इजरायलको नयाँ सरकारले सार्वजनिक स्थानबाट प्यालेस्टाइनी झण्डा हटाउन निर्देशन दिएको छ।
इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टाइनी झण्डा हटाउन प्रहरीलाई आदेश दिएका हुन्।
प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको भन्दै इजरायली मन्त्री इटामार बेन-गिभिरले यस्तो निर्देशन दिएका हुन्।
उत्तरी इजरायलस्थित उनको गाउँमा रातो, हरियो र कालो ब्यानरले सजाइएको थियो गत साता लामो समयदेखि जेलमा रहेका प्यालेस्टाइनी कैदीलाई रिहा गरेपछि इजरायली मन्त्रीले यस्तो आदेश दिएको बिबीसीले जनाएको छ।
हालको इजरायली कानूनले कानून र व्यवस्थाको अवस्था जोखिम भएको क्षेत्रमा सुरक्षा अधिकारीहरूलाई झण्डा हटाउन अनुमति दिएको छ।
यसैबीच बेन गिभिरको आदेशलाई प्यालेस्टाइनसँग बढ्दो विवादको अर्को कारणको रूपमा हेरिएको छ। बेन्जामिन नेतन्याहु सरकारलाई इजरायलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकारहरूमध्ये मानिन्छ।
बेन गिभिरले हालै जेरूसेलमको अल-अक्सा मस्जिदको पनि भ्रमण गरेका थिए। उनको भ्रमणको विषयलाई लिएर साउदी अरेबिया, युएईलगायत धेरै मुस्लिम देशहरूले आपत्ति जनाएका थिए।