कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ।
बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो।
छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
‘साढे दुई/साढे दुई वर्ष मुख्यमन्त्री बन्ने सहमति भएको छ, कसले कति मन्त्रालय लिने भन्ने सहमति पनि भएको छ,’ नेकपा एमालेका कर्णाली प्रदेश उपसचिव तथा प्रदेश सभा सदस्य टेकराज पछाईंले सेतोपाटीसँग भने।
जसअनुसार पहिलो कार्यकाल नेकपा माओवादीले मुख्यमन्त्री लिँदैछ।
पछाईंका अनुसार कर्णाली प्रदेशका मन्त्रालयको संख्या आठ वटाबाट घटाएर सात बनाउने सहमति भएको छ।
सुरूमा सरकार गठन हुँदा पनि कर्णालीमा सात वटा मन्त्रालय थिए। पछि राजनीतिक भागबण्डा मिलाउन भौतिक पूर्वाधारलाई टुक्रयाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय थप गरिएको थियो।
बुधबारको छलफलबाट कर्णालीमा माओवादीले मुख्यमन्त्री, अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ।
एमालेले तीन वटा मन्त्रालय लिने सहमति भएको पछाईंले जानकारी दिए।