सिके राउत जनमत पार्टीका अध्यक्ष हुन्। कुनै समय मधेसलाई छुट्टै देश बनाउने अभियान चलाएका राउत यतिबेला त्यो अभियान छाडेर मूलधारको राजनीतिमा छन्। उनको पार्टी सरकारमा समेत सामेल छ। तर सत्ता भागबण्डामा पाएको खानेपानी मन्त्रालय अस्वीकार गर्दै जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गर्दै आएको छ।
के दाबी गरेको मन्त्रालय नपाए सिके राउतको पार्टी सरकारबाट बाहिरिन्छ? राउत आफैं किन मन्त्री भएनन्? किन उनी मुख्य दलहरूले मधेस केन्द्रित दलहरूलाई पेल्न थालेको महसुस गर्छन्? पहिलोपटक निर्वाचनमार्फत् संसदमा आइपुगेका राउतले सत्ताको ‘पहिलो क्लास’मा के देखे? हेर्नुस्, सेतोपाटीका मनोज सत्यालले गरेको कुराकानी -
प्रश्न: तपाईंले सभामुख चयनको दिन संसदको रोष्टममा उभिएर मौन धारण गर्नुभयो। सहिदलाई सम्झिएर मौन धारण गर्नु जायज नै थियो। तर सँगसँगै परीक्षा पनि लिनुभयो हैन अन्य दलहरूको? यो तपाईंको पूर्वयोजना थियो कि के थियो?
निर्धारित थिएन। त्यो दिन पार्टीको सचेतकले बोल्ने कार्यक्रम थियो। पछि उहाँले मलाई नै बोल्न आग्रह गर्नुभयो। त्यसमा कुनै सुनियोजित थिएन। माघ ५ गते विशेष दिन थियो। मधेस बलिदानी दिवस। मलाई कता कता लाग्यो देशले घोषणा गरेका सहिद हुन्। तिनीहरूलाई मधेसी सहिद किन भन्ने! त्यो मधेस आन्दोलन भएता पनि त्यसको जगमा नै यो संविधानमा धेरै कुरा आएको छ, संस्थागत आएको छ। गणतन्त्रदेखि संघीयतासम्म, समावेशीता र समानुपातिक सहभागिता सबै मधेस आन्दोलनको जगबाट संविधानमा संस्थागत भएकाले त्यो सहिदहरूलाई पनि राष्ट्रव्यापी मनाउनुपर्छ भनेर एकाएक विचार आएपछि मैले मौन धारणका लागि आग्रह गरेको हुँ।
प्रश्न: को-को उभिए, को-को उभिएनन् याद गर्नुभयो?
त्यो एक हिसाबले परीक्षा हुन पुग्यो। किनकि यो देशको सहिदलाई सबैले सम्मान दिनुपर्ने हो। तर त्यहाँ दुर्भाग्यपूर्ण के देखियो भने राज्यद्वारा नै घोषित सहिदलाई सम्मान व्यक्त गर्न सकिएन। त्यहाँ स्पष्ट रूपमा के देखियो भने यो सहिद तिम्रो समुदायको हो है। तिम्रो समुदायको सहिदमा म सम्मान प्रकट गर्दिनँ भन्ने आशय देखियो। बडो ठूलो महत्व राख्छ। दुराशाय कतिपयबाट देखियो। रोष्टमबाट त मैले को उठे, उठेन याद गरिनँ। तर त्यो भिडिओमा पछि देखियो।
प्रश्न: कतिपय त अलमलमा पर्नुभएको थियो। संसद त सभामुखले चलाउने हो। तपाईंले रोष्टममा बसेर रूलिङ गरेको जस्तो देखिन्थ्यो नि त!
रूलिङ त गरेको होइन। यो त सम्मान प्रकट गर्ने, धन्यवाद दिने हुन्छ। त्यस अन्तर्गत नै यो हो।
प्रश्न: तपाईंले संसदको रोष्टमबाट र ट्विटरबाट मधेस केन्द्रित दलहरू जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई मुख्य राजनीतिक दलहरूले पेल्न खोजेको भन्ने टिप्पणी गर्नुभयो। त्यो फिलिङ के कुराले उत्पन्न भयो?
धेरैलाई लागेको होला कि मन्त्रालयको बाँडफाँट मिलेन त्यसैले यस्तो भएको होला। त्यो होइन। त्योभन्दा अघिल्लो मेरो ट्विट हेर्नुहोला। म धेरै ट्विट गर्दिनँ। समाचार सेयर मेरो सहयोगीले गर्नुहुन्छ। अघिल्लो ट्विटमा मैले लेखेको थिएँ - ‘सत्ताको पहिलो क्लास।’
त्यो किन लेखेको भने- बालुवाटार जानुपर्नेमा बालकोट बोलाइदिँदाखेरी बैठकमा गएपछि जुन मानसिकता र मनोवृत्ति मैले देखेँ। एकाएक राजनीतिक ज्ञान र वैराज्ञ पाएजस्तो भएको थियो।
प्रश्न: के थियो त्यो सत्ताको पहिलो क्लासमा? के माहौल तपाईंले देख्नुभयो?
त्यहाँ तीन वटा कुराले झस्काएको थियो मलाई। एउटा कुरा जसलाई म क्रान्तिको नायक मान्छु। प्रेरणाको स्रोत मान्छु। हुन पनि हो। परिवर्तनको मुख्य नेतालाई त्यहाँ जसरी परिबन्दमा परेको देखियो। बन्धक बनाएकोजस्तो देखियो। म टुलुटुलु हेरिराखेको जस्तो देखेँ। (प्रचण्डलाई) हेरिराखेँ। म केही बोलिनँ। त्यस्तो व्यक्तित्व त्यहाँ बन्धकमा परेको जस्तो देखियो।
दोस्रो के देखियो भने जसबाट लाखौं लाख, दसौं लाख मानिसले आशा गरेका थिए, मैले पनि कता न कता आशाको किरणको रूपमा देखेको थिएँ। परिवर्तन होला कि नयाँ पात्रबाट अपेक्षा गर्थें। तिनीहरूको व्यवहार हेर्दा दोस्रो सरप्राइज मेरा लागि थियो।
तेस्रो त्यहाँ बस्नेबित्तिकै यस्तो लाग्यो कि मधेसी आदिवासीहरूले अझै पनि सय, डेढ सय वर्ष अधिकार पाउँदैनन् होला। त्यही दिन मलाई आभाष भयो। त्यति शीर्ष नेताहरूको बीचमा बसेको मेरो त्यो पहिलो बैठक थियो। एक्लाएक्लै बसेको थिएँ। तर एकै ठाउँमा बसेको पहिलो घटना थियो। त्यो ठाउँमा जुन किसिमको मानसिकता देखियो। मलाई त्यतिबेलै आभाष भयो कि यो देशमा आदिवासी, जनजाति, थारूहरूले अधिकार पाउन अझै डेढ सय वर्ष लाग्छ। यस्तै मनोवृत्ति रहिराख्यो भने। त्यो ट्विट मैले त्यतिबेला गरेको थिएँ।
त्यहीँबाट क्रमबद्ध रूपमा त्यो देखिँदै आएको छ भित्र, विभिन्न बैठकहरूमा। विभिन्न पुनर्गठन गर्दाखेरी, विभिन्न संयन्त्र बनाउँदा, विभिन्न बाँडफाँटमा त्यो अनुभूति गरें मैले।
प्रश्न: तपाईं फेरि त्यही दलहरूसँग पनि सत्ता साझेदारी पनि गर्दै हुनुहुन्छ!
छोडर आयो भने त भागेको भयो नि। फाइट गर्न त टिक्नु पर्यो नि त्यहाँ। टिकेको मात्र हो। जनताका लागि फाइट त गर्नुपर्यो। मन्त्रालयको बाँडफाँटमा म उपस्थित थिइनँ। जनतासँग भिज्न जनकपुर गएको थिएँ। अनुपस्थित भएपछि देखिहाल्नुभयो के भयो! अनुपस्थित भयो भने त उनीहरूले झन् देशको सोह्रै आना बाँडेर खाइदिन्छन्। त्यो भएर आफू भयो भने जनताका लागि संघर्ष गरेर केही ल्याउन सकिन्छ कि!, सीमान्तकृत वर्गका लागि केही गरेर ल्याउन सकिन्छ कि! भनेर विश्वासको साथै हामी त्यहाँ छौं।
प्रश्न: तपाईंको पार्टीबाट अब्दुल खान मन्त्री बन्नु भएको छ। तर उहाँ सिंहदरबार जानु भएको छैन। उहाँ खानेपानी मन्त्री हुनुहुन्छ भनेर राष्ट्रपतिमार्फत् संसदलाई जानकारी भइसक्यो। तर किन जानु भएको छैन मन्त्रालय?
हामी सरकारमा गाडी चढ्नका लागि र पद लिनका लागि मात्र जान चाहेका हैनौं। त्यो भैदिएको भए हामी मज्जाले गएर सरकारको कुर्सीमा बस्थ्यौं। तर हामी किन सरकारमा जान खोजेका हौं भने- केही काम गर्नुपर्यो भनेर हो। जनताले हामीलाई जिताएर पठाएका छन्। केही अपेक्षा छन् जनताको। हामीले जनतासँग के नारा दिएका थियौं - रोजगारी सृजना गर्छौं। किसान आन्दोलन हामीले गर्यौं। मलखाद समयमा आपूर्ति गर्छौं। यसलाई सम्बोधन कुन मन्त्रालयले गर्न सक्छ भन्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले।
आपूर्ति मन्त्रालय पायो भने हामी मलखाद समयमा उपलब्ध गराउने प्रयास गर्न सक्छौं। मल कारखाना नै खोल्नुपर्यो भने त्यही मन्त्रालय हो। र अन्य कलकारखाना खोलेर हुन्छ कि बन्द कलकारखानालाई सञ्चालन गरेर हुन्छ, रोजगारी सृजना गर्ने त्यही मन्त्रालय हो। त्यही भएर हाम्रो जुन भिजन छ, जनतासँग गरेको जुन वाचा छ, त्यो मन्त्रालयबाट परिपूर्ति हुन सक्छ। त्यसका लागि हामीले होमवर्क पनि गरेका छौं।
सुरूआतमै हामीसँग त्यही वाचा गरेरै यो मन्त्रालय छुट्याएको हो भनेर हामीले मन्त्रालयमा त्यो नाम सिफारिस गरेका थियौं। तर एकाएक शपथग्रहण गरिने बेलामा जिम्मेवारी पछि तोकिने भनियो। हामीले त्यतिबेलै भनेका थियौं- कुरा भएको थियो उद्योग वाणिज्य मन्त्रालयको। त्यही भएर अहिलेसम्म उपयुक्त जिम्मेवारी नभएकाले हामी पुनर्विचार गर्दैछौं। त्यसैले हामी मन्त्रालयमा उपस्थित नभएका हौं।
प्रश्न: तपाईंहरूले प्रधानमन्त्रीसँग जिम्मेवारी हेरफेर गर्ने सवालमा कुरा गर्नुभएको छ?
हामी कुराकानी गर्दछौं। तर दुर्भाग्य के भयो भने अरू सबै मन्त्रालय बाँडफाँट गरेर सबैले लिइसकेका छन्। बाँकी रहेको मन्त्रालय भनेको वन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय हो। यसमा कति घटनाक्रम विकास हुनसक्छ भन्ने बेग्लै कुरा हो। हामी अझै एक दुई दिन संवादको क्रममा छौं।
प्रश्न: संवादमा कुरा मिलेन अथवा भनेको मन्त्रालय मिलेन भने सरकार छाड्न पनि सक्नुहुन्छ?
त्यो पनि एउटा विकल्प रहनसक्छ। हामी सरकारबिना बाँच्नै नसक्ने होइन। हामी दस वर्षदेखि फिल्डमै थियौं। सकेसम्म जनताका लागि केही गर्न सकौं भनेर अझै पनि प्रयत्नशील छौँ।
प्रश्न: सत्ता साझेदार दलबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्नुभयो। रवि लामिछाने गृहसँगै उपप्रधान मन्त्री बन्नुभयो। अरू पनि छन् उपप्रधानमन्त्री। तपाईं आफैं जानु भएको भए उपप्रधानसहित तपाईंले रोजेको मन्त्रालय पाउनु हुन्थ्यो होला नि!
मेरो अभिरूची आफैं सरकारमा जानुभन्दा पनि नयाँ पार्टीको संगठन विस्तार गर्नेमा छ। संगठनमा धेरै जिम्मेवारी छन्। जाने/नजाने होइन। देशका लागि मेरो खाँचो नै भयो भने जाने नि किन नजाने। तर सकेसम्म जति सकिन्छ पहिला अरूलाई पठाऊँ। अरूबाट हुन सक्छ भने किन आफैं जाने! आफू अहिले संगठनको कुरामा संलग्न हुन चाहन्छु।
प्रश्न: त्यो मात्रै हो कि सरकारमा गएर फेरि असफल भइएला, काम गर्न नसकिएला र आफूलाई व्यक्तिगत हानी हुन्छ भन्ने सोच्नुभएको हो?
त्यो डर भएको भए हामी राजनीतिमै आउँदैन थियौं। राजनीतिमा आउनु भनेकै गाली सुन्नु हो। डर भएको भए राजनीतिमा आए पनि संसदमा आउँदैन थियौं। संसदमा आएपछि बदनाम त एक हिसाबले भैसक्यो नि। ‘तपाईंलाई जिताएर पठायौं। तर खै त खाद पाएको’ भनेर भन्न थालिसके हामीलाई। बदनाम त संसदमा आउनेबित्तिकै भइहाल्छ। त्यो कारणले सरकारमा नगएको होइन। झन् सरकारमा गएको भए केही न केही अलिक बढी नै गर्न सकिन्थ्यो।
प्रश्न: तपाईंले ‘म त सांसद बन्न पनि योग्य व्यक्ति होइन। कहाँ मन्त्री बन्नु’ भन्नुभएको थियो। किन?
त्यो सही हो। नेपालको परिप्रेक्ष्यमा यहाँ काम गर्नलाई आदर्शवादी चिन्तन भएका व्यक्तिहरूलाई गाह्रो छ हेर्नुस्। म एकदमै पारदर्शी मान्छे छु। अझ कताकता आदर्शवादी चिन्तन बोकेको मान्छे छु। त्यही भएर मलाई काम गर्न अलिक अप्ठ्यारो हुन्छ। सकेसम्म अरूलाई मन्त्रीमा पठाऊँ, अरू मान्छेले काम गरून् भन्ने एउटा चाहना हो।
अब संसदमा जनप्रतिनिधि बनें। जनतालाई डेलिभरी गर्न सकिएन भने यो पनि गाह्रो कुरा हुन्छ। मेरो व्यक्तिगत कुरा भन्ने हो भने म त सबै कुरा छाडेर जान सक्थेँ। तर त्यो जिम्मेवारीका कारणले बहन गर्दैछु।
प्रश्न: निर्वाचनलगत्तै तपाईंले काठमाडौं आएर धेरै मान्छे भेट्नुभयो। तपाईंले कांग्रेससँग पनि कुरा गर्नुभयो। तर अन्तिममा एमाले र माओवादीसँगै सत्ता साझेदारीमा सहभागी हुनुभयो। तपाईंले एकपटक सत्तामा बसौं र काम गरौं भन्ने हेतुले हो कि कांग्रेससँग भन्दा एमाले र माओवादीसँग सजिलो हुन्छ भन्ने लागेर हो?
भेटघाट शिष्टाचारका लागि गरिएको हो। हामी पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गर्दै थियौं। अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट हुन सकेको थिएन, त्यो कमीलाई पूरा गरेँ। अर्को अग्रजप्रति सम्मान र परिचय पनि होस् भनेर पनि हो।
हामी सुरूआतदेखि नै दुवै पक्षसँग संवादमा थियौं। हाम्रा लागि यो वा त्यो भन्ने कुरा थिएन। जसले उपयुक्त वातावरण बनाउथ्यो त्यही पक्षमा थियौं। कांग्रेसले बनाए त्यतातिर पनि हुनसक्थ्यौं। अरूले बनाए पनि त्यतै। नेपालको राजनीतिमा धेरै ठूलो सैद्धान्तिक भिन्नता छैन। यहाँ प्राविधिक गठबन्धन मात्र हुने गरेको छ। त्यही भएर हामीले ठूलो मुद्दा बनाएनौं। त्यसैले गठबन्धन नै फेरिँदा पनि हामीलाई केही फरक परेन। माथि को कताबाट कता सर्यो त्यसले हामीलाई फरक परेन। जसको सरकार बनेको भए पनि हामी यसपालि उपस्थित रहौं। केही सिकौं। जनताका लागि केही काम गरौं भन्ने सोच थियो।
प्रश्न: सरकारमा गएकोमा पछुतो लागेको त छैन अहिले?
पछुतो त किन लाग्नु र! उतारचढाव भैराख्छन्। केही कुरा सिक्ने हो। धेरै कुरा सिक्यौं नि त। कति भरोसा गर्न सकिन्छ। कहाँ धोका हुनसक्छ भन्ने सिक्ने कुरा हुन्। त्यो हामी सिक्दैछौं।
प्रश्न: सत्ता साझेदार गठबन्धनको बैठकमा तपाईं सहभागी हुनुहुन्छ। यो गठबन्धन बनेदेखि नै संशय छ। यो टिक्छ कि टिक्दैन भन्ने। तपाईंले देख्दाखेरी यो सत्ता गठबन्धन कतिको दीगो देख्नुहुन्छ?
म धेरै दीगो देख्दिनँ। धेरै लामो समयसम्म चल्ला भन्ने देख्दिनँ। यो गठबन्धन पदीय बाँडफाँटका लागि गरिएको हो। एजेण्डाका लागि गरिएको होइन। त्यो पदीय बाँडफाँट टुंगिएपछि त्यो गठबन्धनको औचित्य पनि सकिने हुनाले गठबन्धन फेरिराख्छ।
प्रश्न: अहिलेको सत्ता गठबन्धनमा राष्ट्रपति, सभामुख लगायतका पद बाँडफाँट हुँदा तपाईं ती बैठकमा सहभागी हुनुहुन्थ्यो। ती विषय सहमतिमा टुंगिए कि टुंगिन बाँकी छन्?
म बैठकमा थिएँ। त्यहाँ राष्ट्रिय सहमतिको कुरा उठाउन खोजियो। मैले भनें- यसलाई राष्ट्रिय सहमतिको नाम नदिऊँ। यो साधारण रूपमा पदीय बाँडफाँट हो। कुन पार्टीले कुन पद पाउने भन्ने मात्र हो। कुनै गरिबी निवारणका लागि जनताको कुनै समस्या समाधानका लागि यो राष्ट्रिय सहमतिका लागि होइन।
त्यहाँ राष्ट्रपति र सभामुख लगायतका विषयमा राष्ट्रिय सहमतिद्वारा समाधान खोज्ने भनियो। त्यो भनेको भागबण्डामा एउटा तपाईंले राख्नुस् अर्को तपाईंले राख्नुस् भनेर सहमति खोज्ने प्रयास हो।
प्रश्न: अहिलेको सत्ता साझेदार गठबन्धनबाट राष्ट्रपति पाउने देखिन्छ कि कांग्रेसले राष्ट्रपति पाउने जस्तो देखिन्छ?
म ठ्याक्कै भन्न सक्दिनँ। अनुमान मात्र हो। अहिले सभामुख एमालेले पाएको अवस्थामा एमाले इतरले राष्ट्रपति पाउने सम्भावना छ।
प्रश्न: बैठकमा एमाले र माओवादीबीच संशय झल्कन्छ?
झल्किन्छ। त्यो बैठकको आशय नै एउटा एउटा बाँडफाँट गरौं भन्ने थियो।
प्रश्न: यस हिसाबले त अहिलेको सत्ता साझेदार दलहरूको गठबन्धन राष्ट्रपति चुनावमा पुग्दा त टुट्न पनि सक्छ?
गठबन्धन त यहाँ एक घण्टामै कताबाट कता पुग्छ थाहा हुँदैन। किनभने यो पदीय बाँडफाँटका लागि मात्रै गठबन्धन छ। हरेक पद अनुसार गठबन्धन भन्दा पनि भयो।
प्रश्न: प्रतिनिधि सभाको पहिलो बैठकमा तपाईंले ‘आफ्नो नाम लिन निषेध गरिएको बैठकमा सहभागी हुँदा नौलो लागेको भन्नुभयो। तपाईंलाई कहिल्यै यो संसदमा चुनिएर आउँला, त्यहाँ पुगेर बोलौंला भन्ने थियो?
मैले सोचेको थिइनँ। यहाँसम्म कि पार्टी खोल्दा पनि त्यो सोचेको थिइनँ। म आफैं संसदमा नउठ्ने भनेरै पार्टीको नेतृत्व लिएको थिएँ। तर परिस्थिति कस्तो भयो भने मैले संन्यास लिएँ भने पार्टीमा नराम्रो प्रभाव पर्ने जस्तो देखियो। मैले पार्टी र राजनीतिबाट हट्दा यो पार्टी कहिल्यै पनि उदाउन सक्दैन, जनतालाई दस वर्ष देखाएको आशा के हुने भन्ने भयो। त्यसपछि म आफैं उठ्नु परेको हो। पछि त्यो सावित भयो। जित्न लाग्दा देश विदेशका मान्छेले एकटकले हेरिराखेका थिए। त्यसपछि ठिकै गरेछु भन्ने लाग्यो।
प्रश्न: राष्ट्रिय पार्टी बन्छ। ६ जना सांसद हुन्छन् भन्ने लागेको थियो?
राष्ट्रिय पार्टी बन्छ र १० वटा सांसद हुन्छन् भन्ने आकलन गरेका थियौं। नयाँ पार्टीलाई साधन स्रोत हुँदैन। पुराना पार्टीको पक्षमा सत्ताको दुरूपयोग हुन्छ, पैसा चलखेल हुन्छ। निर्वाचनमा थाहै छ। त्यसकारण हामीले त्यो लक्ष्य हासिल गर्न सकेनौं।
प्रश्न: जनमत पार्टीलाई किन यसपटक जनताले रोजे होला भन्ने लाग्छ?
जनमत पार्टीलाई रोज्नुको प्रमुख कारण यो पार्टी जनताको बीचमा दस वर्षदेखि थियो। म आफैं पनि काठमाडौं बसिनँ। सधैं जनताको बीचमा बसिराखेँ। त्यो एउटा प्रमुख कारण थियो। हामी जनतामा भिज्दै आएका छौं। उनीहरूको समस्या उठाउँदै आएका छौं। उनीहरूको पक्षमा बोल्दै आएका छौं।
अर्को, हामीले विगत दस वर्षमा जुन संघर्ष गर्यौं। पटक पटक प्रहरीले पक्राउ गर्यो। दमन गर्यो। त्यो जनताले हेरिराखेका थिए। एउटा सहानुभूतिका रूपमा जनताले हाम्रा लागि यति संघर्ष गर्न सक्छ। जबकी संघर्ष गर्दा पार्टीको कुरा थिएन। पदको कुरा थिएन। हाम्रा लागि ज्यान दिन तयार छ भन्ने भाष्यले पनि भूमिका खेल्यो।
तेस्रो, पुराना पार्टीहरूले केही गरेनन् भनेर नयाँलाई मौका दिऊँ भनेर पनि हो।
प्रश्न: तपाईं जनमत पार्टी सुरू हुनुभन्दा अगाडि २००६ देखि संलग्न भएर मधेसमा एउटा छुट्टै देश बनाउन सकिन्छ भनेर लाग्नुभयो। तपाईंको त्यो आन्दोलन भलै शान्तिपूर्ण थियो। झन्डै १० वर्षको समय शान्तिपूर्ण रूपमा गर्नुभयो। तर त्यो एकएक कसरी छोड्नुभयो? खासमा त्यतिबेला के भएको थियो?
त्यो चटक्क छोडेको कसरी भयो? सन् २००६ र २०१७ जतिबेला सम्झौता भएको थियो त्यो बेलाको नेपाल कल्पना गर्नुस्। धेरै फरक छ नि त।
सन् २००६ को समयमा अझ २००५ मा नेपालमा राजतन्त्र हाबी भएको र शासनसत्ता एकलौटी हातमा लिएको व्यवस्था थियो। तर २०१७ सम्म आइपुग्दा नेपालमा नयाँ संविधान जारी भएको छ। गणतन्त्र स्थापना भएको छ। संघीयता स्थापना भएको छ। समानुपातिक समावेशीता छ। यहाँसम्म कि अहिले मधेस प्रदेश नै बनिसकेको अवस्था छ। जहाँ मधेसको नामै सुन्न रूचाउँदैनथे त्यहाँ मधेस प्रदेश बनेको अवस्था छ। मधेसमा अब प्रहरी भर्ना हुन्छ। जुन स्वतन्त्रता माग्दा पनि हामीले के भनेको थियौं त! यति हो हामीले हाम्रो मान्छे कर्मचारीमा हुनुपर्छ, प्रहरीमा हुनुपर्छ यति माग त राखेको हो नि। हाम्रो भाषामा पढाइ हुनुपर्छ। हाम्रो नामको प्रदेश हुनपर्छ। त्यो सबै त अहिले भयो नि त। त्यही भएर त्यो कुरामा आकाश पातलको फरक छ। यो एकाएक बन्द भएको होइन। देशको परिस्थिति नै बदलिएपछि माग पनि परिवर्तन भएको हो।
प्रश्न: तपाईंलाई यो लोकतान्त्रिक व्यवस्थाबाट यो सबै कुरा हुँदो रैछ भन्ने चाहिँ लाग्यो हैन?
यो सबै लोकतान्त्रिक व्यवस्थाबाट मात्र भएको होइन। यो भ्रममा नबसौं। लोकतान्त्रिक व्यवस्थाबाट भएको भए त निर्वाचनबाट हुन्थ्यो नि त! त्यसो हुँदा ठूलो आन्दोलन गर्नुपर्यो। २०६२ सालमा आन्दोलन भयो। ०६३-६४ मा आन्दोलन भयो। सयौं मान्छे मारिए। त्यसपछि ०७२ सालमा पनि अर्को आन्दोलन भयो मधेसमा। त्यही भएर यो लोकतान्त्रिक प्रक्रियाबाट भएको होइन, सडक संघर्षले ठूलो भूमिका खेलेको छ।
प्रश्न: एउटा छुट्टै देश बन्नसक्छ नि भन्नेबाट लोकतान्त्रिक व्यवस्थामा आउँदा तपाईंहरूलाई सबैले स्वीकार्ने अवस्था त बन्यो नि?
त्यो चाहिँ बन्यो।
प्रश्न: भनेपछि तपाईंलाई लोकतान्त्रिक व्यवस्थाबाट परिवर्तन हुन्छ भन्ने चाहिँ लाग्यो?
हामीले स्वतन्त्र मधेसको गठबन्धन चलाउँदा पनि हामी लोकतान्त्रिक व्यवस्था जहिल्यै पनि मान्थ्यौं। हामीले कहिल्यै पनि देश चाहिँ तुरून्तै स्वतन्त्र हुनुपर्छ भनेर भनेनौं। जनमत संग्रह हुनुपर्छ र जनतालाई सोध्नुपर्छ के चाहिन्छ भनेर भन्थ्यौं। त्यही भएर हामी जहिल्यै पनि लोकतान्त्रिक व्यवस्थामा आस्था राख्थ्यौं।
प्रश्न: अब तपाईं संसदमा आइसक्नुभयो। जनमत पार्टी राष्ट्रिय दल भएको हिसाबले तपाईं धर्मनिरपेक्षताबारे के सोच्नुहुन्छ?
अहिले हाम्रो पार्टीले ठोस धारणा बनाएको अवस्था छैन। कुनै हार्डलाइन नभएको हुनाले अहिलेलाई संविधानमा जे छ त्यो मान्छौं।
प्रश्न: संविधानमा त धर्मनिरपेक्षता भन्ने छ तर यसमा तपाईंको व्यक्तिगत धारणा केही छ?
व्यक्तिगत धारणा मेरो केही छैन। म सबै धर्मलाई सम्मान गर्ने मान्छे हुँ। मलाई धर्म भनेको व्यक्तिको निजी मामिला हो भन्ने लाग्छ। त्यसमा कुनै वादविवाद नै छैन।
प्रश्न: मधेसमा धेरै जातीय समीकरणहरू छन्। जसले निर्वाचनको मतमा पनि फरक पार्ने भएकाले तपाईंहरूलाई धर्मबारे बोल्न, टिप्पणी गर्न अलिक गाह्रो हुन्छ हो?
त्यस्तो हैन। म त धर्मलाई राजनीतिसँग मिसाउने नै होइन भन्छु। तर दुर्भाग्य भनौं दक्षिण एसियामा मिसाउने गरिन्छ। अहिले मधेसको समस्या चाहिँ कुनै धर्मलाई केही गरिदिँदा समाधान हुने होइन। मधेसको समस्या भनेको बेरोजगारी, स्वास्थ्य सेवा, शिक्षामा पहुँच नहुनु हो। त्यो समस्याहरूलाई समाधान गर्नुपर्छ। धर्म भनेको ठूलो समस्या होइन मधेसका लागि।
प्रश्न: तर निर्वाचनहरूमा जातीय कार्डको प्रयोग त हुन्छ फेरि?
त्यो दुर्भाग्य हो। नेताहरूले गरिदिन्छन्। राजनीतिक पार्टीहरूले गरिदिन्छन्। आफ्नो स्वार्थ पूर्ति गर्नलाई गर्छन्। तर त्यो गर्नुहुँदैन।
प्रश्न: संघीयताबारे चाहिँ तपाईंको धारणा के हो? यसबाट विकास र समृद्धि हुन सक्छ कि सक्दैन? तपाईंको पार्टीको धारणा के हो?
संघीयताबारे धेरै शंका/उपशंका हुन्छ भनेरै मेरो पहिलो भाषणमै प्रतिबद्धता व्यक्त गरेको थिएँ। संघीयता यो देशलाई आवश्यक छ। ठूलो संघर्ष गरेपश्चात हामीले संघीयता पाएका छौं भलै त्यो अलिकति कुरूप छ। सीमांकनको मामिलामा होस् कि अधिकार बाँडफाँटको मामिलामा होस् अलिकति विकालंक छ। त्यही भएर त्यसलाई चाहिँ सच्याउनुपर्छ। तर संघीयता आवश्यक छ।
प्रश्न: तपाईं मधेसमा एउटा छुट्टै देश निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट आउनु भएको मान्छे। तपाईं चाहिँ अलिक कठोर हुनुहोला भन्ने धेरैले ठान्छन्। तर तपाईं त सरल देखिनुहुन्छ। कुनै ध्यानहरू गर्नुभएको थियो? कसरी यस्तो हुनुभयो?
म नरम स्वभावकै मान्छे हो बाहिरबाट।
तर, आन्तरिक विचारको हकमा विद्रोह नभएको भने होइन। त्यही भएर रेडिकल विचारसम्म जानसक्छु। त्यो राजनीतिकमात्र होइन, अरू क्षेत्रमा पनि। आउट अफ बक्स सोच्न सक्ने, वियोन्ड द वाल जानसक्ने खालको मान्छे हो म। त्यसका लागि अलिकति विद्रोही चेतले काम गरेको छ। बच्चा बेलादेखि विभिन्न स्रोतहरूसँग जोडिएँ। जस्तै विभिन्न धर्मको ग्रन्थहरूसँग जोडिएपछि त्यसले मलाई चाहिँ सबै धर्महरूलाई सम्मानको भावले हेर्न मद्दत गर्छ। ओसोको साहित्यसँग धेरै अगाडि नै लगाव भयो जसले विद्रोही चेत र गहन विचार विकसित गर्यो।
पछिल्लो समयमा पनि क्याम्ब्रिज विश्वविद्यालयले गएपछि आत्मविश्वास पनि बढ्यो र हरेक कुरालाई प्रश्न गर्नसक्ने चेत बढ्यो। किनभने त्यहाँ मेरो सुपरभाइजरले कुनै पनि कुराको टुंगो हुँदैन, सबै कुरामाथि प्रश्न गर्न सकिन्छ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो। त्यो पृष्ठभूमिबाट आएको हुनाले त्यस्तो खालको चरित्र निर्माण भएको हो कि जस्तो लाग्छ। त्यही भएर विचारमा विद्रोहीपन छ, व्यवहारमा त्यो कठोरता देखिँदैन।
प्रश्न: तपाईंको प्रश्न गर्ने चेत त खासमा प्रतिपक्षलाई सुहाउने रैछ नि संसदमा!
त्यो देखिन्छ। मेरो राजनीतिक पृष्ठभूमिमा पनि त्यही कुरा लागू गर्या हो। त्यही हिसाबले नै सरकार र अरू नेताहरूलाई प्रश्न गर्दै आएको हो।
प्रश्न: मधेसमा 'लम्बे रेसको घोडा' भनेर भनिन्छ नि! यो जनमत पार्टी चाहिँ कतिसम्म जान्छ भन्ने लाग्छ तपाईंलाई? यसलाई देशव्यापी बनाउनुहुन्छ?
हेर्नुस् यो पार्टी दस/ एघार वर्ष त संघर्ष गरेर आएको हो। कुन बेला संघर्ष गरियो भने जतिबेला साधनस्रोत थिएन, कुनै हुनेखाने मान्छे लागेका थिएनन्। राज्यबाट चरम दमन भइराखेको बेला, कोही सहयोग गर्नेवाला छैनन् भन्ने थाहा भएकै बेला १० वर्ष संघर्ष गरेर टिकेपछि यो पार्टी धेरै लामो समयसम्म टिक्ने प्रशस्त आधार निर्माण भएको छ।
अर्को भनेको यसमा लागेका मान्छेहरू बढी युवा छन्। आन्दोलनका सुरूमा जो १४-१५ वर्षका थिए उनीहरू भर्खर २५ वर्षका हुँदैछन्। हाम्रा जितेका उम्मेदवारहरू पनि २५/३० वर्षका छन्। त्यही भएर हामीले विकास गरेको पहिलो नेतृत्व तहले नै अझै पचास वर्ष खिच्दिन्छन्। अहिले २५ वर्ष पुगेकाहरूले ४० वर्ष मात्र खिच्यो भने पनि ६५ वर्ष त यसै गइहाल्छ।
प्रश्न: तपाईंको पार्टीले मधेसमा जसरी समानुपातिक मत ल्यायो, पहाडमा त त्यो किसिमको प्रभाव देखिएन। अब तपाईंले यसलाई पहाडतिर पनि विस्तार गर्नुहुन्छ?
हामी गर्छौं। यसपालि पनि उम्मेदवारहरू उठ्नुभएको थियो। सिन्धुपाल्चोकबाट पनि उठ्नुभएको थियो। काठमाडौं, पोखराबाट उठ्नुभएको थियो। तर के भयो भने पहिलो चुनाव भएकाले धेरैले विश्वास गर्दैनन्। प्रचार पनि भएको हुँदैन। उम्मेदवार पनि भेट्न गाह्रो हुन्छ। त्यहीँ भएर अब चाहिँ अलिकति काम गरेर देखाऊँ भन्ने छ। काम गर्ने हुटहुटी भयो भने आफैं प्रचार पनि हुन्छ, मान्छेले आफैं मन पराउन थाल्छन् र संगठन पनि आफैं विस्तार हुन्छ। हामी प्रदेशमै भए पनि नमूना काम गरेर देखाउने र त्यसपछि अर्कोपटक अर्को प्रदेशमा सरकार बन्छ भन्नेमा छौं।
भारतमा पनि हामीले हेर्यौं कि केजरिवालले दिल्लीमा काम गरेर देखाएपछि पंजाबमा पनि बहुमतको सरकार बनायो। त्यो खालको हामी पनि गर्न चाहन्छौं।
प्रश्न: अन्तिमको प्रश्न- तपाईंहरूले नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने भनेर सहमति नै गर्नुभएको छ? त्यो कस्तो खालको सहमति हो?
त्यो सहकार्य एकतासम्म पनि जानसक्छ। हाम्रो कुराकानी पनि भएको छ। किनभने एक्लैएक्लै गएर धेरै गर्न सकिँदैन। सहकार्य गर्नुपर्ने नै हुन्छ र अहिले पनि हामीले के भोग्यौं भने यसरी छिन्नभिन्न हुँदा झन् परम्परागत सत्तामा जो दलहरू छन् तिनीहरूले हामीलाई हेप्दै, पाखा लगाउँदै, दमन शोषण गर्नतिरै लाग्छन्। त्यही भएर पनि एक हुन आवश्यक छ। त्यसपछि मात्र सीमान्तकृत वर्गको अधिकारहरू संस्थागत हुनसक्छ।
प्रश्न: तपाईंले रेशम चौधरीलाई पनि जेलमा गएर भेट्नुभयो?
भेटिराख्छु। कुराकानी भइराख्छ।
प्रश्न: उहाँ पनि पार्टी एकता गर्ने कुरामा सकारात्मक हुनुहुन्छ?
एकदम। हामीले त स्थानीय तहमा पनि एक भएर जाऊँ भनेका हौं। यो निर्वाचनको अगाडि पनि हामी एकै भएर जानेवाला थियौं। चुनाव चिन्हको कुरा नमिलेर मात्र हो। उहाँहरू ढकियाबाट लडौं भन्नुभयो। हामी चाहिँ यत्रो ‘हौरन’ (लाउड स्पिकर) छापको प्रचार भएको छ, त्यसैबाट लडौं भन्यौं। त्यति कुरा नमिलेर मात्र हो। नत्र त्यतिबेलै हामी एक भएर जान्थ्यौं।