाग्दा उनी पक्राउसमेत परेकी थिइन्। पटक-पटक गरेर १३ पटक गिरफ्तार परेकी यादव २०६४ देखि मधेशी जनअधिकार फोरममा आवद्ध भइन्। २०६४, २०७० र २०७४मा समानुपातिक सूचीमा परेकी विराटनगरकी यादव चौथो पटकमा सांसद बनेकी हुन्।
५. सहनाज रहमान
सहनाज रहमान जसपा केन्द्रीय सदस्य हुन्। कांग्रेस पृष्ठभूमिकी हुन्। २०६३ देखी मधेसी जअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भइन्। २०६४, २०७० र २०७४ मा समानुपातिक सूचीमा रहेकी सहनाज रहमानले यसपटक सांसद बन्ने अवसर पाएकी हुन्।