हातैमा आइसकेको प्रदेश-१ सरकारको नेतृत्व गर्ने अवसर काठमाडौंमा भएको वाम सुलहले खोसिए पनि नेपाली कांग्रेस प्रदेश- १ को संसदीय दलमा रोचक चुनावी होड हुने देखिएको छ।
संस्थापन पक्षबाट तीन जना उद्धव थापा, अमृत अर्याल र भीम पराजुली अनि संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैको दाबी रहेपछि कांग्रेसमा अन्ततः चुनावबाटै दलको नेता छानिँदैछ।
बिहीबार उम्मेदवारी दर्ता भएर शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ।
अहिले प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै कांग्रेसभित्र तीव्र प्रतिष्पर्धाको अवस्था छ।
‘मुलुकको राजनीतिक परिदृश्यमा जुनसुकै बेला फेरबदल आउने सम्भावना हुनसक्छ’, दलको नेता दाबी गरिरहेका एक नेताले भने, ‘त्यसैले चुनावमै जाने निश्चित जस्तै छ।’
सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाटै तीन–तीन जना दाबेदार अघि सरेपछि संस्थापन पक्ष तनावमा छ।
नेता सिटौलानिकट रहेका प्रदेश १ का पार्टी सभापति थापा र केन्द्रीय सदस्यसमेत रहेका विराटनगरका पूर्व प्रमुख पराजुली अनि देउवानिकट केन्द्रीय सदस्य अमृत अर्याल तीनै जनाले दलको नेता दाबी गरिरहेका छन्।
तीनै जना नेताले बिहीबार मनोनयन दर्ता गर्ने बताएका छन्।
यी तीनै जनाबीच सहमति जुटाउन दुई दिनयता विराटनगर र झापामा चलिरहेको बैठक हालसम्म निष्कर्षमा पुगेको छैन।
‘हाम्रो समूहमा सहमति जुटाउनलाई प्रयासहरू भइरहेका छन्’, बुधबार साँझ संस्थापन पक्षकै ती उम्मेदवारले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा पहिलो चरणमा चार जनाबीच प्रतिष्पर्धा हुने देखिन्छ। तै पनि रातभरिमा कुनै सहमति भइहाल्ला कि भन्ने पनि छ।’
संस्थापन पक्षबाट तीन जना प्रतिष्पर्धाका लागि तयार रहँदा इतर पक्षबाट शेखर कोइरालानिकट केदार कार्की आफू पहिलो चरणबाटै निर्वाचित हुने आत्मविश्वासमा छन्।
‘म पहिलो चरणबाटै दलको नेता छानिनेमा ढुक्क छु’, अहिले आन्तरिक मामिला मन्त्रीसमेत रहेका कार्कीले भने, ‘निर्वाचन दोस्रो चरणसम्म जाँदैन।’
त्यसो त संस्थापन इतरका कार्की मात्रै होइन, संस्थापन पक्षकै पनि तीनै जना आफ्नै पल्ला भारी रहेको दाबी गरिरहेका छन्।
प्रदेश १ मा संस्थापनभित्र पनि दुई समूह छन्। एउटा देउवा र अर्को सिटौला समूह। प्रदेश सभामा उपस्थित कांग्रेस सांसदको संख्याले भने कुनै दुइटा पक्ष नमिलेसम्म कसैले पनि बहुमत पाउने अवस्था देखिन्न।
९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ। त्यसका लागि १५ मत आवश्यक पर्छ।
हालसम्मको अवस्थामा कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबैभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै देखिन्छ।
१४ औं महाधिवेशन ताकाकै अवस्था विद्यमान रहेको अवस्थामा देउवा पक्षमा ११ देखि १२ सांसद देखिन्छन् भने सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना छ। तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेका छन्।
संस्थापन पक्षको पनि देउवा समूहले आफ्नो समूहमा १२ जना रहेको दाबी गर्दै आएको छ।
दलको नेता दाबी गरिरहेका अमृत अर्यालसहित हिमाल कार्की, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदिपकुमार सुनुवार, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ गरी १२ जना आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ।
शेखर कोइराला–गगन थापाहरूले नेतृत्व गरेको संस्थापन इतर समूहले आफूसँग १० जना रहेको दाबी गर्दै आएको छ।
यो समूहबाट दलको नेता दाबी गरिरहेका केदार कार्कीसहित शमसेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल सांसद छन्। यो समूहले मैया श्रेष्ठ र लीलादेवी राईलाई पनि आफ्नै समूहमा गणना गरिरहेको छ।
संस्थापन पक्षकै सिटौला समूहबाट दलको नेता दाबी गरिरहेका दुई नेता उद्धव थापा र भीम पराजुलीसहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना सांसद छन्।
देउवा र सिटौला समूहबीच सहमति प्रयास जारी हुँदा सिटौला समूहभित्रै पनि अर्को प्रयास भइरहेको छ।
सिटौलाकै गृह जिल्ला झापाका उद्धव थापा र विराटनगरका भीम पराजुलीमध्ये एक जना मात्रै अघि बढाउने प्रयास बुधबार साँझसम्म सफल हुन सकेको छैन। नेता पराजुलीले यसको पुष्टि गरेका छन्।
‘हामीबीच सहमतिको प्रयास भइरहेको छ तर कुरा मिलेको छैन’, पराजुलीले भने ‘ बिहीबार मेरो पनि उम्मेदवारी दर्ता हुने निश्चित छ।’