२०७४ मा भएको प्रदेश र प्रतिनिधि सभामा चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो। त्यसबेला प्रदेशमा एमालेले २५ र माओवादीले १४ सिट जिते।
सत्ता बाँडफाँट गर्दा सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने सहमति भयो। माओवादीबाट मुख्यमन्त्री को हुने भन्ने दौडधुप निकै चल्यो। राजधानी र मुख्यमन्त्री पद त्यसबेला जोडदार मुद्दा बने। तत्कालिन अवस्थामा माओवादीका प्रदेश इन्चार्ज रहेका लेखराज भट्टले मुख्यमन्त्रीको टुंगो लाउने जिम्मा पाए।
त्यो बेला मुख्यमन्त्रीका लागि थारू समुदायबाट हुनुपर्ने भनेर केही सासंदको नाम पनि चर्चामा थियो। तर, प्रत्यक्ष चुनाव लडेर डोटीको निर्वाचन क्षेत्र ‘२’बाट निर्वाचित त्रिलोचन भट्ट मुख्यमन्त्री भए।
उनी मुख्यमन्त्री भएपछि विगतमा भारतमा चौकीदारी गरेका कारणले पनि चर्चामा आए। लेखराज भट्टले उनलाई मुख्यमन्त्री बनाइदिए भनेर पनि कुरा चल्यो।
२०७४ फागुन ५ गते भट्टले मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए। भट्टले आफूले भारतमा चौकीदारी गरेको अनुभवले नै अन्य भारत जानेहरूलाई स्वदेशमै रोजगारी दिन चाहन्थे। त्यही सोचले उनले सपथ ग्रहणपछि ‘रोजगारीका लागि भारत जानेहरूलाई स्वदेशमै रोजगारी दिइनेछ ’ भनेका थिए। उनको यो भनाइ कार्यान्वयन नभएको भन्दै आलोचना भयो।
‘आफूले पनि समस्या भोगेको हुनाले भोलिका दिनमा भारत जानु नपरोस् भनेर यतै रोजगारीको व्यवस्था होस भनेर भनेको थिएँ, मैले त्यो वातावरण सिर्जना गर्नुपर्छ, त्यसमा लाग्छु भनेको थिएँ,’ पाँच वर्षे कार्यकाल सकेर विदा हुन लाग्दा भट्टले भने,‘ठुला कारखाना बनाएर रोजगारी दिन सकिएन, तर अन्य माध्यमबाट धेरैलाई रोजगारी दिएका छौं, प्रदेश लोकसेवाबाट रोजगारी सिर्जना गर्न सकिएको छ। पूर्ण रूपमा भारत जानबाट रोक्न नसके पनि केही हदसम्म रोजगार, स्वरोजगार र कृषि कार्यक्रमसँग जोड्न सफल भएँ।’
त्यस्तै ‘जनगुनासो सुन्ने र त्यसलाई तत्काल समाधान गर्ने उद्देश्यले भट्टले हेलो सिएम कार्यक्रम सञ्चालन गरे। मन्त्रिपरिषद्को दोस्रो बैठकबाट यो महत्वपूर्ण निर्णय गराएका थिए। निर्णयपछि यो कार्यक्रम कार्यान्वयनमा आयो। सुरूवातमा जनताले टेलिफोन गरेर आफ्ना समस्याहरू मुख्यमन्त्रीलाई सुनाएका थिए।
तर, महिनौंसम्म गुनासो सुनुवाइ हुन नसकेपछि हेलो सिएममा फोन आउनै बन्द भयो।
प्रदेश सभाबाट राजधानी कैलालीको गोदावरीमा तोक्ने निर्णय बहुमतले पारित भयो। त्यसअघि डोटीमा राजधानी हुनुपर्ने भनेर महिनौं लामो आन्दोलन भइरहेको थियो। मुख्यमन्त्री डोटीका भट्ट भएकाले राजधानी तराई तोकिएको तर्क गर्न थालियो। कतिपयले मुख्यमन्त्री पदसँग राजधानी साटिएको भन्ने गरेका छन्।
राजधानी तोकिदिए पनि सरकारले गोदावरीमा संरचना निर्माण गर्न सकेको छैन। केन्द्र सरकारले जग्गा नदिएकाले काम नभएको भट्टको भनाइ छ।
कमजोर शासनका रूपमा भट्टको चर्चा भए पनि थुप्रै उतारचढावका बीच पाँच वर्षे कार्यकालमा स्थायी सरकार रह्यो।
सुरूमा उनलाई मुख्यमन्त्री बनाएको गठबन्धन एकताको तीन वर्ष पनि पुग्न नपाउँदै टुट्यो। नेकपाको एकता खारेज भएर माओवादी र एमाले अलग भए। भट्टले विश्वासको मत लिनुपर्दा एमालेले पनि समर्थन गर्यो। उनको पद जोगियो। पछि एमाले पनि फुटेर एकीकृत समाजवादीको गठन भयो।
यहीबेला एमालेको केन्द्रसहित ४ प्रदेशका सरकार ढले। कर्णालीमा माओवादी नेतृत्वको सरकार भए पनि कांग्रेसलाई सत्ता दिनुपर्यो। सुदूरपश्चिम र मधेस प्रदेशमा भने सरकार टिक्यो।
सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकारलाई दुबै पार्टी विभाजनले असर त गर्यो, ढलाउन सकेन।
बुधबार उनको पाँच वर्षे कार्यकाल सकिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्याकालमा प्रदेश सरकारले गरेका कामप्रगतिबारे भट्टले जानकारी गराएका थिए।
‘कार्यकालको पाँच वर्ष गुज्रियो, पाँच वर्षको यो दौरानलाई पहिलो अनुभवको रूपबाट हामीले लिएका छौं,’ उनले भने
उनले अभावका बीचमा आफूले काम गरेको बताए। मुख्यमन्त्रीको शपथ लिएर आउँदा सुरूमा बस्ने कार्यालय भवन बनेको थिएन।
सुरूका दिनमा कार्यालय र कर्मचारी व्यवस्थापनतर्फ लागेको उनले बताए।
‘पाँच वर्षको दौरानमा परिणाममूखी काम गर्यौं, भावी दिनका लागि खाका पनि तयार पारेका छौं, सुरूमा अभाव भोग्नुपर्यो बीचमा सिक्दै अगाडि बढ्नुपर्यो। मुख्य कुरा संघीयताको एउटा आधारशिला राख्न, देशमा राजनीतिक अस्थिरता थियो। तर प्रदेशमा हामीले स्थायी सरकार बनाउन सफल भयौं,’ उनले भने।
जनताका प्रश्न र अपेक्षालाई कति पूरा गर्न सफल भइयो भन्ने कुरा पछि मूल्याङ्कन हुने भट्टको भनाइ छ।
जनशक्ति आपूर्ति समयमा नहुनु, हिजोजस्तै सोच चिन्तन हुनु, समग्र विकासको लागि आफूलाई रूपान्तरण गर्नुपर्ने लगायतका कारण प्रदेशमा लागू गरेका सबै योजना पुरा नभएको भट्टको भनाइ छ।
समग्रमा संघीयताको जग बसाल्ने ठाउँमा जिम्मेवारी सम्हालेर विदा भएका भट्टले आफ्नो नेतृत्वको सरकारले गरेका कामप्रति नागरिकस्तरबाटै विरोध हुने गरी काम नगरेको बताए।
‘ठूला दलका नेताहरू बिस्तारै सम्पत्ति कमाउने, जनतालाई भुल्दै जाने गरेको देखिन्छ। म पदमा आउनुअघि जस्तो आएको थिएँ, त्यस्तै फर्किएको छु,’ उनले भने।
आगामी दिनमा पनि राजनीतिमै रहने उनको योजना छ।