गण्डकी प्रदेशका मुख्यमन्त्री बन्ने सुनिश्चित गरेर कांग्रेस सांसद सुरेन्द्र पाण्डे आइतबार काठमाडौंबाट जहाज चढे। कांग्रेस गण्डकीको संसदीय दलका नेता बनाउन सभापति शेरबहादुर देउवालाई सहमत गराएर पोखरा उडेका उनको जहाज सकुशल अवतरण भयो।
पोखरा विमानस्थलमा ओर्लिँदा उनको मुख्यमन्त्री सपना भने दुर्घटनामा परिसकेको थियो।
'काठमाडौंबाट पोखरा आइपुग्दा म चढेको जहाज सकुशल ल्यान्ड भयो,' पाण्डेले भने, 'काठमाडौंबाट पोखरा आइपुग्दा राजनीति चाहिँ क्र्यास भइसकेछ।'
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डे काठमाडौंबाट उड्दा पार्टी नेतृत्वको गठबन्धनका शीर्ष नेताहरू बैठक बसिराखेका थिए। सरकार गठनमा आलोपालो नेतृत्वमा सहमति भए पनि कसले पहिला नेतृत्व गर्ने रस्साकस्सी चलिराखेको थियो। त्यो रस्साकस्सीले गठबन्धन चुँडिएला भन्ने विश्वास पाण्डेलाई थिएन।
'गठबन्धन बचाउन कांग्रेस, माओवादी लगायत सबै गठबन्धनमा आवद्ध नेताहरू इमानदार हुनुपर्थ्यो, त्यो देखिएन,' उनले भने।
गठबन्धन जोगिँदा उनलाई गण्डकीको मुख्यमन्त्री बनाउन आफ्नै पार्टीभित्र मात्रै चुनौती थियो। देउवा पक्षको बहुमत रहेको गण्डकी प्रदेश सभामा देउवाले जसलाई उठाउँछन्, उसले संसदीय दलको नेता जित्ने अवस्था छ। उनले देउवाको समर्थन लिएर आइतबार पोखरा आएका थिए। कांग्रेस सभापति देउवा पत्नी आरजु राणानिकट रहेका पोखराका अर्का सांसद विन्दुकुमार थापाको मुख्यमन्त्री आकांक्षा मात्र उनका लागि बाधक थियो।
यसअघि गण्डकीमा कांग्रेस नेतृत्वको सरकार गठन हुँदा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पार्टीकै अर्का सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीको शपथ खान बोलाएका थिए। डोबाटे दमौलीबाट आउँदाआउँदै उनको मन्त्री पद चैट भएको थियो। उनका ठाउँमा देउवाको ठाडो आदेशमा थापा मन्त्री बनेका थिए।
यसरी संसदीय दलका नेता पद बाटैमा 'हाइज्याक' नहोस् भनेर पाण्डे सचेत थिए।
पार्टीबाहिर उनलाई मुख्यमन्त्री बनाउन कसैको रोकतोक थिएन। किनकी चुनावी अभियानकै क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनलाई मुख्यमन्त्री घोषणा गरिसकेका थिए।
गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका प्रचण्डले पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग कुरा गरिसकेको समेत बताएका थिए। तर कांग्रेसले चुनावका बेला कसैलाई पनि मुख्यमन्त्रीका रूपमा अघि सारेको थिएन।
पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा पनि गोरखा–२ सुरक्षित नदेखेर प्रचण्ड गोरखा–२ मा चुनाव लड्न पुगेका थिए। उनले छाडेको चितवन–२ मा गठबन्धन उम्मेदवार हराएर एमाले उम्मेदवार निर्वाचित भइसकेका छन्। परिणामले पनि प्रचण्डलाई चितवन सुरक्षित देखाएन।
गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा सबभन्दा ठूलो मतान्तर गोरखा–२ मै थियो जहाँ माओवादीले अधिकांश पालिका जित्न सकेको थियो। गठबन्धनमा आवद्ध वडाध्यक्षहरूको मत पनि धेरै थियो। त्यसैले धेरै मतान्तरले चुनाव जित्ने प्रचण्डले घोषणा गरे। तर स्थानीय निर्वाचनमा गठबन्धनले ल्याए जति मत उनले संसदीय निर्वाचनमा पाएनन्।
एक्लाएक्लै लड्दा वा कांग्रेसको मत नपाएको अवस्थामा गोरखाबाट प्रचण्ड पराजित हुन सक्ने परिणाम देखिएको एमालेका स्थानीय कार्यकर्ता बताउँछन्। प्रचण्डले गण्डकीको मुख्यमन्त्रीका रूपमा पाण्डेलाई अघि सारेकै कारण उनलाई कांग्रेसी मतदाताले मत दिएका थिए।
पाण्डे पनि गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा कांग्रेसले सर्वसम्मत सिफारिस गरेको थियो। अन्यत्र दर्जनौं आकांक्षीको नाम सिफारिस गर्ने कांग्रेसले गोरखा–२ मा भने पाण्डेलाई सबै स्थानीय नेताले स्वीकार गरेका थिए।
माओवादीका लागि पाण्डेको त्याग पनि उत्तिकै छ। २०७४ को निर्वाचनमा गोरखा–२ मा पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसबाट टिकट पाएका थिए। एमाले र माओवादी मिलेर वाम गठबन्धन गरेपछि बाबुराम भट्टराईले हार्ने निश्चित भएको थियो। अन्तिम समयमा कांग्रेसको समर्थनमा भट्टराई उम्मेदवार बने। पाण्डेले पाइसकेको टिकट छाड्नुपर्यो।
यसपालि गोरखा–२ बाट एकल सिफारिस भएका पाण्डेले टिकट पाउने निश्चित थियो। गठबन्धनका शीर्ष नेता प्रचण्ड उक्त क्षेत्रमा चुनाव लड्न आउने भनेपछि फेरि उनी पछाडि परे। सोही क्षेत्रको प्रदेश सभा 'ख' मा लडे।
यसकारण पनि प्रचण्ड र भट्टराईले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए। पटकपटक माओवादी शीर्ष नेतालाई छाड्नुपर्दा पाण्डेले नेतृत्वप्रति असन्तुष्टि जनाएनन्। पार्टी निर्णय स्वीकार गरिरहे।
२०७४ मा चुपचाप भट्टराईलाई छाडेपछि उनलाई कांग्रेसले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर संसदीय दलको नेता बनायो। पार्टी केन्द्रीय सदस्य बनेको तीन कार्यकाल पुग्यो।
यसरी प्रचण्ड र भट्टराईका लागि पटकपटक त्याग गरेर जिताएका पाण्डे अब भने प्रमुख प्रतिपक्षी दलका नेता बन्ने छन्। कांग्रेस गण्डकीले पुस १३ गते संसदीय दलका नेतामा उनलाई चयन गर्ने लगभग पक्का छ। गण्डकी प्रदेश सभामा २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको कांग्रेस प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रतिपक्षीमा धकेलिन पुगेको छ।
प्रचण्डले प्रधानमन्त्री बन्न आइतबार एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाए। कांग्रेस नेतृत्वको गठबन्धन छाडेपछि प्रदेशमा पनि त्यसको तरंग प्रदा भएको छ। गण्डकीमा एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्रबाट हालै एकीकृत समाजवादी प्रवेश गरेका १ जना सांसद मिलेर सरकार बनाउने सम्भावना छ।
निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जितेका प्रचण्ड सरकार बनाउन एमालेसँग मिले। यसलाई पाण्डेले नेपाली राजनीतिको 'स्खलन' भनेका छन्।
'गठबन्धन बनाएर चुनावमा जाँदाको औचित्य पनि सकिएको छ,' पाण्डेले भने, 'राजनीतिमा विचार सिद्धान्त, आदर्श स्खलित बनेको कडी प्रचण्डको आइतबारको घटना पनि हो।'