बालकोट सुलहपछि तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख हुने अवसर पाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्तारोहणलगत्तै प्रदेश १ माओवादीभित्र भने नयाँ विवाद सुरू भएको छ।
यो विवादको केन्द्रमा छन्, प्रचण्डकै ज्वाइँ जीवन आचार्य।
दोस्रो पटकको चुनावी परीक्षामा यसपटक मोरङ ६ को १ बाट प्रदेश सभामा निर्वाचित आचार्य स्वयंले नै प्रदेश सरकारको नेतृत्वमा माओवादीभन्दा बाहिरबाट हुनुपर्ने लबिङ गरिरहेको आरोप पार्टीभित्र लागेको छ।
आचार्यले एमाले नेतृत्वमा सरकार बने आफू मन्त्री हुन सजिलो हुने भन्दै ‘पार्टी हितविपरीत काम गरेको’ आरोप लागेको छ।
‘हामी हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने प्रयासमा छौं’, माओवादी प्रदेश १ संसदीय दलका एक सदस्यले भने ‘तर, उहाँ आफू मन्त्री बन्न नेतृत्व एमालेलाई दिनुपर्छ भन्ने लबिङमा हुनुहुन्छ। व्यक्तिगत अवसरका लागि उहाँले हेडक्वार्टरमा यही लबिङ गर्नुभएको छ। यो पार्टी हित विपरीतको काम भइरहेको छ।’
आचार्यनिकट रहेका मोरङ माओवादीका नेताहरूले पनि प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र जीवन आचार्य मन्त्री बन्ने पक्का भएको बताएका छन्।
‘प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना बढी देखिन्छ’, आचार्यनिकट रहेका मोरङ माओवादीका संयोजक विजय विश्वासले भने, ‘तर, हाम्रो दाबी पनि उत्तिकै छ। यद्यपि ठूलो दल भएका नाताले एमालेकै सम्भावना बढी देखिन्छ।’
पहिलो कार्यकालमा प्रदेशको राज्यमन्त्रीसमेत भएका विश्वासले माओवादीबाट मन्त्री हुने सूचीमा आचार्य पक्का जस्तै भएको पनि विश्वासले बताए।
‘उहाँ मन्त्री बन्ने त पक्कापक्की जस्तै छ’, उनले भने, ‘अरू साथीहरू पनि दौडमा रहेका छन्।’
प्रदेश १ को माओवादी संसदीय दल तथा प्रदेश कमिटीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। इन्द्र आङ्बो दलको नेता भएलगत्तै प्रदेशको सरकारमा दाबी गर्ने माओवादी निर्णय भएको थियो। तर, पार्टी निर्णयको विपक्षमा आचार्यले प्रचण्डलाई उपयोग गर्न खोजेको भन्दै माओवादीभित्र असन्तोष चुलिएको हो।
माओवादी स्रोतका अनुसार एमालेबाट मुख्यमन्त्रीका दाबेदार हिक्मत कार्कीसँग प्रचण्डका ज्वाइँ आचार्यले दुई दिनअघि भेट गरेका छन्। त्यसक्रममा उनले प्रदेश १ मा एमालेकै नेतृत्व हुने र त्यो टिममा आफूलाई समेट्नु पर्ने बताएका छन्।
‘यहाँ मुख्यमन्त्री बन्ने तपाईं नै हो’, आचार्यले कार्कीलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसका लागि मैले गर्ने पहल गरिरहेको छु। तर, टिम (मन्त्रिमण्डल) मा मलाई समेट्नुपर्छ।’
आफूले अध्यक्ष प्रचण्डसामू त्यही पहल गरिरहेको र प्रचण्डको पनि सोही अनुसारको भनाइ रहेको आचार्यले बताएको स्रोतको भनाइ छ।
‘हामी प्रदेश १ मा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लविङमा छौं’, माओवादी प्रदेश १ का एक सांसदले भने ‘उहाँचाहिँ प्रदेशमा एमालेलाई नेतृत्व दिनुपर्छ भन्दै प्रचण्डसँग लबिङ गर्ने, यहाँका मुख्यमन्त्रीमा एमालेका दाबेदार हिक्मत कार्की भेटेर मलाई मन्त्री बनाउनुस् भन्ने काममा लाग्नुभएको छ। यो उहाँको कदम गलत छ।’
आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन्। गंगा दाहालका पति उनी बिहेपछि मात्रै माओवादीसँग जोडिएका हुन्। प्रचण्डको ज्वाइँ भएकै कारण उनले अवसर पाएको भन्दै उनको आलोचना हुने गरेको छ।
मोरङ बुढिगंगाका बासिन्दा आचार्यले गंगासँग बिहे गरेपछि २०७५ मा एकैपटक पार्टीको प्रदेश कमिटी सदस्यमा अवसर पाएका थिए। त्यसअघि सदस्यता नलिँदै २०७४ मा माओवादीबाट प्रदेशसभाको उम्मेद्वार बनेका थिए। उनलाई पछिल्लो समय केन्द्रीय कमिटी सदस्य भएपछि मोरङमा तीव्र आलोचना भएको थियो।
‘ज्वाइँ भएवापत पार्टीमा धेरै अवसर पाएका उनलाई अहिले प्रदेशको मन्त्री बनाउने तयारी भइरहेको छ’ माओवादी प्रदेश १ का एक नेताले भने, ‘यसो भयो भने सबैभन्दा गलत कदम हुनेछ। अध्यक्षको परिवारभित्रको सदस्य भएकै नाताले लगातार उनैले अवसर पाउने हो भने पार्टीमा लामो योगदान गरेकाहरुको अपमान हुनेछ।’
माओवादी नेताहरूका अनुसार प्रदेश सांसद आचार्य स्थानीय पार्टी कमिटीप्रति जिम्मेवार देखिन्नन्।
‘अस्ति पार्टीले प्रदेशका सांसदहरुको सम्मान कार्यक्रम राख्यो उनी उपस्थित भएनन्,’ ती नेताले भने, ‘त्यसपछि संसदीय दलको बैठकमा पनि आएनन्। पार्टीले बोलाएको कुनै पनि बैठकमा नआउने तर अवसर जति उनैले पाउने अवस्था पार्टीभित्र छ। यसपटक पनि त्यस्तै हुने संकेत पाइएको छ।’
प्रदेश १ मा माओवादीसँग १३ सदस्य छन् भने एमालेसँग ४०। यी दुई दल मिल्दा चाहिने बहुमत संख्या सहजै पुग्ने अवस्था छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सदस्य आवश्यक पर्छ। प्रदेशमा काँग्रेससँग २९, राप्रपासँग ६ , एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सदस्य छन्।
पार्टीभित्रबाट उनीमाथि लागेको आरोपबारे बुझ्न खोज्दा आचार्य सम्पर्कमै आउन चाहेनन्। मोबाइलमा सम्पर्क गर्दा उनका सहयोगी ईश्वरी आचार्यले फोन उठाए। र, भने, ‘दाइ अहिले जरूरी मिटिङमा हुनुहुन्छ। १०-१५ मिनेटपछि गर्नुहोस्।’
उनले भनेकै समयमा सम्पर्क गर्दा उनले कुनै रेस्पोन्स गरेनन्।