कर्णाली प्रदेश सभाको पहिलो बैठक सकिएको छ। सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकको कार्यसूचीहरूमध्ये दलका नेता तथा सांसदहरूले दलीय धारण राख्ने समय दिइएको थियो।
उक्त समयमा कर्णाली प्रदेश सभामा सहभागी भएका पाँच दलका नेता र एक जना स्वतन्त्र सांसदले दलको तर्फबाट आ–आफ्नो धारणा राखेका छन्।
पहिलो बैठकमा दलीय धारणा राख्ने सबै सांसदहरूले कर्णालीको समृद्धिका लागि प्रदेश सभामा सहभागी दलहरूले सहमति र सहकार्यका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘कर्णालीमा विपक्ष भनेकै रोग, भोक र पछौटेपन हो, मुलुकको राजनीतिक परिस्थिति जुन बाटोमा गए पनि हामी कर्णालीमा एक हुनुपर्छ,’ मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘कर्णालीलाई समृद्ध बनाउन हामीले सहकार्य गरेर सान्दर्भिक ऐन बनाउनु जरूरी छ।’
संसदको पहिलो बैठकमा धारणा राख्दै उनले प्रदेश सभाको दोस्रो कार्यकालमा सदस्यहरूले जनताका लागि काम गरेका छन् भन्ने महसुस गराउनुपर्नेमा जोड दिए।
नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले अहिले पनि कर्णाली प्रदेश सबै सूचकांकमा पछि परेकाले यसलाई सुधार गर्नतर्फ अघि बढ्न आग्रह गरे।
अघिल्लो पाँच वर्षको कार्यकालमा कर्णाली प्रदेश सभाले नकारात्मक सूचकांकलाई प्रभावित पार्न नसकेको उनले बताए।
‘हामीले स्थापना गरेको प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी हामीले काम गर्नु जरूरी छ, यसमा नेकपा एमालेको भूमिका सधैं रहने छ,’ कँडेलले भने, ‘अहिले राजनीतिक दलहरू प्रदेश बनाउनेभन्दा पनि आफू बन्ने तर्फ लाग्दा जनतामा वितृष्णा जागेको देखिन्छ, विकासका लागि हामी प्रदेशमा सहभागी सबै राजनीतिक दलहरूले सहकार्य गरौं।’
जनताले प्रदेशको एक कार्यकालको अनुभव गरेर अर्को कार्यकालका लागि सांसद चुनेर पठाएको बताउँदै उनले आफ्नो र आफ्नो दलको जीतलाई जनताको जितका रूपमा लिएको बताए।
नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले समृद्ध समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
‘कर्णाली प्रदेशको शत्रु भनेको गरिबी हो, यसलाई निवारण गर्न हाम्रो सहकार्य जरूरी छ,’ शर्माले भने।
उनले प्रदेशभित्रका प्रशासनिक समस्या समाधान गर्न संसदबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले अहिले देखा परेको भ्रष्टाचारको अन्त्य गर्न बलियो कानुन बनाउन दलहरूले सहकार्य गर्नुपर्ने बताइन्। उनले दलीय धारणा राख्ने क्रममा राजसंस्थाको पक्ष लिइन्।
‘अहिले देशमा विदेशी हस्तक्षेप बढेको छ, नेपालमा आन्दोलन र जनयुद्ध सम्झौतामा टुंगिएका छन्,’ सांसद शाहीले भनिन्, ‘राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता छाएको छ, राज्यको अभिभावक राजसंस्था ब्युँताउनुपर्छ।’
नेकपा (एकीकृत समाजवादी) का सांसद कल्याणी खड्काले प्रदेश सभामा सहभागी दल तथा सांसदहरू समाजको समृद्धिका लागि एक भएर लाग्नुपर्ने बताइन्।
जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले सांसदहरू नेताप्रतिभन्दा पनि जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।
‘हामी सहकार्य र सहमतिका साथ अघि बढौं र जनताप्रति उत्तरदायी बनौं, देशमा कसको सरकार बन्छ छोडौं, कर्णालीमा समृद्धिका लागि कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्ने कुरामा चिन्ता राखौं,’ शाहीले भने।
उनले बस्तीहरूमा पुगेर जनताको आवश्यकताका आधारमा योजनाहरूलाई अघि बढाउन सुझाव दिए।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिले बैठकबाट सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्न तीन जना सदस्यहरूलाई मनोनीत गरेको छ।
कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ११ (१) बमोजिम बैठकबाट कर्णाली प्रदेश सभा सदस्यहरू हिक्मतबहादुर विष्ट, भीमप्रकाश शर्मा र जीतबहादुर मल्ललाई मनोनीत गरिएको छ।
सोमबारको पहिलो बैठकको अध्यक्ष कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले गरेका छन्।
पहिलो बैठक पुस २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
कर्णाली प्रदेश सभामा ४० जना सांसद छन्। तीमध्ये नेपाली कांग्रेसबाट १४, नेकपा माओवादी केन्द्रबाट १३, नेकपा एमालेबाट १०, नेकपा (एकीकृत समजावादी) र राप्रपाबाट १/१ जना छन्। कर्णाली प्रदेश सभामा एक जना स्वतन्त्र सांसद छन्।