नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टी नेतृत्वले गठबन्धनलाई एकीकृत गरेर राख्न नसक्दा सत्ताबाट बाहिरिनु परेको बताएका छन्।
सेतोपाटीसँग टेलिफोनमा कुरा गर्दै सभापति पुनले पार्टी नेतृत्वको अदूरदर्शीताका कारण हातमा आएको जिम्मेवारीबाट विमुख हुनुपरेको प्रतिक्रिया दिए।
‘गठबन्धन गरिसकेपछि गठबन्धनमा रहेका दलहरूको अस्तित्व स्वीकार गर्न नसक्नु र उनीहरूलाई एकीकृत गरेर राख्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो,’ पुनले भने।
गठबन्धन गरिसकेपछि भागबण्डा मिलाउन र उनीहरूलाई मिलाएर राख्ने जिम्मेवारी नेतृत्वको रहेपनि उक्त जिम्मेवारीबाट नेतृत्व चुकेको बताए।
‘कि गठबन्धन नै नगर्नु पर्ने थियो, गठबन्धन गरेपछि त मिलाएर लैजानुपर्थ्यो नी,’ पुनले भने।
पुनले कांग्रेस नेतृत्वको अदूरदर्शी निर्णयसँगै संविधानको रक्षा, स्थायीत्व र प्रतिगमनविरूद्ध मिलेर आन्दोलन गरेको माओवादी केन्द्रले पनि हिजोको बाचा बिर्सिएर गठबन्धन तोडेको बताए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सोमबार बुटवलमा बसेको बैठकले पनि पार्टी नेतृत्वको अदूरदर्शिताको कारण देश निर्माणको महत्वपूर्ण जिम्मेवारीबाट पार्टी बाहिरिनुपरेको निष्कर्ष निकालेको छ।
आइतबार अपरान्हदेखि एकाएक केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदल पछि सोमबार बुटवलस्थित प्रदेश पार्टी कार्यालयमा कार्य सम्पादन समितिको बैठक बसेको थियो।
पार्टी सभापति पुनले लुम्बिनी प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण लगत्तै पार्टीको संसदीय दलको नेता चयन गरिने बताएका छन्।
‘पुस १६ गते प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण गर्ने तयारी गरिएको भन्ने सुनेको छु, त्यसलगत्तै हामीले पार्टीको संसदीय दलको नेता पनि चयन गर्छौं,’ उनले भने।
पुनका अनुसार सोमबारकै बैठकबाट पार्टीका सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा विष्णुकुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि उपसमिति समेत गठन गरिएको छ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि चार जनाको नाम चर्चामा छ। रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना तथा दाङका राजु खनाल र डिल्लीबहादुर चौधरी संसदीय दलको नेताको दौडमा छन्।
प्रदेश सभापति पुनले पार्टीका सहमहामन्त्री पाण्डेको संयोजकत्वमा गठन गरिएको उपसमितिले संसदीय दलको नेता चयनको प्रक्रिया अगाडि बढाउने र सहमतिबाट नेता चयनको प्रयास गरिने बताए।
‘हाम्रो पहिलो प्रयास सहमतिबाटै चयन गर्ने भन्ने हुन्छ, सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रिया त छँदै छ,’ उनले भने।
पुनले सहमतिमा नेता चयन गर्दा पार्टीमा गरेको योगदान तथा वरियताक्रमलाई आधार मानिने बताए।
‘दलको नेतामा पार्टीभित्रको सिनियर सदस्यको दावी रहनु स्वभाविकै हो, प्रदेशका सांसदहरूमध्ये केन्द्रीय सदस्य समेत रहनुभएका अब्दुल रज्जाक सबैभन्दा सिनियर हुनुहुन्छ, त्यसपछि वीरबहादुर राना, राजु खनाल र डिल्ली चौधरीको नाम छ,’ उनले भने।
यस्तै सोमबारको बैठकले पार्टीका सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहेको संसदीय दलको विधान निर्माण उपसमिति समेत गठन गरेको पुनले बताए। उक्त उपसमितिको सदस्यहरूमा महेन्द्र पाण्डे र रिना नेपाल छन्।