सिंहदरबार भित्र संघीय संसदको नयाँ भवन धमाधम निर्माण भइरहेको छ।
संघीय संसदका दुवै सदन- प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरु, संसदीय दलका कार्यालय समेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना धमाधम निर्माण भइरहेको छ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित संघीय संसद भवनको २०७६ असोज १ गते शिलान्यास गरेका थिए।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको छ।
२०६४ पछि सरकारले नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ। त्यसैले उक्त भवन सार्नका लागि सिंहदरबारमा नयाँ भवन बन्न लागेको हो।
संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ। सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ।
भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो।
हेर्नुहोस् तस्बिरहरू