प्रतिनिधि सभामा बैठकमा केही समययता सांसदहरूको पहिरनमा समानता देखिन थालेको छ।
प्रधानमन्त्री पुष्पककमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ ग्रहणमा पहिलोपटक दौरा सुरूवाल लगाएका थिए।
आफूले लगाएको दौरा सुरूवालबारे उनले संसदको रोष्टममै पुगेर स्पष्टीकरण दिए। ‘म दौरा सुरूवाल कोट विरोधी कहिल्यै पनि होइन', प्रचण्डले संसदमा भने, 'क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा राम्रो परिणाम दिएको पनि देखिनँ मैले। लगाउने जतिले जितेका छन्। नलगाउनेले हारेका छन्।'
प्रचण्डको जवाफले संसदमा हाँसो फैलिएको थियो।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पुस ७ गते शपथको दिन पहिचान झल्कने पहिरन लगाएका थिए। जसमा नेपालको समावेशिता झल्कन्थ्यो। नेकपा एमालेले भने आफ्ना पुरूष सांसदहरूलाई दौरा सुरूवाल र महिला सांसदलाई सारी लगाउन भनेको थियो।
सांसदहरूको शपथ ग्रहणको दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रातो मफलर लगाएर संसद पुगेका थिए।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन रातो स्विटरमा थिए। शपथपछिको चियापानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरनको समानताबारे नेताहरुसँग कुराकानी समेत गरेका थिए। 'के छ आज सबै रातै रातो छ' भन्दै तिमिल्सिनाले नेताहरुलाई जिस्काएका थिए।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा तिमिल्सिनाको एकातर्फ र अन्य नेताहरुको अर्कोतर्फ बसेका थिए।
संसदमा नेकपा एमालेका सांसदहरु भने पछिल्लो समय निलो सारीमा उपस्थित हुने गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यले एमालेबाट निर्वाचित महिला सांसदहरुलाई पुस ७ गते निलो सारी उपहार दिएका हुन्।
शपथ ग्रहणपछि आफ्नो निवासमा डाकेर सांसदहरुलाई राधिका शाक्यले सारी उपहार दिएकी हुन्।
उपहार पाएको सारी महिला सांसदहरुले पहिलो बैठक र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दिन लगाएका थिए।
प्रधानमन्त्रीको विश्वासको मत प्राप्त गर्ने दिन बिहान ११ बजेका लागि राखिएको बैठक दिउँसो १ बजेका लागि सरेपछि सांसदहरु बीच सारीबारे समेत कुराकानी गर्ने मेसो मिलेको थियो।
संसद भवनको क्यान्टिनमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाणले एमाले सांसदहरुलाई सारीको मुल्य र गुणस्तरबारे सोधेका थिए। मञ्जु खाणले सारी छाम्दै गुणस्तरबारे समेत सोधेपछि एमाले सांसद सरिता भुसालले उपहार पाएको बताएकी थिइन्।
संसद बैठकमा सांसदहरूको रोजाइमा रातो मफलर पनि पर्ने गरेको छ। अधिकांश पुरूष सांसद र केही महिला सांसदहरुले कोटसँगै रातो मफलर लगाउने गरेका छन्। संसदमा अहिले निलो सारी र रातो मफलरको फेसन चलेको छ।
हेर्नुहोस् तस्बिरहरू