पोखरा महानगरका दलित जनप्रतिनिधिले नगरसभा बैठकमा पहिलो पटक विरोध प्रदर्शन गरे।
सोमबारमात्र गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका एमाले नेता खगराज अधिकारी मंगलबार आयोजित नगर सभाको हिउँदे अधिवेशनको प्रमुख अतिथि थिए।
उनले बोल्न समय पाउनासाथ महानगरका दलित जनप्रतिनिधि हातमा कालोपट्टी बाँधेर उभिए। सभामा बोल्न समय मागे। दलित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेपछि उपमेयर मञ्जुदेवी गुरूङले बोल्न समय दिइन्। आन्दोलनका अगुवा बनेर कार्यपालिका सदस्य दीपक घिमिरे विश्वकर्मा मञ्चमा पुगे।
उनले नगर सभाको रोष्ट्रमबाट वडा नम्बर २४ की दलित महिला सदस्य मैंया नेपालीमाथि भएको जातीय विभेदका आरोपितलाई कारबाही गर्न माग गरे। घटनाको विवरणसहित उनले मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाए।
नगरसभाको कार्यसूची बाहिर गएर दलित जनप्रतिनिधिले आन्दोलन गरेको नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मन पराएनन्।
दलित महिला सदस्य मैंयामाथि जातीय विभेदसहित दुर्व्यवहारमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष भरतबहादुर अधिकारी मुछिएका छन्।
भेदभावको आरोपमा भरतबहादुर मंगलबार प्रहरी हिरासतमा पुगेका छन्।
दलित जनप्रतिनिधिले दलित महिला सदस्यमाथि भएको विभेद र दुर्व्यवहारको विषय उठाएपछि कांग्रेसका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरे, मुख्यमन्त्रीको र नगरसभा बैठकको गरिमा घटाएको आरोप लगाए।
वडा नम्बर २ का वडाध्यक्षसमेत रहेका कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवसमान प्रधानांगले भने, ‘घरबाट आउँदा ढाका टोपी, कोट, दौरासुरूवाल लगाएर आयौं, हाम्रो अपमान भयो। हाम्रो जिल्लाको मुख्यमन्त्री पाएका छौं, मुख्यमन्त्रीको अपमान भयो। नगरसभाको अपमान भयो। हामी खेद व्यक्त गर्न चाहन्छौं।’
जातीय विभेद र दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी ३६ वर्षीया मैंयाले सेतोपाटीसँग भनिन्, ‘ममाथि दुर्व्यवहार हुँदा मलाई कसैले सहयोग दिएन। आज नगर सभामा धेरै साथीहरूको साथ पाएँ।’
वडा नम्बर २४, कास्कीकोटको मौला गाउँकी मैंयाले सानै उमेरदेखि जातीय विभेद भोगेकी हुन्।
सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा उनी विद्यालयमा पढ्थिन्। उनका घरमा माओवादीहरू खाना खान आउँथे। ‘मुक्तिका लागि युद्ध’ गर्नुपरेको हो भन्थे।
पुस्तौंदेखि जातीय विभेद भोग्दै आएको समुदायमा मुक्तिको आशा देखाएपछि मैंयाले पनि विभेदरहित समाजको परिकल्पना गरिन्। त्यो समय उनका परिवारबाट कोही पनि राजनीतिमा थिएनन्।
‘राजनीति के हो, केका लागि हो भन्ने थाहा थिएन, संकटकालमा माओवादीले घरमा आएर सिकायो,’ उनले भनिन्, ‘समानताका लागि नलडेसम्म विभेद हट्दैन भनेका थिए। त्यही बेलादेखि मलाई राजनीतिक चेत आएको हो।’
माओवादीले मैंयाको बालमस्तिष्कमा राजनीतिक चेत भरिदिए पनि उनी कहिल्यै माओवादी भइनन्। जातीय र सामाजिक विभेदविरूद्ध लड्नुपर्छ भन्ने अठोट चाहिँ गरिन्।
एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मैंया पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भइन्।
पृथ्वीनारायण क्याम्पस एमालेका नेताहरू जन्माउने थलो मानिन्छ। यहीँबाट खगराज अधिकारी, रवीन्द्र अधिकारी लगायतका नेताहरू उदाए।
क्याम्पस भर्ना भएपछि मैंया एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यक्रमहरूमा सहभागी हुन थालिन्।
एमालेका कार्यक्रमहरूमा सहभागी हुने क्रममा डिबी नेपाली, होम नेपाली लगायतका एमाले नेताहरूसँग चिनजान भयो। उनीहरूले जातीय मुक्तिका गीत गाउँथे। दलित समुदायले भोग्नुपरेको विभेद र दुर्व्यवहारविरूद्ध लड्ने पार्टी एमाले हो भन्थे।
मैंयालाई एमाले पार्टी मन पर्न थाल्यो। २०७३ सालमा पार्टी सदस्यता लिएर औपचारिक रूपमा कार्यकर्ता बनिन्।
अहिले उनी एमालेनिकट ‘मुक्ति समाज’ को प्रदेश सदस्य छिन्। महिला संगठनको वडा सचिव छिन्।
जातीय विभेदका घटना उनले सानै उमेरदेखि भोगेकी हुन्। स्कुल पढ्दा साथीहरूसँग सबै कुरा मिल्थ्यो तर साथीको घरमा जाँदा भित्र पस्न पाउँदिन थिइन्।
त्यति बेलाको माओवादीले यस्तो जातीय विभेदविरूद्ध उनमा विद्रोहको चेत भरिदिएको थियो।
क्याम्पस पढ्दापढ्दै कास्कीकोटका रूद्र नेपालीसँग मैंयाको बिहे भयो। रूद्र समाजशास्त्रका विद्यार्थी थिए। उनी पनि एमालेका संगठित कार्यकर्ता थिए, जातीय विभेद सहनु हुँदैन भन्थे।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट मैंयाले वडाको दलित महिला सदस्य निर्वाचित भएकी थिइन्। तत्कालीन पाँच दलीय गठबन्धनबाट कांग्रेसका भरतबहादुर अधिकारी वडा अध्यक्षमा निर्वाचित भए।
जनप्रतिनिधि बनेपछि पनि एकपछि अर्को दुर्व्यवहारको सामना गर्नुपरेको मैंयाको भनाइ छ।
गत असारमा पोखराबाट नौडाँडा जाने बाटोमा पहिरो खस्यो। पहिरोले बाटो अवरूद्ध भएको दिन वडाध्यक्ष भरतबहादुरको फोन अफ थियो। वडाका सहायक सचिवले मैंयालाई फोन गरे।
मैंयाले अर्का वडा सदस्यलाई पनि बोलाइन्। बाटो खुलाउन डोजर बोलाउनुपर्ने भयो। सहायक सचिवले डोजर मगाए। बाटो खुल्यो।
भोलिपल्ट वडाध्यक्ष कार्यालय आए। मैंयाले बाटो अवरूद्ध भएकाले डोजर लगाएर खुलाएको जानकारी गराइन्। वडाध्यक्ष रिसले चुर भए।
मैंयाले वडाध्यक्षले गरेको गाली उद्धृत गरिन्– तेरो गोजीको पैसा हाल्ने भनेर डोजर लगाएको हो? कसको आदेशमा डोजर लगाएको?
उनले प्रश्न गरिन्– जनताले बाटो खोल्नुपर्छ भनेपछि हामीले काम गर्दा किन आपत्ति जनाउनुहुन्छ दाइ?
फेरि हप्काए– मलाई यो कुर्सीमा हुँदा किन दाइ भनेको?
मैंयाले माफी मागिन्, ‘वडाध्यक्षज्यू भन्नुपर्ने, दाइ भनेर गल्ती गरेछु। माफ पाऊँ।’
वडा स्तरीय शिक्षा समिति गठन गर्ने समय आयो। उनले छोराछोरी बोर्डिङ (निजी स्कुल) मा पढाएको भनेर वडाध्यक्षले फेरि मैंयालाई झपारे।
मैंयाका दुई छोरी छन्। एक छोरी सामुदायिक विद्यालयमा पढ्छिन्। अर्की छोरी एउटा संस्थाको सहयोगमा निजी विद्यालयमा पढ्छिन् जहाँ छोरीका बा शिक्षक छन्।
वडाध्यक्ष भरतबहादुरका छोराछोरी अस्ट्रेलियामा छन्। एउटी छोरी पोखरामै पढ्छिन्।
शिक्षा समिति गठनमा कुनै विवाद थिएन। वडाध्यक्षले अप्रासंगिक कुरा निकालेर हप्काउन खोजेको र बैठकबाट बाहिर निकाल्ने प्रयास गरेको मैंयाको आरोप छ।
‘तपाईं धेरै बोल्नुभयो, बाहिर जानुस् यहाँ नबस्नुस् भन्नुभयो,’ उनले भनिन्, ‘म पनि तपाईं जस्तै निर्वाचित भएर आएकी हुँ। मलाई यो बैठकबाट निकाल्ने अधिकार तपाईंलाई छैन भनेर बसिरहेँ।’
बैठकैपिच्छे वडाध्यक्षले कुनै न कुनै निहुँ झिकेर हप्काउने र हेप्ने गरेको मैंयाको आरोप छ। मैंया डटेर जवाफ दिन्थिन्।
वडाध्यक्ष भरतबहादुरले गत कात्तिक ९ गते उसैगरी हप्काए।
पोखरा महानगरले वडामा लक्षित वर्गका लागि पाँच लाख रुपैयाँ बजेट दिएको थियो। त्यसको बाँडफाँट गर्न वडा समितिको बैठक बोलाइयो।
लक्षित वर्गका लागि गएको बजेटबाट महिला, दलित, जनजाति, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति लगायतले लाभ पाउनुपर्ने कानुनी प्रावधान छ।
मैंयाले उक्त बजेटबाट दुई लाख रुपैयाँ दलित समुदायका लागि खर्च गर्न प्रस्ताव राखिन्। वडाका अन्य सदस्यले समावेशी तरिकाले जाऔं भने।
समावेशी तरिकाले जाँदा दलितका एक–दुई जनामात्र पर्ने तर्क गर्दै मैंयाले दलितका लागि छुट्टै शीर्षक हुनुपर्ने अडान राखिन्।
वडा २४ मा दलित समुदायका चार सयभन्दा बढी घर छन्। वडाध्यक्ष भरतबहादुरले दलितका लागि त्यसरी छुट्टै शीर्षकमा बजेट दिन नसक्ने बताए।
‘वडाध्यक्षज्यूले हुँदैन भन्नुभयो, मलाई नबोल भन्नुभयो,’ उनले भनिन्, ‘दिने नदिने कुरा तपाईंहरूको भयो, मैले मेरो समुदायको कुरा राख्न पाउनुपर्यो भनेर अडान राखेँ।’
अन्य सदस्यहरू दलितका लागि एक लाख रुपैयाँ छुट्याउन तयार भए।
मैंयाले भनिन्, ‘त्यसपछि वडाध्यक्ष म कार्यक्रमको संयोजक हुन नपाउने शर्तमा एक लाख छुट्याउन तयार हुनुभयो। मलाई आफू संयोजक हुनु थिएन। मेरो समुदायका लागि केही काम गर्नु थियो।’
मैंयाका अनुसार उनको मुखमा बुझो लगाउन दलित समुदायका लागि एक लाख रुपैयाँ छुट्याएको वडाध्यक्षले ठानेका थिए। निर्णयपछि वडाध्यक्षले ‘एक लाख पाइस्, अब चुप लाग्’ भनेको मैंयाको आरोप छ।
उनले बोल्न पनि नपाउने भए अबदेखि बैठकमा आउँदिनँ भनिन्। अरू वडा सदस्यले मिलेर जानुपर्छ भनेपछि उनी चुपचाप बैठकमा बसिन्।
गत कात्तिक १८ गते बिहान ८ बजे वडा कार्यालयका सचिवले उनलाई फोन गरेर ११ बजे महिला भेला आयोजना गर्नुपर्यो भने। वडामा रहेका महिला समूहका तीन–तीन जना प्रतिनिधि बोलाउन भने। समय जम्मा तीन घण्टा थियो।
मैंयाले यति छोटो समयमा बोलाउँदा दिदीबहिनीहरू आउन गाह्रो होला भनिन्। वडा सचिवले भेला गर्नैपर्छ भने। मैंयाका अनुसार भेला बोलाउने कुरा वडाध्यक्ष र सचिवबीच अघिल्लो दिनमै भएको उनले थाहा पाइन्।
छोटो समयमा पनि उनले केही आमा समूहका प्रतिनिधि बोलाइन्। अन्य वडा सदस्य र अध्यक्षले पनि बोलाए।
लक्षित वर्गका लागि आएको बजेटबाट के के काम गर्ने भनेर छलफल बोलाइए पनि त्यही दिन कार्यक्रम उद्घाटन गर्न खोजेपछि विवाद भएको मैंयाको भनाइ छ।
छलफल चल्दै गर्दा उनी अर्को बैठकमा गइन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि सराङकोटबाट विस्थापित प्याराग्लाइडिङ चलाउने विषय थियो।
प्याराग्लाइडिङसम्बन्धी बैठकबाट मैंया फेरि महिलाको भेलामा पुगिन्। छलफलका लागि बोलाइएको भेलामै कार्यक्रम उद्घाटनको तयारी भइरहेको उनले थाहा पाइन्।
भेलामा पद्मावती हस्तकला उद्योगका प्रोप्राइटर हिरा भट्टराई पनि थिइन्। उनी भेलामा सहभागी महिलाहरूलाई समूहमा विभाजन गर्दै थिइन्।
हिराले तालिमका लागि भनेर आफूलाई वडा सदस्य कृष्णप्रसाद सुवेदीले बोलाएको बताइन्।
अर्की महिला वडा सदस्य सरस्वती त्रिपाठी र वडाध्यक्ष भरतबहादुरबीच पनि विवाद भइरहेको थियो। सरस्वती कार्यक्रमबारे वडा समितिमा निर्णय नभएको र आफूलाई जानकारी नदिएको भन्दै रूष्ट थिइन्।
सरस्वतीले महिला लक्षित कार्यक्रममा आफूलाई अग्रिम जानकारी हुनुपर्ने र महिलाले निर्णय गर्न पाउनुपर्ने अडान राखिन्।
वडाध्यक्ष भरतबहादुर कड्किए। भेलामा उपस्थित भएकालाई तालिम दिने अडान राखे। कतिपय सहभागीले भेला भनेर तालिम उद्घाटन गर्न लागेको भन्दै विरोध जनाए।
प्रशिक्षक खर्च, भत्ता, कच्चा पदार्थ लगायतका विषयमा जानकारी माग्दा वडाध्यक्षले ‘सबै मिलाएको’ भन्ने जवाफ दिए। सहभागी केही महिला, महिला वडा सदस्य र वडाध्यक्षबीच विवाद चलिरहँदा आफू मौन रहेको मैंयाले बताइन्।
वडाध्यक्ष रिसले चुर भए। महानगर र प्रदेशमा बजेट माग्न जान सदस्यहरूलाई चुनौती दिए।
भेला कि तालिम उद्घाटन भन्ने विवाद चर्किरहँदा माओवादी कार्यकर्ता चित्रा भट्टराई अघि सरिन्। उनी भेलामा सहभागी थिइन्। उनले सोही वडाको गुन्टेचौर जाने मोटरबाटोको कुरा उठाइन्।
उक्त बाटो बनाउन मैंया उपभोक्ता समिति गठन गर्न पुगेकी थिइन्। समितिको सचिव बनेकी थिइन् चित्रा। मैंयाका अनुसार चित्राले बाटो नबन्नुमा मैंयालाई दोषी देखाइन् र मोसो दल्छौं भनिन्। यसपछि मैंया बोल्न अघि सरिन्।
उनका अनुसार उक्त बाटोलाई पोखरा महानगरले पहिले पाँच लाख रुपैयाँ दिने भनेको थियो तर योजनाबाटै हटायो। फेरि मेयरले बजेट दिने भने। यसपछि वडा समितिमा निर्णय गरेर मैंया उपभोक्ता समिति बनाउन गएकी थिइन्।
बाटोको बजेट कटौती हुनुमा मैंया दोषी रहेको चित्राको निष्कर्ष छ। यसबारे वडाध्यक्षसहित सबै सदस्यले दिनुपर्ने मैंयाको भनाइ छ।
यतिकैमा वडाध्यक्षले निर्वाचित सदस्य भएर काम गर्न नसक्ने भए किन बोल्ने भनेर मैंयालाई हप्काए।
महिला सदस्यसँग विवाद गरेर आवेगमा आएका वडाध्यक्ष दलित महिला सदस्य मैंयाविरूद्ध खनिए, अध्यक्षसँग टक्कर लिएको भनेर थर्काए। कसको अनुमतिमा बोलिस् भनेर कराए।
वडाध्यक्ष भरतबहादुर रिसले उम्लिए। ‘तँ’ भन्दै गाली गलौजमा उत्रिए।
सार्वजनिक कार्यक्रम वडाध्यक्षले अपमानजनक गाली गरिरहे। उनले पिट्न हात उठाएको र अर्का सदस्य कृष्ण सुवेदीले रोकेको मैंयाले बताइन्।
भेलाका सहभागीहरू बिस्तारै लाखापाखा लागे।
उनले भनिन्, ‘ममाथि यसरी वडाध्यक्ष खनिँदा अरू जनप्रतिनिधि साथीहरू बोलेनन्। भेलाका सहभागी पनि बोलेनन्।’
मैंया ‘म पनि जनप्रतिनिधि हुँ’ भन्ने सोच्दै घर पुगिन्। घरमा ढोका थुनेर रोइन्। केहीबेरमा उनका श्रीमान स्कुलबाट आइपुगे। मैंयाले दिनभरिको घटना सुनाइन्।
मैंयाले आफ्नो पार्टीका वडा नेता र कार्यकर्तालाई पनि घटनाबारे जानकारी गराइन्। एमाले महानगर संसदीय दलका नेता राधिका शाही योगीलाई भेटिन्।
सहयोग माग्न आफू संलग्न मुक्ति समाज गइन्। एमालेको दलित संगठनको कास्की र पोखरा महानगर समितिमा कुरा राखिन्।
कतैबाट पनि सोचेजस्तो सहयोग नपाएको उनको भनाइ छ।
मेयर धनराज आचार्य, उपमेयर मञ्जु गुरूङ र प्रवक्ता तथा वडा नम्बर २५ का वडाध्यक्ष मोतिराम तिमिल्सिनासँग पनि आफ्नो कुरा गरिन्।
उनीहरूले छलफल गरेर न्याय दिने कुरा गरे तर भनेअनुसार छलफल भएन।
कतैबाट सहयोग नपाएपछि अन्ततः मैंया न्यायका लागि कानुनी प्रक्रियामा अघि बढ्ने निष्कर्षमा पुगिन्।
उनले भनिन्, ‘न्यायका निम्ति त म एक्लै रहेछु। मैले लड्नुपर्ने रहेछ। एक्लै भए पनि कानुनी उपचारमा जान्छु भन्ने सोचेँ।’
उनी उजुरी लिएर यही पुस २२ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय, कास्की पुगिन्। तीन बजिसकेको भनेर त्यस दिन उजुरी दर्ता भएन।
आइतबार दर्ता भयो। उजुरी दिन लागेको थाहा पाएपछि वडाध्यक्ष भरतबहादुरले फोन गरे तर मैंयाले कुरा गरिनन्।
वडाध्यक्षका दुई जना निकटस्थले पनि फोन गरे। मैंयाले कुरा गरिन्।
उनीहरूले वडाध्यक्षले गल्ती गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्न लगाउने आश्वासन दिए। प्रहरीमा नजान आग्रह गरे तर मैंयाले अस्वीकार गरिन्।
उनले प्रहरीमा दिएको जाहेरीमा भरतबहादुरलाई जातीय तथा सामाजिक छुवाछुत र भेदभाव कसुरमा कारबाही गर्न माग गरिएको छ।
वडाध्यक्ष सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले कानुनअनुसार ५० प्रतिशत बढी सजाय दिन पनि माग गरेकी छन्।
उनले वडाध्यक्षले गरेको गालीको एक अंश उजुरीमा यसरी लेखेकी छन्– तेरो तीन पुस्तादेखि मेरो घरको जुठो काम गरेर बाँचेका हौ। तँलाई महानगरले दिने १५ हजार तलब र सेवा सुविधा त मैले घरमा काम गर्ने नोकरलाई दिन्छु। तिमीहरू कामी, दमै, सार्कीको हैसियत भनेको मागेर थापेर खाने हो। ठूली पल्टिन्छेस्?
आइतबार उजुरी दर्तासँगै सम्पर्कविहीन बनेका वडाध्यक्ष भरतबहादुर मंगलबार आफैं प्रहरी कार्यालय पुगे। अहिले उनी प्रहरी हिरासतमा छन्।
प्रहरीले मंगलबार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताएको छ।