लुम्बिनी प्रदेशमा नयाँ निर्वाचित सांसदलाई पुस मध्यसम्म शपथ गराउने तयारी भइरहेको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले मध्य पुससम्म नयाँ सांसदको शपथ गराइसक्ने तयारी भएको सेतोपाटीलाई जानकारी दिए।
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई दिएको जानकारी अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिन भित्र शपथ र ३० दिन भित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने ब्यवस्था छ।
मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश प्रमुख अमिक शेरचन पनि काठमाडौं गएकाले उनीहरू फर्किएपछि नयाँ सांसदको शपथ प्रक्रिया सुरू हुने सञ्चार मन्त्री शर्माले बताए। ‘पुस १५ गतेदेखि ढिलोमा १९ गते भित्र नयाँ सांसदको शपथ गराइसक्ने योजना छ,’ उनले भने, ‘त्यो भन्दा पछि त जाँदै जाँदैन।’
मंसिर २८ गते दाङमा बसेको पहिलो मन्त्रिपरिषदको बैठकले पुस ८ गते भित्र सबै मन्त्रालय बुटवलबाट स्थान्तरण गरिसक्न निर्देशन दिएको थियो। सोही बमोजिम काम भइरहेको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले बताए।
‘सबै मन्त्रालयले आफ्नो भवन रोजेर बोर्ड पनि टाँगिसकेका छन्,’ मन्त्री थारूले भने, ‘अब रङरोगन र सामान ल्याउने तथा मिलाउने मात्रै काम क्रमिक रुपमा हुँदै जानेछ।’
दाङको क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री थारूले पुस २० गते भित्र नयाँ सांसदसहितको पहिलो बैठक बसिसक्ने र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिने जानकारी दिए।
१० दल मध्य कस्को कति सिट ?
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरि ८७ सांसद छन्।
यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ। यहाँ नेपाली कांग्रेसका २७ र नेपका माओवादी केन्द्रका ९ सांसद छन्। यस्तै राप्रपाका ४ र नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३-३ सांसद रहेका छन्।
प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले एक-एक सांसद पाएका छन्।
२०७४ सालमा लुम्बिनीमा ५ दलको मात्रै प्रतिनिधित्व थियो। त्यस्तै स्वतन्त्रले ३ सिट जितेका छन्। उनीहरु सबै माओवादीबाट बिद्रोह गरि निर्वाचनमा भिडेका हुन्।
मुख्यमन्त्रीका लागि दौडधुप
लुम्बिनी प्रदेशमा कुनै पनि दलले बहुमत नल्याएको हुनाले संघमा जस्तो सरकार बन्छ त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि पर्ने स्पष्ट छ। यद्यपी हालको गठबन्धन भित्रकै दल नेपाली कांग्रेस र नेकपा माओवादीले सरकार बनाउने सम्भावना बढी छ।
दलको नेता बन्न चाहनेको दौडधुप ब्यापक भइसकेको छ। संघीय सांसदको शपथ सकिएसँगै झनै त्यसले ब्यापकता पाउने देखिएको छ।
प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसबाट डिल्लीबहादुर चौधरी, प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर रानालगायतले दाबी गरेका छन्। चौधरी र खनाल दुबै संस्थापन पक्षधर हुन् भने राना संस्थापन इतरपक्षधर भएका हुन्।
यस्तै माओवादीबाट पोलिटब्युरो सदस्य जोखबहादुर महरा, धनबहादुर मास्की र बाँकेकी कृष्णा केसीले दाबी गरेका छन्।
यस्तै लुम्बिनीको सबैभन्दा ठूलो दल नेकपा एमाले दलको नेतामा रूपन्देहीका लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठले दाबी गरेका छन्। कपिलवस्तुका विष्णु पन्थी, अर्घाखाँचीका चेतनारायण आचार्यले पनि दलको नेताका लागि दौडधुप राखेका छन्।
गिरी र श्रेष्ठ उपाध्यक्ष विष्णु पौडेल तथा ढकाल, पन्थी र आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्। त्यसैले एमाले भित्रको शक्ति सन्तुलनका आधारमा दलको नेता बन्नेछन्।
‘केन्द्रमा क–कसको र कस्तो सरकार बन्छ त्यहीँ आधारमा लुम्बिनीको सरकार गठबन हुने छ,’ माओवादीका एक नेताले सेतोपाटीसँग भने, ‘अहिले जस्तै दोस्रो कार्यकालको नेतृत्व पनि सुरूमा हाम्रै हुनुपर्छ भन्ने हाम्रो धारणा हो।’
यहाँ कसैको पनि स्पष्ट बहुमत नभएकाले कसको नेतृत्वमा सरकार बन्ला भन्ने आधारहरु स्पष्ट नभए पनि नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे।
गठबन्धनसहित नागरिक उन्मुक्ति, जनमत पार्टी संग छलफल जारी रहेको उनले बताए। स्वतन्त्र रुपमा निर्वाचित तीन सांसदसँग पनि छलफल जारी रहेको उनले जानकारी दिए।