आफूले रोजेको मन्त्रालय पाउनु पर्ने दाबी गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले आज शपथ नलिने भएका छन्।
बिहीबार दिउँसो १ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको शपथ ग्रहण लगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी थियो।
मुख्यमन्त्रीलाई शपथ गराउन बुधबार साझ नै प्रदेश प्रमुख अमिक शेरचन प्रदेश राजधानी राप्ती उपत्यका पुगिसकेका थिए। तर माओवादीका महराले शपथ ग्रहण नगर्ने अडान लिएका हुन्।
अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका उनले आफ्नो रोजाइको मन्त्रालय नपाएर शपथ नलिएको माओवादीका एक नेताले जानकारी दिए।
उनले शपथ नलिने भएपनि माओवादीकै अर्का एक नेतालाई पनि शपथ ग्रहण गराउने तयारी रहेको सांसद तुलाराम घर्तीले जानकारी दिएका छन् ।
माओवादीको बटम लाइनमा अर्थ र पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय छ। तर ती मन्त्रालय दिन नेकपा एमालेले आनाकानी गरिरहेको स्रोतले बतायो।
एमालेका भुमिश्वर ढकालले पनि आजै मन्त्रीको शपथ ग्रहण गर्दैछन्। एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि ढकालको शपथ रोकिएको एमालेका एक सांसदले बताए।
एमाले भित्र शहरी विकास मन्त्रालयमा आचार्य र ढकाल दुबैको दाबी रहेको स्रोतले बतायो।
महराले शपथ नलिएपछि एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले बिना विभागीय मन्त्रीको शपथ लिएका छन्। अहिले सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गिरी आफैले राखेका छन्।