एक वर्ष पहिले निर्माण पछि अनावरण गरिएका सालिकहरू तोडफोड भएका छन्।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले २०७८ चैत २४ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ झिंगौरामा बनाइएका शहीदहरूको सालिक सिलान्यास गरेका थिए।
जनयुद्धका क्रममा शहादत प्राप्त स्थानीय ओमभक्त चौधरी (विजय), लौटन चौधरी र पृथ्वी चौधरीको शालिक झिंगौराको मनकामना सामुदायिक वनमा स्थापना गरिएका थिए।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले योजनाबद्ध र सुनियोजित रूपमा परिवर्तन विरोधी तत्वले सहिदहरुका सालिक तोडफोड गरेको बताए।
‘यो आकस्मिक र आवेगमा आएर कुनै ब्यक्ति विशेषले गरेको काम होइन, परिवर्तन देख्न नचाहानेले गरेको योजनाबद्ध घटना हो,’ उनले भने, ‘राष्ट्रिय विभुतिको सालिक तोडफोड गर्नु राज्य बिरुद्धको बिप्लव हो।’
स्थानीय प्रसाशनले घटनामा संलग्न ब्यक्तिको पहिचान गरि कानुनी कारबाही दायरामा ल्याउन जरूरी रहेको उनले बताए।
तीन वटै सालिक घाँटीदेखिमाथिको भाग छिनालिएका छन्। दुई वटा सालिकका टाउको अलग पारिएको अवस्थामा र एउटा सालिकको टाउको अन्यत्र फालिएको अवस्थामा थियो।
प्रहरीले घटना शुक्रबार साँझ सात बजेतिरको भएको हुनुपर्ने अनुमान गरेको छ। घटनामा संलग्नताको खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताए।
घटनास्थलको अनुगमनपछि तोडफोड गरि मुन्टो छिनालिएका सालिकहरू रातो कपडाले छोपिएका छन्।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद धनबहादुर मास्की (राजेस) ले तोडफोड भएका सालिकको स्थलगत अनुगमन गरेका छन्।
उनले सहिदका सालिक तोडफोड हुनु खेदजनक कार्य भएको भन्दै तत्काल दोषीको पहिचान गरि कारबाही गर्न माग गरेका थिए।
जिल्ला प्रहरी प्रबक्ता गौतमले सालिक तोडफोड भएको क्षेत्र वरिपरी दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज लगाएतका सामाग्री फेला परेको बताए।
घटनाबारे अनुसन्धान जारी रहे पनि त्यो घटना आवेगमा आएर कुनै ब्यक्ति बिषेशले गरेको हो वा कुनै समूहले योजनाबद्ध रूपमा गरेको हो? भन्ने बारेमा अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए।
‘घटनास्थल एकान्तस्थलमा रहेछ र प्रहरीलाई त्यहाँ सालिक छन् भन्ने कुरा समेत थाहाँ थिएन,’ उनले भने।
यसैबीच घोराही–१४ का वडाध्यक्ष भानसिंह बुढा, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख गजेन्द्र शाही, टोल विकास संस्थाका पदाधिकारी, वडाका पूर्वजनप्रतिनिधि, वन समुहका पदाधिकारीलगायतको उपस्थितिमा सालिकको तोडफोडको मुचुल्का प्रहरीले तयार पारेको छ।
पार्क क्षेत्रमा अनावश्यक व्यक्ति तथा दुर्व्यसनीको आवतजावत बढी हुने भएकाले उक्त क्षेत्र सुरक्षित एवं व्यवस्थित हुन नसकेको वन समूहका अध्यक्ष सुशीला चौधरीले बताइन।
सालिक रहेको क्षेत्र खुला रहेको , तारबार नगरिएको तथा निगरानी गर्ने कुनै निकाय नभएको हुँदा तोडफोड कसले कुन उद्धेश्यले गरेको हो? भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले बताएको छ।