यसपटकको संसद्ले सदस्यका रुपमा एक जना जीव वैज्ञानिकलाई स्वागत गर्ने निश्चित भएको छ।
झापा भद्रपुरका ६६ वर्षीय कालुराम राई खम्बु (केआर खम्बु) समानुपातिक सांसद बनेर प्रतिनिधिसभामा प्रवेश गर्दैछन्।
उनको अहिलेसम्मको पहिचान विशुद्ध प्राज्ञिक थियो। त्रिभुवन विश्वविद्यालय मातहतका विभिन्न क्याम्पसहरुमा ३६ वर्ष प्राध्यापन गरेका उनी विज्ञानका विद्यार्थीहरूका प्रिय गुरु मात्रै थिएनन्, प्राणीशास्त्रका सफल र कहलिएका अनुसन्धाता पनि हुन्।
यो सातादेखि भने उनी मुलुकको विधायक पनि बन्दैछन्। जीवनको बहुसंख्यक समय प्राणीशास्त्रको अध्ययन–अनुसन्धानमा खर्चिएका र उत्तिकै समय विद्यार्थी पढाएका ‘खम्बु सर’ प्रतिनिधिसभा सदस्य बनेर संसद् प्रवेश गर्दैछन्।
नयाँ भूमिकाले आफूलाई रोमान्चित तुल्याएको उनले बताए।
नेकपा एमालेको तर्फबाट समानुपातिक सांसदका रुपमा प्रमाणपत्र लिने अन्तिम तयारीमा छन्। त्यसैको तयारीका लागि उनी यतिबेला काठमाडौंमा छन्।
‘समानुपातिकतिर चयन हुने सांसदले निर्वाचन आयोगमा भेरिफाइ गर्नुपर्नेरहेछ आइतबार भेरिफाइ गरियो,' ६६ वर्षीय प्राध्यापक तथा डाक्टर राईले भने ‘अब मंसिर २९ गते प्रमाणपत्र लिने तयारी छ। त्यसपछि संसद् यात्रा औपचारिक रुपमा सुरु हुन्छ होला।’
विद्यार्थीकालदेखि नै वाम राजनीतिमा जोडिएका उनीसँग भूमिगत गतिविधि गरेको अनुभव पनि छ। तर, लेखपढ र अध्ययन–अनुसन्धानको क्षेत्रमा रमाउने बानीले उनलाई सक्रिय राजनीतिबाट टाढा पुर्याएको थियो।
‘त्यसैले जीवनमा सांसद भइएला भन्ने कल्पना पनि गरेको थिइनँ,' खम्बुले भने ‘अहिले आएर नेकपा एमालेले सांसदमा सिफारिस गरेपछि एक प्रकारको ‘रोमान्स’ जस्तै लागिरहेको छ।’
त्यसो त राजनीतिक दलहरुले समानुपातिक सूचीमा समावेश गरेका नामबारे अनेक विवादहरू आइरहेका छन्। नेताहरूले आफ्नो नजिकका व्यक्तिलाई अनेक उपाय गरेर सूचीमा पारेको भन्दै आलोचनासमेत भइरहेको छ। तर, गृहजिल्ला झापामा त्यसमा पनि एमाले पङ्क्तिभित्र खम्बुको नाममा कुनै विवाद छैन।
‘एकातिर उहाँ नेपालकै चुनिएका जीव वैज्ञानिक हुनुहुन्छ, अर्कातिर झापाको पार्टी संगठन निर्माणमा अहिलेका धेरै सिनियर नेताहरूलाई संगठित गर्ने काम उहाँबाटै भएको थियो,' झापा एमालेका नेता घनश्याम अधिकारी भन्छन् ‘विषय विज्ञता, पार्टीमा लामो योगदान र फरक क्षमता सबै दृष्टिले उहाँ योग्य भएकैले उहाँको चयनमा कुनै विवाद नदेखिएको हो।’
खम्बु नेपालमा जीव विज्ञानको क्षेत्रमा गहन अनुसन्धानका लागि चिनिएका अध्येता हुन्। उभयचर तथा सरीसृप (हर्पेटो फौना) हरूको अनुसन्धान गरेर उनले सार्वजनिक गरेका तथ्यहरूलाई अध्येताहरु नेपाली अनुसन्धान क्षेत्रको ज्यादै ठूलो उपलब्धि ठान्छन्। उनीहरूका अनुसार खम्बुको अनुसन्धान नेपालमा मात्रै होइन, विश्वभरीकै प्राणीशास्त्रका अध्येताहरूका लागि गतिलो सामग्री बनेको छ।
‘बाघभालुका विषयमा अध्ययन अनुसन्धान गर्ने मानिस संसारमा प्रशस्त छन्, नेपालमै पनि धेरै भेटिन्छन्,' प्राणीशास्त्रका अध्येता रामचन्द्र अधिकारी भन्छन् ‘तर, सर्प र भ्यागुताका बारेमा अनुसन्धान गर्नेहरु औंलामा गन्न सकिनेभन्दा पनि थोरै छन्। सर्प र भ्यागुताकै अध्ययन गरेर धेरै गहकिला तथ्यहरू उहाँले फेला पार्नुभएको छ। उहाँको विद्यावारिधि पनि त्यसैमा हो।’
धरानस्थित हात्तीसार क्याम्पसमा प्राणीशास्त्र प्राध्यापनरत अधिकारीका अनुसार खम्बुले सर्प र भ्यागुताको अलग संसारमा भएका विल्कुलै नौला, चाखलाग्दा र महत्वपूर्ण तथ्यहरू पनि पत्ता लगाइदिएका छन्।
उनले कञ्चनजंघा–सिंहलीला क्षेत्रमा २६ प्रजातिका नयाँ उभयचर पत्ता लगाएका छन्। केही भ्यागुताहरु त धरतीकै नौला रहेको प्रमाणित नै गरे। उनले पत्ता लगाएका भ्यागुताहरूको नाम पनि उनकै नामबाट राखिएको छ, ‘कालुराम्स फ्रग’।
‘उनले पत्ता लगाएका ती भ्यागुता संसारभरी उनैको नामबाट चिनिन्छ,' अधिकारीले भने।
प्राणीशास्त्रमा ‘हेटेड एनिमल’ (डिस्गस्ड) को अध्ययनको बाटो रोजेका खम्बुले त्यसक्रममा जे जति तथ्य फेला पारे,त्यसैबाट वातावरणीय जोखिमको सम्भावना औंल्याएर सुरक्षाको दरिलो पाइला चाल्न सरकारलाई पनि बाध्य पारेको अध्येता अधिकारी बताउँछन्।
‘त्यसैको परिणाम हो, झापाका विभिन्न सिमसारहरू तथा इलामको माइपोखरी रामसार क्षेत्रमा सूचिकृत हुनु। ती सबैलाई रामसार र सीमासार किन बनाउनुपर्छ भन्ने वैज्ञानिक अनुसन्धान उनैले गरेका हुन्,' अधिकारीले थपे ‘उनले जे जति ती काम गरे सबै न व्यक्तिगत लगानी र चासोमै गरेका हुन्।’
लामो वैज्ञानिक अनुसन्धान गरेर अनुभव हासिल गरेका र अन्तर्राष्ट्रिय पहिचानसमेत बनाएका व्यक्तिको संसद्मा हुने उपस्थितिले वातावरण, विज्ञानका क्षेत्रमा सदनमा कुरा उठाउन सहज हुने अनुमान उनका विद्यार्थीहरूको छ।
‘हाम्रो संसद् कोरा राजनीतिक नारा फलाक्ने ठाउँ मात्रै भएको धेरै भयो,' मेची बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी देवेन्द्र राईले भने ‘खम्बु सरहरुजस्तो वैज्ञानिकको उपस्थितिले पर्यावरण, प्राणीशास्त्र तथा समग्र विज्ञान क्षेत्रमा योगदान हुनसक्छ। उहाँहरूको ज्ञानलाई राज्यले उपयोग गर्नसक्नुपर्छ।’
‘वातावरणमा भएका धेरै विषालु पदार्थहरुलाई न्यूट्रलाइज्ड गर्ने क्षमता सीमासारहरुमा हुन्छ,' खम्बुको अहिलेसम्मको अनुसन्धानको सारले भन्छ ‘त्यसैले सकेसम्म तिनको संरक्षण गरिनुपर्छ । ताकि पर्यावरणीय सुरक्षामा तिनको उपयोग हुन सकोस् ।’
सहर नजिकैका सीमासारहरु सुरक्षित हुँदा सहरको पर्यावरणीय सुरक्षामा धेरै टेवा पुग्ने उनको निष्कर्ष छ।
आफूले गरेको यही अनुसन्धान र अध्ययनको निष्कर्षबारे संसद्मा पनि निरन्तर पैरवी गर्ने उनको योजना छ।
‘अहिले सिंगो विश्व वातावरणीय समस्याको भुंग्रोमा छ,' खम्बुले आफ्नो योजना सुनाए ‘नेपाल पनि यस्ता पर्यावरणीय समस्यासँग जुधिरहेको छ। म आफ्नो विषयबारे सदनमा खरो रुपमा पैरवी गर्नेछु। विज्ञान, वातावरण र प्राणीशास्त्रबारे सदनबाट सकेसम्म धेरै योगदान गर्ने योजनामा हुनेछु।’
खोटाङ डम्बरखु शिवालय गाउँमा जन्मेका खम्बुको शिक्षादिक्षा झापामा भएको थियो। उनका सहपाठीहरुका अनुसार स्कुल होस् वा कलेज, खम्बुले सधैँ मेधावी विद्यार्थीको पहिचान बनाएका थिए । त्योसँगै उनी जोसिलो आन्दोलनकारी पनि थिए।
‘म जतिबेला विद्यार्थी थिएँ, त्यो बेला केवल पढाइमा मात्रै रमाउने छुट हामीलाई थिएन,' खम्बुले आफ्नो राजनीतिक आवद्दताको कथा सुनाए ‘पन्चायतको सिंगो व्यवस्था नै नागरिकका लागि यातना सरह थियो । त्यसैले पढाईसँगै आन्दोलन पनि हाम्रो प्राथमिकतामा पथ्र्यो। स्कुले जीवनदेखि नै आन्दोलनमा लागियो।’
२०२९ सालमा गौरीगञ्ज हाइस्कुलबाट एसएलसी गरेर महेन्द्र मोरङ क्याम्पस विराटनगर जाँदै गर्दासम्ममा उनले धेरै भूमिगत काम गरेका थिए। तत्कालीन व्यवस्थाको विरोधमा पर्चाबाजी गर्ने, कम्युनिष्ट पार्टीको संगठन विस्तारमा सघाउने लगायतका गतिविधि उनको दैनिकी मै पर्थे। बीएस्सी सकेर उनले केही समय स्कुलहरूमा पढाए। तर, आन्दोलनमा सहभागी भएको, अझ वामपन्थी (२०२८ को झापा विद्रोहको समर्थक) रहेका उनलाई सजिलै गरिखाने अवस्था भएन।
त्यसैले उनी पढाईलाई निरन्तरता दिन लागे राजधानीतिर। किर्तिपुरमा स्नात्तकोत्तर तह सक्ने बित्तिकै उनको प्राध्यापन यात्रा सुरू भयो। धरान हात्तीसार क्याम्पसमा नियुक्ति लिएर आएका उनलाई पञ्चायत प्रशासनले त्यहाँ पनि लामो समय टिक्न दिएन। ठाकुरराम बहुमुखी क्याम्पस बीरगञ्ज सरुवा भएर गए। ४२ सालदेखि २०४९ सम्म वीरगञ्जमा प्राध्यापन गरेपछि उनी मेची क्याम्पस झापा आए।
जर्मनीस्थित युर्निभर्सिटी अफ म्युनिखका प्राध्यापक डा. हर्मन स्लाइसको सुपरभिजनमा उनले विद्यावारिधि पूरा गरेका थिए। विद्यावारिधीको उपाधि, विश्वविद्यालयबाट प्राध्यापकको जिम्मेवारी र अनुसन्धानको सफलता पाउँदै गर्दा उनले आँखाको दृष्टि भने गुमाए।
जलविन्दुका कारण २०६५ देखि आँखाको ज्योति गुमाएका उनले अनुसन्धानकै कारण स्वास्थ्यमा ध्यान नदिएको सहकर्मीहरु बताउँछन्।
'पीएचडी सक्दासक्दै उभयचर बारे धेरै नयाँ तथ्य पत्ता लगाएर पनि उहाँ मौन बस्नुभएन,' मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख उमानाथ ओली भन्छन् 'त्यसपछि पनि सीमसारहरुको संरक्षण, कछुवा, गोहोरो जस्ता जन्तु संरक्षणमा लगातार घोटिनुभो। दिनरात काममै जोतिने क्रममा आफ्नै स्वास्थ्यको ख्याल चाहिँ गर्नुभएनछ। त्यसैले यस्तो भयो।'
आफ्नो अनुसन्धान यात्राबारे पुस्तक प्रकाशन गरिसकेका उनी प्राणीशास्त्रबारेकै केही पुस्तकको सहलेखनमा पनि योगदान गरेका व्यक्ति हुन्।
'अब यतिन्जेल आफ्नो विषयमा मात्रै केन्द्रीत भइयो,' खम्बुले भने ‘अब मुलुकको राजनीतिक अवस्थाबारे पनि गहिरो अध्ययन गर्नुपर्ने भयो। त्यही अध्ययनपछि राजनीतिलाई आफ्नो विषयमार्फत कसरी योगदान गर्न सकिन्छ भन्ने कुरामा मेरो भूमिका रहनेछ।'