नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन्।
बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरूको उपस्थितिमा आज काठमाडौंमा सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो।
उनी यसअघि पनि दलका नेता थिए। उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा कार्यरत छन्।
हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।
बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत थिए।
संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो। प्रदेश सभामा माओवादी केन्द्रका २१ सांसद छन्।