जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको भन्दै ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गरेको छ।
मंगलबार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
उनका अनुसार अदालतले पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र पिडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ।
मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ तर सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ।
पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे त्यो बेला सौन्दर्य प्रतियोगिता गरेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। त्यतिबेला उनले किशोरी बलात्कार गरेको आरोपमा अहिले आएर मुद्दा दर्ता गर्न कानुनी अड्चन थियो। बलात्कार घटनाको उजुरी १ वर्ष भित्रै दिनुपर्ने कानुन भएकाले आठ वर्षपछि बाहिर आएको यो घटनामा बलात्कार मुद्दा चलाउन मिलेको थिएन।
त्यसपछि सरकारी वकिलले मानव बेचविखन र बाल यौन दुर्व्यवहारमा मुद्दा चलाएको थियो। यो घटनापछि बलात्कारका घटना उजुरी दर्ता गर्ने हदम्याद हटाउनुपर्ने माग उठेको थियो। व्यवस्थापिका संसदले बलात्कारमा उजुरी गर्ने म्याद बढाएर २ वर्ष पुर्याएको छ।
पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो।
प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो। उनी अहिले पनि पुर्पक्षका लागि थुनामै छन्।
जिल्ला परिसर काठमाडौंले अनुसन्धान सकेर गएको जेठ २७ गते आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ।
मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो।
मिस ग्लोबल प्रतियोगितामा आफू छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी थिइन्।
आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले भनेकी थिइन्।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए।
एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए। त्यसपछि कोठामा लगेर बलात्कार गरेको उनले भनेकी थिइन्। घटनाबारे कसैलाई बताए फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको उनले बताएकी थिइन्।
पाण्डेलाई सरकारी वकिलले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
यी पनि: कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक
बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु
१६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी
१६ वर्षमा बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली
समाज हल्लाउने बलात्कारको घटनाविरुद्ध माइतीघरमा पोखियो आक्रोश (भिडिओ)
आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी