लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा ४ जनाको मनोनयन दर्ता भएको छ।
सभामुख र उपसभामुखको लागि प्रदेशसभा सचिवालयले सोमबार साँझ ५ बजे सम्मको मनोनयन दर्ताको समय दिएको थियो।
सचिवालयले दिएको साँझ ५ बजेको समयमा सभामुख पदका लागि एक जना र उपसभामुखमा तीन जना गरी चार जनाको मनोनयन दर्ता भएको हो।
सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनयन दर्ता भए पनि उपसभामुखमा भने सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाणसँगै अन्य दुई जनाको पनि उम्मेदवार दर्ता भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखका लागि नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले पनि मनोनयन दर्ता गरेका छन्।
सत्ता गठबन्धनबाट मात्र सभामुखमा उम्मेदवारी दर्ता गरेका घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका आशिष चौधरी रहेका छन्।
उपसभामुखमा उम्मेदवारी दिएकी खाणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन्।
यसअघि सत्ता गठबन्धन दलको बैठकले लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेपछि सभामुखमा माओवादी केन्द्र र उपसभामुखमा राप्रपाबाट उम्मेदवारी दिने सहमति भएको थियो।
यसैगरी कांग्रेसबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेका पाठकको प्रस्तावकमा वसिरुद्दिन खाँ रहेका छन् भने राजु खनालले समर्थन गरेका छन्।
उन्मुक्ति पार्टीबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेकी निर्मला देवी थारुको प्रस्तावकमा नरमाया ढकाल छन् भने समर्थकमा धर्म बहादुर चौधरी रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।
सोमबार मनोनय दर्ता भएसँगै मंगलबार बस्ने बैठकले लुम्बिनी प्रदेशसभामा सभामुख र उपसभामुखको चयन गर्नेछ। मंगलबारको बैठक पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नेछन्।
कुल ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा १० वटा दलको प्रतिनिधित्व रहेको छ। सात दलका ५६ जना सांसद र स्वतन्त्रका दुई जना गरी ५८ जना सांसदको समर्थनमा सरकार गठन भएको हो।
नेपाली कांग्रेसका २७ र एक/एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन्।