सडकमा छोडिएका गाईगोरुलाई नियन्त्रण गर्न सुरू गरेको रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर घिसारेको भन्दै सर्वत्र आलोचना भएपछि त्यसको खण्डन गरेको छ।
बुधबार साँझ सडकमा भेटिएका साँढेलाई नगरपालिकाका कर्मचारी र नगर प्रहरीले ट्रकमा बाँधेर घिसारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए। तर नगरपालिकाले सामाजिक सञ्जाल र समाचारमा बाहिरिएका तस्बिरमा कुनै सत्यता नभएको दाबी गरेको छ।
नगरपालिकाले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी सडकमा छाडा छोडिएको साँढेले स्थानीय र सडकमा हिँड्ने मानिसहरूलाई हानेर घाइते बनाएपछि त्यसलाई नियन्त्रण गरी गौशालामा लैजाने क्रममा तस्बिर खिचेर अतिरञ्जित बनाइएको बताएको छ।
बुधबार साँझ साँढेको खुट्टामा बाँधिएको डोरी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर सडकमा घिसारेको भन्दै फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
नगरपालिकाले सिसी टिभी फुटेज समेत संकलन गरेर बाहिर आएजस्तो वास्तविकता नभएको दाबी गरेको छ।
सामाजिक सञ्जालमा देखिएको फोटोमा साँढे पल्टिएको र ट्रकमा बाँधेर घिसारेको स्पष्ट देखिन्छ। तर, नगरपालिकाले भने मानिसले डोर्याउन नसकेपछि ट्रकमा बाँधेर बिस्तारै हिँडाउने क्रममा साँढे एक्कासि बसेपछि ट्रक रोकिएको र सोही क्रममा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको बताएको छ।
नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यसअघि नगरभित्र छोडिएका १२६ वटा गाईगोरुलाई नियन्त्रण गरी गौशालामा पुर्याउँदा कुनै समस्या नआएको तर उक्त साँढेले मानिसलाई नै आक्रमण गर्न थालेपछि डोरीले बाँधेर नियन्त्रण गर्न खोजिएको बताए।
खानले उक्त साँढेले यसअघि ६/७ जना स्थानीय र वडा नं. ७ का वडा अध्यक्षलाई समेत हानेर घाइते बनाएको बताए।
‘पहिले पनि वडा नं. ७ का अध्यक्षलाई हानेर तोरीबारीमा फालेको थियो, नियन्त्रण गर्न खोज्दा ६/७ जना स्थानीयलाई हानेर घाइते बनायो तर पनि, सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरिएको घटनापछि चालक र नगर प्रहरीलाई पनि यस्ता विषयमा संवेदनशील हुन सचेत बनाएको छु,’ उनले भने।
नगर प्रमुख खानले छाडा छोडिएका पशु चौपायाका कारण दुर्घटनाका घटना बढ्दै जान थालेपछि नगरपालिकाले अहिले पशुहरूको व्यवस्थापन गर्न थालेको र व्यवस्थापन गर्दा उनीहरूलाई दु:ख दिने, यातना दिने आफूहरूको कुनै पनि उद्देश्य नरहेको बताए।
उनले कहीँकतै कमीकमजोरी भएको भए आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने बताए।
नगरपालिकाका उपप्रमख उमा अधिकारीले पनि बाहिर आएको जस्तो साँढेलाई नघिसारिएको र साँढेलाई कुनै चोटपटक नलागी सुरक्षित रहेको दाबी गरिन्।