लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीले मंगलबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजे सम्मको समयसीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले दिएको अवधीभन्दा एकदिन अगाडि नै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका हुन्। यसअघि नै एमाले संसदीय दलको नेतामा निर्वाचित भएका गिरीले लुम्बिनी प्रदेशका ४९ सांसदको हस्ताक्षरसहित दिउँसो ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने एमाले स्रोतले जनाएको छ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूको सोमबार बसेको बैठकले मंगलबार नै बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्ने निर्णय गरेका थिए।
नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने निर्णय गरेका थिए।
गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सम्भवतः प्रदेश प्रमुख शेरचनले मंगलबार नै गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नेछन्।
लुम्बिनी प्रदेशमा सबभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्।
सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ जना सांसदको समर्थन रहने छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ।
चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले सांसदको टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेर निर्वाचन जितेका २ जना सांसदले अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गरिसकेका छैनन्।
नागरिक उन्मुक्ति र स्वतन्त्रका दुई जना सांसदले पनि समर्थन गरे सरकारलाई ५५ जनाको समर्थन हुनेछ।
२७ जना सांसदसहित प्रदेशमा दोस्रो ठूलो दल रहेको नेपाली कांग्रेस, तीन जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी तथा एक/एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन्।