लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूले आइतबार शपथ लिने भएका छन्।
दाङको देउखुरीमा आज दिउँसो १ बजे शपथको कार्यक्रम राखिएको छ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले देउखुरीमा बनाइएको प्रदेशसभा भवनमा सांसदहरुले शपथ लिने बताए। शपथका लागि प्रदेश सभा सदस्यहरू दाङ आइसकेका छन्।
ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सांसदहरूलाई शपथ खुवाउनेछन्। गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट भुसाल निर्वाचित भएका थिए।
लुम्बिनीमा ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक सांसद निर्वाचित भएका थिए। नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, नेकपा माओवादी केन्द्रबाट ९, राप्रपाबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ४, जनमत पार्टी, लोसपा र जसपाबाट ३/३ जना र राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीबाट एक/एक जना सांसद र स्वतन्त्र ३ जनाले जितेका छन्।
साथै लुम्बिनी प्रदेश सभाको प्रथम अधिवेशन सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। ज्येष्ठ सदस्य भुसालले नै सभामुख चयन नहुँदासम्म बैठक सञ्चालन गर्नेछन्। लुम्बिनी प्रदेश सभामा १० दलको प्रतिनिधित्व छ।
यहाँको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी छ। तर केन्द्रमा कहाँ कुन दलले मुख्यमन्त्री पाउने सत्ता गठबन्धनमा छलफल हुन बाँकी नै छ। एमालेले पाएमा लीला गिरी मुख्यमन्त्री बन्ने चर्चा छ भने माओवादीले पाएमा जोखबहादुर महरा मुख्यमन्त्री बन्ने चर्चा छ।