अमेरिकाको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा अभियोगमा कारबाहीका लागि सिफारिस गरेको छ।
उनले संसदको काम कारबाहीमा अवरोध खडा गरेको तथा हिंसा भड्काएकोसहित अन्य फौजदारी अभियोगमा कारबाहीका लागि सिफारिस गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
१ हजार प्रत्यक्षदर्शीसँगको कुराकानी र प्राप्त कागजातका आधारमा ट्रम्पमाथि फौजदारी अभियोगमा कारबाहीका लागि सिफारिस गरेको हो।
पूर्वराष्ट्रपतिलाई संसदीय समितिले फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको यो पहिलो पटक हो।
ट्रम्पले राज्यविरूद्धको षडयन्त्र गरेको र अफवाह फैलाउँदै हिंसा भड्काएकाले उनलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने समितिको सिफारिस छ।
‘हिंसा भड्काउने विषय राज्यविरूद्धको षड्यन्त्र हो। संसदमाथिको हमला संविधान र विधिमाथिको हमला हो,’ समितिका सदस्य जेमी रस्किनले भनेका छन्।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए। त्यसपछि आफ्ना समर्थकहरूलाई उत्तेजित बनाउँदै संसदमा हिंसा भड्काएको ट्रम्पमाथि आरोप लाग्दै आएको छ।