नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रप्रति उदार बने भने मात्रै अन्यथा प्रदेश १ सरकारको नेतृत्व उनकै विश्वासपात्र हिक्मत कार्कीले गर्नेछन्।
एमाले स्थायी कमिटी सदस्य कार्की ओलीका निकट कार्यकर्ता मात्रै होइनन्, ओलीकै जिल्लाबासी हुन्। त्यतिमात्रै होइन, ओलीकै क्षेत्रबासी पनि हुन्। सामाजिक सन्जालमार्फत् ओलीको पक्षमा सधैं भिडिरहने कार्की यसपटक माओवादी समर्थनमा प्रदेशको कार्यकारी प्रमुख बन्ने सम्भावना छ। यसका लागि उनले पछिल्लो पाँच वर्षदेखि तयारी गरिरहेका थिए।
एमाले राजनीतिभित्र आफूभन्दा दुई जना ‘जुनियर’ हरू प्रदेशको मुख्यमन्त्री भइसकेका बेला उनी त्यो अवसरको पर्खाइमा पनि थिए। एमालेको विद्यार्थी राजनीतिबाट उदाएका नेता कार्की २०५५ सालमा अनेरास्ववियुको अध्यक्ष हुँदा प्रदेशका हालका मुख्यमन्त्री राजेन्द्र राई उनकै महासचिव थिए। त्यसअघि उनी उपाध्यक्ष हुँदा प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई उनकै कमिटीमा केन्द्रीय सदस्य थिए।
एमालेबाट अशोक राई, रकम चेम्जोङ, अजम्बर काङमाङहरूको विद्रोहले शेरधनले चाँडै संसदीय र राजकीय अवसर पाउँदा राजेन्द्र राईले पनि एमाले विभाजनपछि मुख्यमन्त्री हुने अवसर पाएका थिए। यसपटक विकसित नयाँ राजनीतिक घटनाक्रमले उनलाई मुख्यमन्त्री बन्ने सम्भावना नजिकै उभ्याएको छ। यसलाई उनी निकट नेताहरू ‘घटनाक्रमले न्याय पाउने अवस्थामा ल्याइपुर्याएको’ बताउँछन्।
त्यसो त प्रदेशका ‘वेटिङ मुख्यमन्त्री’ कार्की माओवादीप्रति ज्यादै अनुदार एमाले नेताभित्र पर्छन्, जसले माओवादीलाई बारम्बार ‘हत्यारा’ भन्ने सार्वजनिक आरोप लगाउने गरेका छन्।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएपछि कार्कीले ‘टाउकोबाट ठूलो बोझ हटेको’ भनेर फेसबुकमै लेखेका थिए।
‘जनयुद्ध दिवसको शुभकामना भन्नुपर्ने बाध्यता आइलागेको’ भन्दै उनले बारम्बार असन्तोष प्रकट गर्ने गर्थे। नेकपाकालमै पनि उनी माओवादीसँगको सहयात्रा लामो नजाने’ अभिव्यक्ति दिन्थे। नभन्दै गएन पनि।
यसरी नेकपा विभाजन हुँदा खुसीयाली मनाउनेमध्येका एक कार्की त्यसबेला पार्टी अलग भएर ‘टाउकोको बोझ हटेको’ बताउँथे। अहिले प्रदेशमा आर्थिक मामिलामन्त्री रहेका माओवादी नेता इन्द्र आङ्बो र कार्की सुरूका तीन वर्ष एउटै क्याबिनेटमा थिए। उनीहरूबीच सामाजिक सञ्जालमै घोचपेच चलिरहन्थ्यो। यसरी निरन्तर छेडछाडमा उत्रिरहने प्रदेशका दुई नेतालाई अब सत्ता सहयात्रा गर्नुपर्ने रोचक अवस्थामा परिस्थितिले ल्याइपुर्याएको छ।
सानातिना विवादले छिट्टै ठूलो रूप लिने र आश्चर्यजनक रूपमा पुनर्मिलन पनि भइहाल्ने वाम शैली फेरि एकपटक दोहोरिँदा कार्कीले ‘बोझ’ ठान्ने माओवादी नै उनको समर्थक बन्दैछ। उसकै समर्थनमा उनी मुख्यमन्त्रीको कुर्सी नजिकै छन्।
त्यसो त कार्की कुनैबेला संघीयताको पनि प्रखर विरोधी थिए। शेरधन राई नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेर तीन वर्षभन्दा केही बढी समय बिताएपछि भने उनी प्रदेश बलियो बनाउनुपर्ने पक्षमा उभिएका थिए।
‘हो, म पहिला संघीयताको विरोधी नै थिएँ,’ उनले बारम्बार भनेका छन्, ‘तर, प्रदेश सरकारमा रहेर जिम्मेवारी सम्हालेपछि म प्रदेशलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा उभिएको हुँ।’
माओवादीप्रतिको उनको ‘अनुदार शैली’ र ‘परिवर्तनका मुद्दाप्रतिको दृष्टिकोण’ मै समस्या भएको भन्दै उनको आलोचना गर्ने माओवादी नेताहरूलाई अन्ततः उनैलाई मुख्यमन्त्रीका रूपमा स्वीकार्नु पर्ने अवस्था आइलागेको छ। जसलाई माओवादी नेताहरूले ‘बाध्यतात्मक अवस्था’ भन्न थालेका छन्।
‘अहिले पनि प्रदेश सरकार कसको भन्ने निश्चित त भइसकेको छैन,’ माओवादी प्रदेश १ का एक नेताले भने, ‘तर, संसद्मा उसको सिट संख्या र ओली निकट भएका कारण कार्कीकै सम्भावना बलियो देखिन्छ। त्यसो हुँदा अध्यक्षले प्रधानमन्त्री पाएकोमा चित्त बुझाएर यहाँ हामीले उनलाई समर्थन गर्नुपर्छ।’
आइतबार एमाले संसदीय दलको नेता चुनिएलगत्तै कार्कीले अन्य दलसँग छलफल थालेको बताएका छन्। उनकै नेतृत्वमा प्रदेश एमालेले वार्ता समिति नै बनाइसकेको छ। पुस १७ का लागि प्रदेशसभाको अधिवेशन आह्वान भइसकेका कारण त्यही आसपाससम्ममा नयाँ सरकार बन्ने नेताहरूले बताएका छन्।
आइतबार एकाएक बद्लिएको काठमाडौंको राजनीतिक माहोलले प्रदेश १ को राजधानी विराटनगरलाई एकैछिनमा तरंगित बनायो। नबनाओस् पनि किन, सत्तासिन हुने कल्पना गरिरहेका कांग्रेस नेताहरू एक्कासि विपक्षमा र विपक्षमा रहने मनोविज्ञानमा रहेका एमाले नेताहरूलाई सत्तासिन बनाउने अवस्था जो बनेको थियो।
यो मुख्यगरी कांग्रेस नेताहरूका लागि अनपेक्षित थियो। कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदारमध्येका एक अमृत अर्यालले त्यसको संकेत सोमबार गरे। प्रदेश १ संसदको शपथ समारोहमा सहभागी भएपछि नेता अर्यालले सञ्चारकर्मीसँग ठट्टा गरे, ‘म हिजो गाडीबाट काठमाडौंबाट विराटनगर फर्केको हुँ। सिरहा आइपुग्दासम्म मुख्यमन्त्री थिएँ, सप्तरी आइपुग्दा विपक्षी भइसकेको रहेछु।’
‘सेन्स अफ ह्युमर’ अधिक भएका नेता अर्यालको मात्रै होइन काठमाडौंमा एक्कासि बदलिएको समीकरणले कांग्रेसबाट मुख्यमन्त्रीको दौडमा रहेका अरू नेताहरू उद्धव थापा, केदार कार्की र भीम पराजुली पनि अब विपक्षी बेन्चमा पुगेका छन्। कांग्रेस नेताहरूको हातैमा आइपुगेको प्रदेश सत्ताको नेतृत्व फुत्किएपछि त्यो अवसर एमाले नेता कार्कीलाई आउने सम्भावना उच्च भएको छ।