दैलेखको पश्चिम क्षेत्र आठबिसकी गोमता समाजमा व्याप्त रुढीवादविरूद्ध विद्रोह गर्दागर्दै प्रदेशसभा सदस्य बनेकी छन्।
अब संसदमा पनि गरिबी र सामाजिक विसंगतिका आवाज उठाउने योजनामा उनी छन्।
एकछिन गोमताको विद्रोह र संघर्षको यात्राबारे बुझ्ने प्रयास गरौं।
सम्वत् पचासको दशकसम्म नेपालका अधिकांश ग्रामीण समाजमा दुइटा मात्र सन्तान जन्माउने कुरा स्वीकार्य थिएन। साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र, अहिले कर्णाली प्रदेशको समाजलाई त यो कुरा अनौठो नै थियो।
दैलेखको दुर्गम पश्चिम क्षेत्रमा त ‘दुईभन्दा बढी सन्तान जन्माउनु हुँदैन’ भन्ने कुरा स्वीकार्य हुने नै भएन।
यतिसम्म कि यो क्षेत्रमा सन्तानको जन्मान्तर लम्ब्याउने कुरा पनि ‘भगवानविरोधी’ मानिन्थ्यो। सन्तानप्राप्ति भगवानको प्रसाद मानेर वर्षैपिच्छे जस्तो ग्रहण गरिन्थ्यो।
थोरै सन्तान जन्माउने र जन्मान्तर लम्ब्याउने कुराको विरोधी त्यही दैलेखी समाजमा गोमताले दुई मात्र सन्तान जन्माइन्।
समाजमा आठ–दश जना छोराछोरी हुनु सामान्य मानिन्थ्यो। त्यही समाजमा गोमताको इच्छाविपरीत १८ वर्षको उमेरमा उनको बिहे भएको थियो।
पहिलो सन्तानको जन्म भयो, त्यसको छैटौँ वर्ष, २०५५ सालमा दोस्रो सन्तान। उनी थप सन्तान जन्माउन इच्छुक थिइनन्।
गौमताले आफ्ना श्रीमानलाई मनाइन्। परिवारजनले तेस्रो सन्तान अपेक्षा गरे। गाउँ समाजमा पनि अर्को सन्तान नजन्मेकोमा गाइँगुइँ चल्न थाल्यो।
उनी कानमा तेल हालेर अघि बढिन्। अर्को सन्तान जन्मिनुपर्छ, भगवानको प्रसाद हात थाप्नुपर्छ भन्ने धारणा बेवास्ता गरिन्।
उनले भनिन्, ‘परिवार र छिमेकीमा मैले तेस्रो सन्तान नजन्माएको कुरा अनौठो मानिएको थियो। श्रीमानले मेरो कुरा बुझ्नुभयो। उहाँले मानेपछि मलाई सजिलो भयो।’
गोमताले दुई सन्तानमात्र जन्माउने कुरा आफूमा मात्र सीमित राखिनन्। उनले छोराछोरी जति भए पनि भगवानको प्रसाद मानेर ‘हात थाप्नुपर्छ’ भन्ने रूढीवादी धारणाविरूद्ध अभियान चलाउने निधो गरिन्।
यसरी उनले समाजमा विद्रोह सुरू गरिन्।
उनले आफ्नो अभियानका कामको सूची बनाइन्। दुईभन्दा बढी सन्तान नजन्माउन जागरण ल्याउने कुरा उनको प्राथमिकताको पहिलो नम्बरमा थियो।
यसपछि इच्छाविपरीत जबर्जस्ती गराउने बिहे र छाउप्रथा विरूद्धको जागरणलाई महत्व दिइन्। यस्तो रूढीवादविरूद्ध विद्रोह गरेरमात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने निष्कर्षमा पुगिन्।
गोमताले छाउप्रथाविरूद्ध आफ्नै घरबाट विद्रोह सुरू गरिन्। उनले सबभन्दा पहिले आफ्नो घरको छाउगोठलाई शौचालयमा रूपान्तरण गरिन्। घरनजिकै शौचालय बनेको छरछिमेकीलाई मन परेन।
उनले छाउगोठमा बस्दिनँ, छाउ अर्थात् महिनावारी बार्दिनँ भनेर अड्डी कसिन्। यस्तो कुरा घरपरिवार र गाउँ समाजमा पाच्य हुने भएन।
‘महिनावारी हुँदा घरको भुइँतलासम्म पनि जान नपाइने चलन भएको ठाउँमा म बार्दिनँ भनेँ। मैले अड्डी कसेपछि बहिष्कारमा परेँ,’ ती दिन सम्झँदै गोमताले भनिन्, ‘छाउ नबारेपछि मैले पाँच वर्षसम्म घरमै भएको भैंसीको दूध खान पाइनँ।’
उनले गाउँका थोरै अग्रज व्यक्ति र केही संघसंस्थाको सहयोग पाइन्। उनी आफ्नो अभियानमा अघि बढिन्।
महिनावारी नबार्ने, छाउगोठ भत्काएर शौचालय बनाउने, बालविवाह वा इच्छाविपरीतको विवाह रोक्ने चेतनामूलक अभियानले व्यापकता पाउँदै गयो।
गोमताको अभियान समाजले सहजै स्वीकार गरेका रूढीवादी मान्यता बहिष्कार गर्दै अघि बढेको थियो।
अन्ततः गोमता सिंगो समाजको लागि एक ‘विद्रोही महिला’ बनेर खडा भइन्। परिणामस्वरूप उनलाई गाउँ निकाला गर्ने षड्यन्त्र हुन थाल्यो। उनले यसको भेउ पाइन् तर रोकिइनन्।
उनले भनिन्, ‘गाउँमा पढे/लेखेका मानिसको संख्या थपिँदै गयो। मेरोजस्तै अभियान चलाउने संघ/संस्था पनि आए। नत्र त मलाई गाउँबाट निकालिहाल्थे नि।’
अहिले उनै विद्रोही गोमताको संसद यात्रा सुरू भएको छ। उनी समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेकी छन्। उनलाई निर्वाचित गर्न नेकपा एमालेले निर्वाचन आयोगमा सिफारिस गरेको हो।
उनी स्थानीय तह निर्वाचन, २०७४ मा आठबिस नगरपालिकाको उपमेयर पदमा उम्मेदवार थिइन् तर नेपाली कांग्रेसका उम्मेदवारसँग ४२ मतले पराजित भइन्।
गत स्थानीय तह निर्वाचनमा पनि एमालेले उनैलाई उम्मेदवार बनाउन चाहेको थियो। उनले अनिच्छा प्रकट गरिन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ मा एमालेले उनको नाम प्रदेश सभाका लागि समानुपातिक सूचीमा राख्यो।
गोमताको विचारमा समाज रूपान्तरणमा सक्रियता र कामको कदर गरेर नेकपा एमालेले उनलाई प्रदेशसभा सदस्य सिफारिस गरेको हो।
‘म समाजमा नकारात्मक प्रभाव पार्ने प्रथाका विरूद्ध निःस्वार्थ रूपमा प्रतिबद्धताका साथ लडेँ। चरम गरिबी र गरिबमाथि हुने शोषणविरूद्ध आवाज उठाएँ,’ उनले भनिन्, ‘आज समाजले आशीर्वाद दिएको छ। पार्टीले मेरो योगदानको कदर गरेको छ।’
उनले अब संसदबाट पनि समाजको अग्रगतिका लागि आवाज उठाउने बताइन्।
उनले भनिन्, ‘सांसदका रूपमा आफ्नो कार्यकालमा व्यक्तिगत स्वार्थ त्यागेर समाजका लागि काम गर्छु।’
लामो समय सामाजिक विसंगतिविरूद्ध आवाज उठाउँदा गोमताले अनेक समस्याहरू देखिन्। आफू जन्मे/हुर्केको समाजको रूढीवादी परम्परा र विकृति भोगिन्।
त्यही भुक्तमानको अनुभवका आधारमा संसदमा आवाज उठाउने उनले सोचेकी छन्।
भन्छिन्, ‘संसदमा पनि गरिबी र सामाजिक विसंगतिका विरूद्ध सक्दो बढी आवाज उठाउँछु। गाउँसमाजबाट यस्तै शुभकामना पाएकी छु। धेरैले आफ्नो अभियान नबिर्सनू भनेर सम्झाउनुभएको छ।’
गोमता २०६० सालमा नेकपा एमालेमा आबद्ध भएकी हुन्। यसपछि उनी आफ्नो अभियानसँगै राजनीतिमा सक्रिय भइन्।
उनका श्रीमान पनि राजनीतिमै थिए। २०५४ को स्थानीय निकाय निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए।
सामाजिक कामबाट राजनीतिमा आएपछि गोमता पार्टीका विभिन्न कमिटीबाट अघि बढिन्। पार्टीमा काम सुरू गर्दा नै वडा कमिटी उपाध्यक्ष भइन्।
त्यसपछि इलाका कमिटी, जिल्लाको क्षेत्रीय कमिटी र जिल्ला कमिटीमा रहेर काम गरिन्। तीन कार्यकाल जिल्ला कमिटी सदस्य रहेर हाल प्रदेश कमिटी सदस्य छन्।
सामाजिक विसंगतिका विरूद्ध अभियान चलाउँदा त गोमता आलोचनाको तारो भएकै थिइन्, राजनीतिक पार्टी काम गर्दा पनि धर पाइनन्।
‘राजनीतिमा सक्रिय भएपछि गाउँ ठाउँ घुम्नै पर्यो। एक्लै हिँड्दा समाजमा कुरा काट्नेहरू थुप्रै थिए,’ उनले भनिन्, ‘आईमाई मान्छे एक्लै मनपरी हिँडेकी भन्थे।’
उनी सबै आलोचना बेवास्ता गर्दै अघि बढिन्।
सामाजिक र राजनीतिक काममा निरन्तर अघि बढेकी गोमता सांसद पदमा सिफारिस हुन भने खासै अवरोध भएन।
समानुपातिक उम्मेदवार बन्न र अन्तिम सिफारिसमा पर्नबाट रोक्न कसैले प्रयास नगरेको उनले बताइन्।
यो पनि :
कुनैबेला 'छुइछाना' भत्काउँदै हिँडेकी विद्रोही गोमता