नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार देखिएको दृश्य रोचक छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा एक टिम र महामन्त्री गगन थापाको नेतृत्वमा अर्को टिम खडा भई संसदीय दल नेताका लागि उम्मेदवारी दर्ता भयो।
संसदीय दलको कार्यालयमा आधा घन्टा अगाडि नै पुगे पनि सभापति देउवा उम्मेदवारी दर्ता गर्न अघि बढेनन्। भित्र कोठामा नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, विमलेन्द्र निधिहरूसँग छलफलमा व्यस्त रहे।
जब संसदीय दलको आँगनमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत आइपुगे, देउवा पनि कोठाभित्रबाट बाहिर निस्किए।
सभापति देउवा र महामन्त्री थापालगायतले उम्मेदवारी दर्ता गर्दा कांग्रेसका पदाधिकारीहरू सँगसँगै उभिएका थिए।
सभापति देउवालाई संसदीय दल नेता उम्मेदवारमा प्रस्तावक रामचन्द्र पौडेल बसे भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसे।
अर्कोतर्फ शेखरले आफू प्रस्तावक बसेर गगनलाई संसदीय दल नेतामा अघि सारे। गगनलाई साथ दिन उपसभापति धनराज गुरूङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल जुटेका थिए।
सभापति देउवालाई संसदीय दल नेता बनाउन अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी उभिएका छन्। उमेरका दृष्टिले पाका पनि छन्। तर महामन्त्री थापालाई संसदीय दलमा साथ दिनेमा युवा नेताहरू छन्।
उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन महामन्त्री थापाले उम्मेदवारी फिर्ता लिनुपर्ने बताए।
जवाफमा थापाले पार्टीमा रूपान्तरण र परिवर्तनका लागि सभापति देउवाले उम्मेदवारी फिर्ता लिनुपर्ने बताएका छन्।
गत वर्ष मंसिरमा कांग्रेसले १४ औं महाधिवेशन गरेको थियो। त्यसबेला आफ्नो पक्षबाट महामन्त्री उम्मेदवार रहेका प्रदीप पौडेललाई यसपालि देउवा पक्षले आफ्नो साथमा राख्नबाट चुके।
प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका विश्वप्रकाश शर्मा, देउवा टिमबाट महामन्त्री लडेका प्रदीप पौडेल अहिले नेता शेखर कोइरालाले नेतृत्व गरिरहेको टिममा इन्ट्री गरेका छन्, जसलाई कांग्रेसभित्र रोचकतासाथ हेरिएको छ।
युवा नेताहरूले तीन वर्षपछि हुने कांग्रेसको १५ औं महाधिवेशनलाई हेरेर अहिलेदेखि तयारी सुरू गरेको विश्लेषण समेत हुन थालेको छ। १५ औं महाधिवेशनमा शेखर सभापति उठ्ने र उनलाई सहयोग गर्नेमा लगभग उनीहरू सहमत छन्।
नेता कृष्णप्रसाद सिटौलानिकट तथा देउवा समूहबाट महामन्त्री लडेका प्रदीप संस्थापनइतर समूहमा जोडिएसँगै पार्टीमा परिवर्तन र रूपान्तरण चाहनेहरू एकजुट भएको सन्देश दिन खोजिएको छ।
प्रदीप गत मंसिरमा भएको चुनावमा काठमाडौं ५ बाट निर्वाचित भएका थिए। देउवा टिममा रहँदै उनी मन्त्री हुने पनि आँकलन भइरहेको थियो। प्रदीपले मतदातासँग गरिएको वाचा र पार्टी रूपान्तरणका लागि नयाँ टिमसँग उभिएको बताएका छन्।
‘यथास्थितिलाई बदलेर कांग्रेसलाई भरोसायुक्त बनाउन खोजिएको छ। हामीले निराशाका बीचमा नयाँ आशा जगाउन खोजेका हौं,’ पौडेलले भने, ‘यसमा व्यक्तिगत लाभको विषयभन्दा पनि समग्र देशलाई परिवर्तनका पक्षमा उभ्याउन जमर्को गरेका छौं।’
निर्वाचनका बेला जनतासँग गरिएका वाचासमेत पूरा गर्नुपर्ने दायित्व आफूहरूमाथि रहेको उनले बताए।
‘मन्त्री हुनेजस्ता लाभका कुरा हुन सक्थे। त्यसभन्दा माथि उठेर आम निराशालाई आशामा बदल्न खोजेको हो,’ उनले भने, ‘मतदाताको भावना छ, राजनीतिलाई सच्याउने हाम्रो प्रतिबद्धता छ। तमाम बेथितिविरूद्ध लाग्ने हाम्रो प्रतिबद्धता थिए, म नयाँ टिमसँग उभिनुमा यिनै कुराहरू जोडिएका छन्।’