सोमबार दिउँसो नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले सम्बोधन गरे।
सम्बोधनका क्रममा उनले कहीँ कतै पनि संसदमा आफ्नो दल प्रमुख प्रतिपक्षी बनेर रहने उल्लेख गरेनन्। देउवाले यति मात्रै भने, ‘यो प्रतिनिधि सभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।’
लिखित सम्बोधन गरेका देउवा संसदमा निकै नम्र रूपमा प्रस्तुत भए। उनले प्रचण्डलाई बधाई दिए। चुनावअघिको गठबन्धन किन टुट्यो भन्ने विषय पनि उप्काएनन्।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवाले संसदमा आफ्नो प्रतिपक्षी भूमिकाबारे एक शब्द पनि उल्लेख नगरेको केहीबेरपछि संसद बैठकबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने- भोलि मलाई विश्वासको मत दिन सिंगै संसद खडा हुनेछ।
संसद बैठकको केही घन्टापछि भएको सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा अर्को सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्ड सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिनेतर्फ संकेत गरे।
उनले भने- अहिले नै १८० मत त छँदैछ। त्यसमा ८०-८५ अरू थपिने पनि सम्भावना छ।
प्रतिनिधि सभामा कांग्रेसको ८९ सिट छ।
चुनावअघिको गठबन्धनलाई तोड्दै माओवादी अध्यक्ष दाहाल नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षीको भूमिकामा पुगेको छ तर कांग्रेस नेतृत्वले आफ्नो प्रतिपक्षी भूमिकालाई स्वीकारिसकेको भने देखिन्न। त्यही कारण प्रचण्डले संसदमा विश्वासको मत लिन केही घन्टा मात्र बाँकी रहँदा पनि उनलाई विश्वासको मत दिने कि नदिनेबारे कांग्रेसभित्र मौनता छ। कांग्रेस यसरी अनिर्णीत हुनुको पछाडि कारण के हो भन्नेबारे नेताहरू प्रष्ट जवाफ दिँदैनन्।
सभापति देउवा समूहका नेताहरू मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकपछि मात्र यसबारे सार्वजनिक रूपमा बोल्ने बताइरहेका छन्।
सत्ता साझेदार दलहरूबाट आफूलाई राष्ट्रपतिमा सहयोग गर्ने बचन पाए कांग्रेसले सरकारलाई समर्थन पनि गर्न सक्छ। यस्तो अवस्थामा संसद प्रतिपक्षीविहीन हुन्छ। कांग्रेसबाहेक अहिले सत्ताबाहिर रहेका कुनै दल पनि संसदमा प्रतिपक्षीमा बस्ने हैसियतमा छैनन्। संसदमा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको दश प्रतिशत सांसद हुनु पर्ने व्यवस्था संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा छ।
सभापति देउवा पक्ष मौन रहेका बेला संस्थापनइतर कांग्रेसका सांसदहरू भने प्रतिपक्षमा बस्नुपर्ने अडान राखिरहेका छन्।
महामन्त्री गगन थापा कांग्रेसले प्रचण्ड सरकारको विपक्षमा मतदान गर्नुपर्ने बताउँछन्।
‘हामी प्रतिपक्षको भूमिकामा छौं। सशक्त र प्रभावकारी भूमिका खेल्ने हो,’ सोमबार संसदको बैठकपछि थापाले भने, ‘कता-कता विश्वासको मतका कुरा आएको सुन्छु, तर विश्वासको मतको खिलापमा हामीले मतदान गर्ने हो।’
उनले कांग्रेस ठूलो दल भएकोले विगतमा सरकारको नेतृत्वका लागि पहल गर्नु स्वाभाविक रहेको बताए। संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनबाट बहुमत पुर्याएर प्रचण्ड प्रधानमन्त्री भइसकेपछि अब कोही पनि अलमलमा पर्न नहुने थापाले बताए।
‘बहुमत पुर्याएर यो सरकार बनेको हो। अब पनि केही हुन्छ कि भनेर नसोच्नुस्। नजाने गाउँको बाटो पनि नसोध्नू,’ उनले भने, ‘यसबारे हाम्रा नेताहरू पनि अलमलमा हुनुहुन्न।’
महामन्त्री गगनजस्तै अर्का नेता प्रदीप पौडेल पनि अहिलेको सरकारलाई विश्वासको मत दिन हुन्न भन्ने पक्षमा छन्।
‘विश्वासको मत दिने कि नदिनेबारे मंगलबार बिहान ९ बजे बैठक गरेर संस्थागत निर्णय आउँछ,’ पौडेलले भने, ‘प्रतिपक्षी भूमिका हाम्रा लागि अवसर हो, यसको उपयोग गर्न सक्नुपर्छ। बेथितिविरूद्ध आवाज बुलन्द गर्नुपर्छ।’
उनले कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘यो व्यवस्थामा सहमतीय सरकार भन्ने हुँदैन, कि सत्तापक्ष कि प्रतिपक्ष हुन्छ,’ उनले भने, ‘सरकारलाई खबरदारी गर्न पनि प्रतिपक्ष चाहिन्छ। यो व्यवस्थाको सौन्दर्यता कायम गर्नुपर्छ।’
उनले सहमतीय सरकार बनाउने हो भने पनि कांग्रेसले अहिलेको सरकारलाई भोट दिन नहुने बताए।
नेता विमलेन्द्र निधिले अहिलेको सरकारलाई विश्वासको मत दिनेबारे अहिलेसम्म पार्टीले छलफल नगरेको र मंगलबार छलफल हुने बताए।
‘विश्वासको मतबारे अहिलेसम्म केही निर्णय भएको छैन। संसदीय दलको मंगलबार बस्ने बैठकले निर्णय गर्छ,’ उनले भने।
निधिले जस्तै प्रवक्ता प्रकाशशरण महत पनि विश्वासको मतबारे पार्टीमा औपचारिक छलफल नभएको बताउँछन्।
‘यो सरकारलाई समर्थन गर्ने त्यस्तो कुनै निर्णय र सोच बनेको छैन,’ महतले भने।