मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यहरूले आज शपथ लिँदैछन्। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उनीहरूको शपथ हुनेछ। जेष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरूलाई शपथ खुवाउने छन्।
आज शपथ लिने प्रतिनिधि सभाका २७४ जना सांसदमध्ये २५ जनाले मातृभाषामा शपथ लिने भएका छन्। उनीहरू १४ वटा फरक-फरक भाषामा शपथ लिन लागेका हुन्।
१४ मध्ये नेपाली खस भाषामा शपथ लिने एक जना मात्र सांसद छन्। जुम्लाबाट समानुपातिक सांसद बनेकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिन लागेकी हुन्।
उनले दुई दिनअघि खस भाषामा शपथ लिने भनेर संसद सचिवालयमा नाम दर्ता गराएकी छन्।
सेजुवालले नेपाली खस भाषामा शपथ लिन लागेको नेपालको संसदीय इतिहासमै पहिलो पटक हो। यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन्।
‘राज्य सत्ता सञ्चालन र नियम-कानुन जहाँबाट सुरूआत भएको थियो, त्यतिखेरदेखि हामीले परिमार्जन गरी बोलिरहेको नेपाली भाषा भनेकै जुम्लाको खस भाषा हो,’ सेतोपाटीसँग कुरा गर्दै सांसद सेजुवालले भनिन्, ‘यही खस भाषाको संरक्षण र व्यवस्थापनका लागि म नेपालको संसदीय इतिहासमै पहिलोपटक खस भाषा र खस लवजमा सपथ लिँदै छु।’
खस भाषाको विषयमा सांसदको भूमिकामा रहेर देशमै एउटा नयाँ सन्देश दिन खोजेको उनले बताइन्। अहिले नेपालमा बोलिने भाषाको उद्गम थलोका रूपमा रहेको जुम्लाको सिंजा र त्यहाँको खस भाषाको विषयमा राज्यको तर्फबाट कुनै अध्ययन, अनुसन्धान वा निश्कर्ष निकालिनु बिडम्बना भएको उनले बताइन्।
‘म कर्णालीको जुम्लाबाट खस आर्य कोटाबाटै सांसद भएकी छु, मैले आज शपथ लिन लागेको खस भाषाको उद्गम स्थल पनि जुम्ला हो,’ सेजुवालले भनिन्, ‘यसैको अध्ययन, अनुसन्धान राज्यबाट पनि गरिनुपर्छ भन्ने मेरो एउटा सांकेतिक अभियान पनि हो। यो सुरूआत हो, भोलिका दिनमा सबैसँग मिलेर यसको लागि काम गर्नु त छँदैछ।’
तत्कालीन समयमा चौबीसे राज्यमध्ये शक्तिशालाी मानिएको जुम्लाको सिंजा राज्यबाट उत्पत्ति भएको खस भाषाको विषय संघीय र प्रदेश संसदमा यसअघि आवाज उठ्न नसकेको उनले बताइन्।
‘सबै कुरा गर्छु भनेर खोक्रा नारा लगाइदिने तर खस भाषाको विषयमा कसैले पनि नबोल्ने भएकाले म पहिलोपटक खस भाषामै शपथ खान लागेकी हुँ,’ उनले भनिन्।
सेजुवालले सांसदको रूपमा शपथ लिँदा जुम्लाकै खस पहिरन लगाउने छिन्।
जुम्लाको खस पहिरनमा मखमलको चोलो, छिटको फरिया लगाइन्छ। त्यसमाथि पछ्यौराको घुम्टो हालिन्छ भने ऊनीको पटुका बाँधिन्छ। जुत्ता लगाइन्छ। मुगा (खस भाषामा प्वाँलो, एकगेडे) घाँटीमा लगाइन्छ। कम्मरमा सुर्के थैली पनि हुन्छ, जसमा साविकको कर्णालीका महिलाहरूले आफूसँग भएको पैसा राख्थे। हातमा चाँदीको बाला लगाइन्छ।
‘नाम दर्ता गराउनुअघि नै मैले पोशाक पनि सबै तयार पारिसकेकी छु, आज सपथ लिँदा म खस पहिरनमा हुन्छु,’ सेजुवालले भनिन्।
सेजुवाल २०७४ को स्थानीय तहको निर्वाचनबाट जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर चुनिएकी थिइन्। पाँच वर्ष मेयर बनेर कार्यकाल बिताएकी त्यसबेला कर्णाली प्रदेशको एकमात्र महिला मेयर थिइन्।
शिक्षा क्षेत्रमा प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी उनी पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्।