फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरू गरेको छ।
नगरबासीलाई घरबाट निस्किने फोहोरको अधिकांश भाग आफैं व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अलग–अलग झोला वितरण गरिनेछ।
नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले संकलन हुने फोहोरको परिमाण उल्लेख्य रूपमा घटाउन र बाँकी फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरू गरिएको हो।
यस अन्तर्गत नगरबासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेंलो गरी छ प्रकारका झोला वितरण गरिनेछ। साथै उनीहरूलाई हरियो झोलामा तरकारी लगायतका खाद्यपदार्थबाट निस्किएका फोहोर राख्न भनिने छ। सम्भव भएसम्म हरियो झोलामा संकलन हुने फोहोरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ।
यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहोर राख्न र त्यसलाई आफैंले कवाडीमा बेच्न प्रेरित गरिनेछ। कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर राख्ने र त्यसलाई पनि नगरवासी आफैंले बेच्नका लागि प्रेरित गरिनेछ।
सेतो झोलामा कागज र कागजजन्य फोहोर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ।
फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ। त्यसलाई पनि नगरबासी आफैंले बेच्न सक्नेछन्।
यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपर आदि फोहोरलाई पहेँलो झोलामा संकलन गर्न प्रेरित गरिने छ।
'कुहिने फोहोरमा माटो र धानका भुस र बिरूवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ', नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ।
यसका साथै फोहोरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र संकलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ।
'कुहिने फोहोर मलका रूपमा र नकुहिने फोहोर पैसाका रूपमा नगरबासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौं', प्रमुख गिरीले भने।
फोहोरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहोर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरबासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले जानकारी दिइन्।
उनका अनुसार नगरपालिकाभित्र कूल छ वटा संस्थाले फोहोर संकलन गरिरहेका छन्। तिनलाई पनि निश्चित बार, निश्चित प्रकारको फोहोर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ।
घरको फोहोर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा संकलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउँछन्।
अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहोर संकलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ।