नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन लडेको पहिलो पटकमा उनले जिते। र पहिलै पटकमा सभामुख बने।
देवराज घिमिरेलाई नजिकैबाट चिन्नेहरूका अनुसार उनको सबैभन्दा ठूलो योग्यता भनेकै पार्टीप्रतिको अटुट इमान्दारी हो। उनको कमजोरी पनि यही हो कि उनी एमाले अध्यक्ष केपी ओली र उनको इच्छाभन्दा दायाँबायाँ गर्ने सामर्थ्य राख्दैनन्।
पुराना र ओलीको विश्वास पात्र भएकै कारण ओली शक्तिमा आएपछि उनी रोजेकै जिम्मेवारी पाइरहेका छन्।
यसअघि उनी एमालेमै पनि लाइमलाइट भन्दा अलिक पर थिए। पार्टी निकट विभिन्न फाउन्डेसनमा काम गर्थे। पछिल्लो समय ओली प्रधानमन्त्री बन्दा उनको सचिवालयमा रहेर काम गर्न पाएका थिए। सौराहा महाधिवेशनपछि स्थायी कमिटीमा ठाउँ पाएका उनले यसपटक झापा २ मा टिकट पाए। जबकी ओलीकै अर्का विश्वासपात्र अग्नि खरेल त्यो क्षेत्रमा चुनाव लड्न चाहन्थे।
२०७४ की विजेता पवित्रा निरौला खरेल पनि टिकटको दौडमा थिइन्। खरेल आफैं पनि पार्टीकी पुराना नेता हुन्।
अन्तिममा झापा २ को टिकट घिमिरेले पाए। अग्नि झापा-१ तिर जान बाध्य भए। यता घिमिरेले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई हराएर जित हात पारे।
घिमिरे पार्टीका पुराना तर शक्तिका पदमा अवसर धेरै नपाएका नेताका रूपमा चिनिन्थे। बिहीबारदेखि भने उनको नयाँ पहिचान स्थापित भएको छ। प्रतिनिधिसभाको सभामुखका रूपमा उनको परीक्षा सुरू भएको छ।
‘ज्यादै पुरानो र इमान्दार कमरेडले जिम्मेवारी पाउँदा खुसी लागेको छ,’ भूमिगत कालदेखि नै एउटै कमिटीमा रहेर काम गरेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले सेतोपाटीसँग भनिन्, ‘यतिन्जेल उहाँले पार्टीप्रतिको इमान्दारीका लागि आफूलाई चिनाउनुभयो। अब नयाँ भूमिकामा पनि उहाँले आफूलाई सफल पार्नुहोस् भन्ने शुभेच्छा छ।’
नेता शाक्य र अरू थुप्रै सहयात्रीहरूले भने जस्तै पार्टीका पक्षमा निरन्तर लागिरहने र कुशल संगठकका रूपमा घिमिरेले बनाएको त्यो पहिचान अब उनले पाएको नयाँ भूमिकाले भने बिर्सन माग गर्छ।
खासगरी संसद्को प्रभावकारी सञ्चालनका लागि पर्याप्त समन्वय र लचकता उनका लागि जरूरी पर्छ। यही गुणको भने उनका अभाव रहेको उनलाई जान्नेहरू बताउँछन्।
जीवनका ६७ वर्षसम्म दुःख गरेर बनाएको त्यो छवि चटक्कै भुलेर संसद्को साझा नेता अर्थात सभामुखको भूमिका निर्वाह गर्ने काम उनका लागि चुनौतीपूर्ण हुने अनुमान उनका सहयात्रीहरूकै छ।
‘उहाँ छलछाम नजान्ने, इमान्दारीपूर्वक लागिरहने नेता हो’, झापामा उनलाई नजिकैबाट चिन्ने एमालेका एक नेताले भने ‘तर, पार्टीभन्दा दायाँबायाँ नसोच्ने, अझ अध्यक्ष केपी शर्मा ओलीको लाइनभन्दा वरपर गर्दै नगर्ने उहाँको स्वभाव छ। सभामुखका रूपमा उहाँको सबैभन्दा ठूलो चुनौती नै यही हो।’
अध्यक्ष ओलीले सभामुखको उम्मेदवार घिमिरेलाई बनाउने निर्णय लिनुको मुख्य कारण पनि यही भएको ती नेता बताउँछन्।
‘आफू अनुकूल व्यक्ति सभामुख र राष्ट्रपति बनाउँदाको फाइदा अध्यक्षले थाहा नपाउने कुरै भएन,’ ती नेताले थपे, ‘त्यसैले पृथ्वीसुब्बा गुरूङहरूलाई पन्छाउँदै घिमिरेलाई अवसर दिइएको हो।’
घिमिरेका सबल पक्षहरूका बारे सेतोपाटीसँग खुलेर कुरा गरेकी अष्टलक्ष्मी शाक्यले उनका दुर्बल पक्षबारे भने बताइनन्।
‘उहाँका दुर्बल पक्षहरू धेरै केही छैनन्,' उनले संकेत गरिन् ‘तर, हिजो पार्टी संगठनमा हुँदाको र सभामुख हुँदाको भूमिका फरक भइहाल्छ। अब उहाँले खुला भएर समन्वयकारी भूमिका गर्नुपर्छ। जिम्मेवारी आइपरेपछि गर्नुहोला भन्ने लाग्छ।’
शाक्य र घिमिरेको पार्टीमा सहकार्य २०४१ सालदेखि सुरु भएको थियो। त्यसबेला शाक्य काठमाडौंमै थिइन्। बच्चा पनि भएका कारण उनी पार्टी काममा उत्रिन असहज महसुस गरिरहेकी थिइन्। त्यहीबेला उनलाई झापाबाट देवराज घिमिरेले नै ‘तपाईंको बच्चाहरूको उचित व्यवस्थापनको जिम्मा हामी झापामा गर्छौं, पार्टी कामका लागि तपाईं यतै आउनुपर्छ’ भनेर बोलाएका थिए।
‘भूमिगत रूपमा सक्रिय हुनलाई मेरा बच्चाहरूको उचित बासस्थानसहितको व्यवस्थापन जरूरी थियो,’ एमाले नेतृ शाक्यले सेतोपाटीसँगको कुराकानीमा ती दिन सम्झिइन्, ‘देवराज कमरेडले नै मलाई सबै व्यवस्थापन मिलाइदिने कुरा गरेपछि बच्चाहरू लिएरै म झापा गएको थिएँ।’
त्यसबेलै मेची अञ्चलमा घिमिरे पार्टीका जिम्मेवार नेता थिए। शाक्य, अमृत बोहोरा लगायतका नेताहरूले झापा र मेची पहाडका जिल्लाहरूमा संगठन बिस्तारको काम गरेका थिए।
२०२८ को झापा विद्रोहलाई नेपाली वाम आन्दोलनको सबैभन्दा उथलपुथलकारी घटना मानिन्छ। यद्यपि उक्त विद्रोहताका स्कुल पढिरहेका घिमिरे प्रत्यक्ष संलग्न रहेनन्। त्यो विद्रोह पछि अपिल प्रसारणको लाइनबाट कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका उनी २०३२ मा कोअर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आवद्ध भएका थिए।
त्यसबेलाको उग्र वाम शक्तिको विद्यार्थी नेता बनेपछि घिमिरेले ‘बुर्जुवा शिक्षा’ बहिष्कार अभियानको नेतृत्व गरेका थिए। अरूलाई बुर्जुवा शिक्षा बहिष्कार गर्न गाउँ-गाउँ चहारिरहँदा उनले भने २०२९ मा ताप्लेजुङबाट एसएलसी र धरानबाट प्रमाणपत्र तहको पढाइ पूरा गरिसकेका थिए। पछि त्रिचन्द्र कलेजमा स्नातक पढ्दापढ्दै उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए।
विद्यार्थी संगठनमा तेजिलो नेता बनेपछि उनले २०३५ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता पाएका थिए। त्यसपछि उनी मेची र कोशीका पहाडी जिल्लाहरूमा पार्टी संगठन बिस्तारमा खटिएको उनलाई चिन्नेहरू बताउँछन्। नेकपा माले बनेपछि उनले पाँचथर, तेह्रथुम, इलाम लगायतका जिल्लामा संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमाले नेताहरू बताउँछन्।
तत्कालीन मालेले २०३९ सालमा घिमिरेलाई इलाम जिल्लामा पार्टी प्रमुख बनाएको थियो। २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भई नेकपा एमाले बनेपछि २०४९ भएको एमालेको पाँचौ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए। पार्टीमा लामो योगदान गरे पनि उनी संसदीय र कार्यकारी अन्तर्गतका जिम्मेवारीबाट भने विमुख नै जस्तो रहे।
त्यसबेला पार्टी नेतृत्वमा रहेका माधवकुमार नेपाल र उनको टिमले घिमिरेलाई किनारामा पारेको अहिलेका एमाले नेताहरू बताउँछन्। २०५६ राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्। उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।
ताप्लेजुङमा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन्। ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ। उनका बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत रिटार्यड शिक्षिका हुन्। घिमिरे २०५३ सालमा महाकाली सन्धी पारित गर्ने नगर्ने विषयमा नेकपा एमालेमा मतदानका बेला चर्चामा आएका थिए। त्यतिबेला घिमिरेले वैकल्पिक केन्द्रीय सदस्य भए पनि मतदानमा भाग लिएर सन्धिको पक्षमा मत दिएका थिए।
ओलीका इमान्दार सहयोगी घिमिरेले अब उनले भनेअनुसार सदनलाई चलाएर आफ्नो भूमिका विवादित बनाउँछन् कि सार्वजनिक रूपमा अभिव्यक्ति दिएझैं निष्पक्ष हुन्छन्?
‘अहिलेसम्मको ट्रयाक रेकर्ड हेर्दा उहाँले एमाले र ओलीको सोचभन्दा टाढा जाने अनुमान नगरौं,’ उनीसँगै लामो समय सहकार्य गरेका झापा एमालेका एक नेताले भने, ‘उहाँलाई जुन लक्ष्यका लागि एमाले र अध्यक्षले अघि सारेको हो, त्यसमा उहाँ प्रतिबद्ध रहने निश्चित छ।’