मंसिर ४ को चुनावअघि काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापा प्रचार-प्रसारका क्रममा भन्थे- मैले चुनाव जितें भने कांग्रेस संसदीय दलको नेतामा लड्छु, देशको प्रधानमन्त्री बन्छु।
उनको यो घोषणाको निशाना चुनावमा प्रतिस्पर्धी बनेका विपक्षी उम्मेदवारतिर मात्रै लक्षित थिएन, कांग्रेसको संस्थापनतिर पनि थियो।
कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको आवाज उठाइरहेका गगनले संसदीय दलमा सभापति शेरबहादुर देउवालाई चुनौती दिने बताइरहँदा देशभरि कांग्रेस भित्र त्यस्तो कोही पात्र थिएन, जसले उनको घोषणामा समर्थनको आवाज थपिदिएको होस्।
कांग्रेस भित्रको त्यो मौनतामा स्वर भर्ने काम एकजनाले मात्र गरे- अर्का महामन्त्री विश्वप्रकाश शर्मा।
गत महाधिवेशनलाई आधार मान्ने हो भने गगन र विश्वप्रकाश सहयात्री होइनन्, प्रतिस्पर्धी हुन्। उनीहरू फरक-फरक समूहबाट प्रतिस्पर्धा गरेर महामन्त्री निर्वाचित भएका हुन्। उनीहरूको राजनीतिक इतिहास हेर्ने हो भने विश्वप्रकाश गगनका सिनियर हुन्। सभापतिका रूपमा जुन नेविसंघ कार्यसमितिको नेतृत्व विश्वप्रकाशले गरेका थिए, त्यसमा गगन उपसभापति थिए।
तर पछिल्ला वर्षहरूमा भने गगनले आफ्नो राजनीतिक रफ्तार बढाए। उनी चौथो पटक सांसद बन्दा विश्वप्रकाश यसपालि पहिलो पटक सांसद बन्दै छन्। त्यस हिसाबले उनीहरूबीच राजनीतिक प्रतिस्पर्धा र इर्ष्याभाव नै पनि हुन सक्थ्यो।
महाधिवेशनको एक वर्षपछि पनि पार्टीको आन्तरिक समिकरणमा ठूलो फेरबदल भएको थिएन। गगन शेखरको समूहमा थिए, विश्वप्रकाशले सभापति मानेका प्रकाशमान सिंह शेरबहादुर देउवासँग मिलिसकेका थिए।
एक वर्षअघिका आफ्ना प्रतिस्पर्धी उनै गगनलाई विश्वप्रकाशले यसपालि भने सुरूदेखि भावी संसदीय दलको नेताका रूपमा इन्डोर्स गरे। झापा- १ मा तेस्रो चुनावी परीक्षा दिँदै गरेका शर्माले सामाजिक सञ्जालदेखि आफ्ना चुनावी सभासम्मै ‘भावी प्रधानमन्त्रीमा मेरो समर्थन गगनलाई हुनेछ’ भनिरहेका थिए।
‘अबको हाम्रो मुख्य ध्येय राजनीतिमा परिवर्तन हो,’ झापा-१ का प्रत्येकजसो चुनावी सभामा शर्मा भन्थे, ‘त्यसका लागि गगन थापा हाम्रो प्रधानमन्त्रीका उम्मेदवार हुनेछन्।’
विनम्र र सन्तुलित अभिव्यक्ति अनि व्यवहारका लागि चिनिएका शर्माले यसपालि गगनलाई समर्थन मात्रै गरेनन्। आन्तरिक बैठक र छलफलमा आफ्नो छविविपरीत कडा कुरा र अडान राखेर संस्थापनइतर समूहबाट तितरबितर बनेका आफूसहितका धेरै नेता एकै ठाउँ उभ्याउन पनि भूमिका निर्वाह गरे।
गगनलाई अघि बढाउँदा कांग्रेसको मात्रै नभई मुलुककै राजनीतिमा परिवर्तनको शंखघोष हुने तर्क शर्माको थियो।
पार्टीको शीर्ष अनि शक्तिशाली नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिनेलाई सकेसम्म टिकट नै नदिने, दिए पनि जित्नै नदिने खेल हुँदै आएको बेला कांग्रेसका दुई महामन्त्रीको घोषणालाई धेरैले जोखिमपूर्ण मानेका थिए।
चुनाव सकियो, गगन र विश्वप्रकाश दुबै जनाले जिते। कांग्रेस संसदको सबैभन्दा ठूलो दल बन्यो। संसदीय दलको नेता छान्नु पर्ने भयो। संस्थापन समूहबाट त सभापति देउवा निर्विकल्प संसदीय दलको नेताका उम्मेदवार थिए। इतर समूहबाट गगनले उम्मेदवार बन्ने घोषणा त गरेका थिए तर उनकै समूहका अरू नेताहरूले गगनलाई साथ दिने छनक देखाएका थिएनन्।
इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला संसदीय दलमा आफैं अघि सर्ने मुडमा थिए। उनको समूहमा रहेका अरू प्रभावशाली नेताहरूले पनि देउवाविरूद्ध शेखरलाई नै लड्न जोड गरिरहेका थिए। देउवाविरूद्ध शेखर र गगन दुबै जना नै उम्मेदवार बन्छन् कि क्या हो भन्नेसम्म मानिसहरू आकलन गरिरहेका थिए।
संसदीय दलमा को उठ्ने भन्नेबारे शेखर र गगनबीचको कुरा दुई धारमा बगिरहँदा विश्वप्रकाशले पुलको काम गरे। आफू शेखर-गगन समूहमा नभए पनि कांग्रेसमा रूपान्तरण र परिवर्तनको एजेन्डा बोकेको यो समूहले के गर्नुपर्छ भनेर बाटो देखाए।
गगनले संसदीय दलमा चुनाव लड्ने बताउँदै गर्दा त्यसमा समर्थनको स्वर दिने विश्वप्रकाशको कदमलाई धेरैले ‘लेनदेन’ मा आधारित रहेको लख काटेका थिए। धेरैको अनुमान थियो- उनले संसदीय दलमा गगनलाई सघाउने अनि १५ औं महाधिवेशनमा गगनले शर्मालाई सभापतिमा सघाउने।
शर्मालाई नजिकैबाट चिन्नेहरू भने उनले राजनीतिक लेनदेनमा कहिल्यै विश्वास नगर्ने बताउँछन्।
‘अहिलेको राजनीतिक अभ्यासमा विश्वप्रकाश बिल्कुल फरक नेता हुन्,’ कांग्रेस नेता इन्द्र बुढाथोकी भन्छन्, ‘आफूलाई हुने फाइदाका लागि जस्तोसुकै सम्झौता गर्ने बानी उनको छैन। उनको इमान र त्याग नै सबैभन्दा ठूलो गुण हो।’
यसको प्रमाण शर्माले विभिन्न समयमा आफ्नो व्यवहारमार्फत् दिइसकेका छन्। कुनैबेला झापामा महाधिवेशन प्रतिनिधिमा शतप्रतिशत मत ल्याएर जितेका शर्मालाई महासमितिमा जान पनि दबाब थियो। तर, आफूभन्दा सिनियरहरूलाई अघि सारेर उनी महासमितिमा जान चाहेनन्।
२०६४ मै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समानुपातिकबाट संविधान सभा सदस्य बन्न आग्रह गर्दा उनले ‘कि प्रत्यक्ष कि प्रतीक्षा’ भन्दै त्यो प्रस्ताव पनि अस्वीकार गरेका थिए।
त्यसो भए उमेर र पार्टी राजनीति दुबैमा आफूभन्दा जुनियरलाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दै गर्दा शर्माको केही शर्त नै थिएन? हामीले यो प्रश्न शर्मालाई सोध्यौं।
‘शर्त निश्चित रूपमा थियो,’ बुधबार संसदीय दलको नतिजा आइसकेपछि सेतोपाटीसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘कांग्रेसको रूपान्तरण र राजनीतिमा परिवर्तन हाम्रा मुख्य शर्त थिए।’
त्यसको सुरूआत गगनले गर्न सक्ने कुरामा आफू विश्वस्त भएरै उभिएको उनको भनाइ छ।
आगामी महाधिवेशनपछि सभापति र दलको नेता एक-एक वटा पद दुई महामन्त्रीले बाँडेका हुन् कि भन्ने अनुमान त्यसबेला गलत सावित भयो, जतिबेला गगनले शेखरलाई आउँदो महाधिवेशनमा सघाउने वचन दिए।
कांग्रेस स्रोतका अनुसार दलको नेतामा दाबी गरिरहेका गगन र समर्थन गरिरहेका शर्माको कदमले संशकित शेखर पनि त्यसबेला ढुक्क बने, जब गगनले नै शेखरलाई यस्तो प्रस्ताव गरे।
कांग्रेस संस्थापनइतर समूहका प्रभावशाली नेताहरू संसदीय दलको नेतामा पनि शेखर कोइरालालाई नै अघि सार्न चाहन्थे, शेखर स्वयं पनि इच्छुक थिए। चुनावपछि विराटनगरमा सञ्चारकर्मीसँग बोल्दै शेखरले गगनको घोषणप्रति असन्तोष पनि प्रकट गरेका थिए।
‘संसदीय दलमा नम्बरको गेम हुन्छ, अहिले कसले के घोषणा गर्यो त्यसको अर्थ हुँदैन’, शेखरले भनेका थिए, ‘म के गर्छु भन्ने कुरा सल्लाह गरेर मात्रै भन्नसक्छु।’
शेखरले यसो भने पनि उनीनिकट रहेका र विराटनगर कोइराला निवास नजिकका कांग्रेसजन शेखर नै अघि सार्ने योजनामा थिए। दलको नेता नउठ्दा समूहको नेतृत्व नै गुम्ने बुझाइ कोइराला निकटहरूको थियो। त्यसैले दलको चुनावअघिसम्म शेखर चुनाव लड्ने मुडमा पुगिसकेका थिए।
तर, होटल एम्बासडरको भेला अघि होटल याक एन्ड यतिमा भएको तीन जना नेताको डेढ घन्टा लामो कुराकानी शेखरलाई ‘ब्याक गराउन र गगनलाई अघि बढाउन’ निर्णायक रह्यो।
‘डाक्टर सा’ब, चन्द्र भण्डारी र विश्वप्रकाशबीचको कुराकानीले सहमति जुटाउन भूमिका गर्यो,’ कोइरालानिकट एक कांग्रेस नेताले भने, ‘त्यही छलफलले गगनलाई अघि बढाउने निर्णयमा डाक्टर सा’बलाई सहमत गराएको हो।’
स्रोतका अनुसार याक एन्ड यतिको त्यो संवादमा शर्माले शेखरलाई सोधेका थिए, ‘तपाईं हामीसँग जित्ने गणित छ भन्ने दावा गर्दै हुनुहुन्छ, के साँच्चै त्यस्तो गणित छ?’
जवाफमा शेखरले गणित अनुकूल नभएको बताएका थिए।
‘त्यसो भए तपाईं दलको नेतामा उठ्ने कुरा आफू जित्नलाई होइन, गगनलाई रोक्नलाई हुनेछ भन्ने सन्देश जानेछ,’ शर्माले भने, ‘गगनलाई तपाईं हार्न पनि नदिने? त्यसो भयो भने तपाईंले चुनाव त हार्नुहुन्छ नै राजनीति पनि हार्नु हुनेछ।’
शेखरनिकट ती नेताका अनुसार विश्वप्रकाशको एउटा प्रश्नले शेखरलाई प्रभावित तुल्याएको थियो।
‘तपाईंसँग अब दुईटा विकल्प छ डाक्टर सा’ब,’ शर्माले भने, ‘अब तपाईं हाम्रो नेता बन्ने कि प्रतिस्पर्धी?’
उनले शेखरलाई प्रस्ताव पनि गरे- तपाईं अब लिडर बनेर हाम्रो साथ लिनुहोस्।
शेखरले यसपालि संसदीय दलको चुनाव लड्ने कुरा गलत हुने बताउँदै शर्माले थपेका थिए, ‘गलत गर्नुभयो भने तपाईंले हातमा रहेको एक जना महामन्त्री गुमाउनु हुनेछ। गलत निर्णय गर्नुभएन भने अर्को महामन्त्रीको पनि साथ पाउनुहुनेछ। साथमा भएको महामन्त्री गुमाउने कि टिममा अर्को महामन्त्री र महामन्त्री नै लडेका नेताहरू पनि थप्ने?’
यसो भनेर शर्माले युवा नेता प्रदीप पौडेल पनि टिममा आउने संकेत गरेका थिए, जो महाधिवेशनताका कृष्णप्रसाद सिटौलाको साथ लागेर संस्थापनतिर उभिएका थिए।
विश्वप्रकाशसँगको लामो कुराकानी र त्यसअघि गगनसँग भएको कुराकानीपछि शेखर ढुक्क भएको र दलको नेतामा चुनाव लड्ने कुराबाट ब्याक भएको उनीनिकट स्रोतको भनाइ छ।
यसबाहेक प्रदीप पौडेल पनि यही समूहमा आइपुग्ने अवस्था शेखरको निर्णयमा निर्भर रहेको थियो। पौडेल कांग्रेसमा परिवर्तन जरूरी रहेको वकालत गर्ने अर्का युवा नेता हुन्।
‘पौडेल परिबन्दले मात्रै सिटौला-देउवा समूहमा पुगेका थिए,’ स्रोतले भन्यो, ‘शेखर, धनराज, गगन, विश्वप्रकाशहरू एकै ठाउँ उभिँदा उनी यतै आउने निश्चित थियो।’
पौडेल देउवा समूह छोडेर आए पनि। मंगलबार दिउँसो उम्मेदवारी दर्ताका बेला गगन र शेखरसँग आफ्नो समूहबाट जितेका उपसभापति मात्र थिएनन्, गत महाधिवेशनमा फरक-फरक समूहबाट महामन्त्री लडेका चारै जना सँगै थिए।
कांग्रेसका लोकप्रिय नेताहरू एकै ठाउँ उभिँदा पनि गगनले जित्न त सकेनन् नै, भएको आफ्नै समूहको मत पनि गुमाए। तर पनि यो समूह उत्साही रहेको नेताहरू बताउँछन्।
‘दलमा चुनाव हारिन्छ भन्ने प्रष्ट थाहा थियो,’ शेखरनिकट ती नेताले भने, ‘किनभने सभापति आफैंले टिकट दिएर जितेकाहरूको ठूलो बहुमत संसदीय दलमा थियो। तर, हिजो महाधिवेशनका बेला धेरैतिर छरिएका कांग्रेसका लोभलाग्दा नेताहरू एकै ठाउँ आइपुग्नुले हाम्रो समूहको समग्र शक्ति बढेको छ। यसले दलको नेता जिते पनि देउवालाई मनपरी गर्न छुट दिने छैन।’