खोलामा ठूल्ठूला खाल्डा छन्, पोखरीस्तै। गहिराइ पनि धेरै छ; स्काभेटर, लोडर र टिपर पनि छोपिन्छन्। हेभी उपकरणले खोला उधिनेको देख्न खाल्डाको डिलमै पुग्नुपर्छ।
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुर गाउँको पूर्वपट्टि औरही खोलाको यो त्यही ठाउँ हो जहाँ अवैध उत्खननको विरोध गर्दा स्थानीय दिलीप भनेर चिनिने ओमप्रकाश महतो मारिएका थिए।
२०७६ सालको कुरा हो। औरही खोलामा मापदण्डविपरीत बालुवा उत्खनन् गरेको भन्दै आसपासका बासिन्दाहरूले विरोध जनाइरहेका थिए। बालुवा निकाल्ने काम रोक्न माग गरिरहेका थिए।
पुस २५ गते बिहानै बालुवा उत्खननको काम भइरहेको थियो। दिलीप खोलामा पुगेर विरोध जनाए, काम रोक्न आग्रह गरे। आक्रोशित व्यवसायी र उनका सहयोगीहरूले क्रूरतापूर्वक दिलीपको हत्या गरे। घाइते बनाएर लडाएपछि टिपरले किचे। उक्त घटनापछि औरही खोलामा केही दिन बालुवा उत्खनन रोकियो।
फेरि पहिलेजस्तै निर्बाधरूपमा चल्न थाल्यो। नदीजन्य पदार्थ उत्खननका लागि संघीय सरकारको निर्देशिका छ। मिथिला नगरपालिकाले कानून पनि बनाएको छ।
क्रसर व्यवसायीहरूले निर्देशिका र स्थानीय कानून दुबै बेवास्ता गर्दै औरही खोलाबाट अनियन्त्रितरूपमा बालुवा निकाल्ने गरेका छन्।
दिलीपको हत्या भएपछि क्रसर व्यवसायीको मनपरीविरुद्धको आवाज मलीन भएको छ। आसपासका बासिन्दामात्रै होइन जनप्रतिनिधिहरू पनि मौन बसेका छन्।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार खोला ठेक्का नलाग्दै, अनुमति बेगरै क्रसर व्यवसायीले आफूखुसी बालुवा उत्खनन् गर्ने गरेका छन्।
उनले नगरपालिकाले चालु आर्थिक वर्षमा क्रसर व्यवसायीले जम्मा गरेर राखेको बालुवा र गिट्टी ढुवानी गर्नमात्र अनुमति दिएको थियो।
व्यवसायीहरूले भने नगरपालिकाले ठेक्का नलगाउँदै खोलाबाट बालुवा–गिट्टी निकालेर थुपारेका छन्।
केही व्यवसायीले बालुवा–गिट्टी थुपार्न नदी किनारमा जग्गा भाडामा पनि लिएका छन्।
दिलीपकी बहिनी लक्ष्मीका अनुसार ‘चुरियामाई बालुवा प्रशोधन उद्योग’ ले उनीहरूको खेतमा जबर्जस्ती बालुवा–गिट्टी थुपारेको छ। जग्गा खाली गरिदिन आग्रह गर्दा मानेको छैन।
लक्ष्मीले भनिन्, ‘जग्गा खाली नगरेपछि साउनमा इलाका प्रहरी कार्यालयमा निवेदन दियौँ । प्रहरीले न्यायिक समितिमा पठाइदियो खेतको लालपूर्जा आफूसँग नभएकाले उजुरी दर्ता भएको छैन।’
सरकारले कडाइ गरेपछि क्रसर व्यवसायीले रातिराति खोला उत्खनन गर्ने गरेका छन्।
औरही खोला नजिकैका एक बासिन्दाले भने, ‘रातभरि मेसिन र गाडीको आवाज आउँछ। रोक्न कोही जाँदैनन्। गाउँका मान्छेहरू विरोध गर्न जाँदा एकजना मर्यो, हाम्रो पनि ज्यान खतरामा पर्छ भनेर डराउँछन्।’
ती बासिन्दाका अनुसार गाउँमा क्रसर व्यवसायीको समर्थन गर्ने मानिसहरू पनि छन्। तिनीहरूले व्यवसायीसँग आर्थिक लाभ लिएर विरोध गर्नेलाई प्रतिकार गर्ने चेतावनी दिने गरेको ती बासिन्दा बताउँछन्।
खोलामा अनियन्त्रित उत्खननका कारण किनारमा जमिन कटानको खतरा बढेको छ।
स्थानीयवासी रामबाबु महतो भन्छन्, ‘खोला गहिरो हुँदैछ। किनारका खेत कतिबेला बगाउँछ थाहा छैन। बगरमा रहेका फुटबल मैदान पनि क्रसरबलाले कब्जा गरेर बालुवा र गिट्टी थुपारेका छन्।’
उनका अनुसार मिथिला नगरका हालका मेयर महतोले चुनावका बेला आफूले जिते खोला खन्न बन्द गराउँछु भनेका थिए। उनले पनि केही दिन कडाइ नगरेका होइनन् तर बन्द गराउन त के मापदण्ड पालना गराउन पनि सकेका छैनन्।
औरही खोलामा बालुवा–गिट्टी निकाल्ने काम पूर्णरूपमा बन्द गर्नुपर्ने स्थानीयवासीहरूको माग छ।
मिथिला नगरपालिकाले तयार गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७८ अनुसार पालिकाको अनुमतिमा बढीमा २ फिट ४ इन्चसम्म मात्र खनेर बालुवा निकाल्न पाइन्छ।
यस्तै, किनारबाट कम्तीमा ७० मिटर परमात्र खन्नु पर्छ।
हाल उत्खनन भइरहेको केही ठाउँमा किनारबाट मुस्किलले २० मिटर पर १२ फिटसम्म गहिरो खनेको देखिन्छ। केही स्थानीवासीहरूका अनुसार केही ठाउँमा अझै गहिरा खाल्डा पनि छन्।
अहिले मिथिला नगरको–३, दिनाभद्री टोलबाट मुस्किलले सय मिटरको दूरीमा खोला उत्खनन भइरहेको छ। यस टोलमा ४० घर परिवारको बसोबास छ।
ढुंगा, गिट्टी तथा बालुवा संकलन, उत्खनन तथा बिक्री वितरण व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७७ अनुसार घना बस्तीबाट उत्खननको दूरी दुई किलोमिटर हुनुपर्छ।
यसरी क्रसर व्यवसायीले खोलामा मनपरी उत्खनन गरिरहँदा स्थानीयवासीहरू चिन्तित छन्।
‘दिनाभद्री बस्ती पूरा जोखिममा छ। कुन दिन ठूलो बाढी आउँछ र हामीलाई बगाउँछ, ठेगान छैन,’ टोलका एक बासिन्दा भन्छन्, ‘बोल्न पनि डर लाग्छ। क्रसरले उत्पात मच्चाउँदा बोल्न सक्ने कोही छैन। मेयर आफैँ चुप लागेका छन्।’
खोला किनारबाट करिब सय मिटरमा दुई किलोमिटरको दूरीभित्र चारवटा क्रसर उद्योग चलेका छन्।
चिन्ता बाढीले बगाउला भन्नेमा मात्रै सीमित छैन। रातभरि क्रसर चलेको आजावले गाउँ थर्किन्छ। कुइरो जसरी धुलो फैलिन्छ।
एकातिर बाढीबाट बस्ती जोगाउन खोला किनारमा बाँध बनाउने काम भइरहेको छ, अर्कोतर्फ मापदण्ड विपरीत उत्खनन भइरहेको छ। वडा नम्बर २ मा खोलाको बगरमा १५२ घर परिवारको सुकुम्वासी बस्ती छ। बस्तीको पाँच सय मिटरभित्रै खोलामा उत्खनन भइरहेको छ।
गत वर्ष उत्खननका कारण एकोहोरिएको खोलाको बाढीले केही खेत पनि बगाइदिएको छ।
पुलिस प्रशासन, नेता र क्रसर व्यवसायी मिलेका कारणले खोलमा मनपरी चलिरहेको केही स्थानीय बासिन्दाको आरोप छ। मापदण्ड कार्यान्वयन गर्न कोही पनि अग्रसर छैन।
मिथिला नगरका मेयर महतोका अनुसार स्थानीय सरकारले कडाइ गरेपछि क्रसर व्यवसायीहरू राति सक्रिय भएका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई उत्खननको मापदण्ड पालना गराउन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए।
सोतोपाटीको जिज्ञासामा महतोले प्रश्न गरे, ‘राति १२ बजेदेखि ४ बजेसम्म खोला खनिँदैछ, मलाई थाहा छ तर सुरक्षा निकायले साथ दिएको छैन, म के गरूँ? मेयर गएर मर्ने हो? सुरक्षा कसले दिने?’
क्रसर व्यवसायीसँग प्रहरी–प्रशासनका मान्छेको मिलेमतो रहेको उनको आरोप छ।
‘पुलिसले पहिला फोन गर्छ र हामी आउँदैछौँ, तिमीहरू भाग भन्छ,’ उनले भने, ‘पुलिस पुग्दा कोही पनि हुँदैन। हामीले धेरै पटक सुरक्षा निकायसँग छलफल गर्यौँ। प्रहरी लगेर खोला अनुगमन गरायौँ तर प्रहरी एक्सनमा जाँदैन।’
आफू निर्वाचित भएर आएपछि टिपर, स्काभेटर, लोडर लगायत ७० वटालाई जरिवाना गराएको बताए।
धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले व्यवसायी र प्रहरीबीच मिलेमतो भएको भन्ने आरोप अस्वीकार गरे। उनले ६ जना थुनुवा भागेको घटनामा एक साता अनुसन्धान व्यस्त हुनु परेकाले यही समयमा उत्खनन भएको हुनसक्ने अनुमान गरे।
सेतोपाटीको जिज्ञासामा उनले भने, ‘पुरानो (एसपी) ले के गरे थाहा छैन। अहिले उत्खनन नियन्त्रण गर्न कडा निर्देशन जारी गरेका छौँ।’
प्रहरीले कडाइ गरेको दाबी गरे मापदण्डबाहिरको उत्खनन् रोकिएको छैन। नगरका मेयर निरीह देखिएका छन्। खोला किनारका बासिन्दाहरू चिन्ताग्रस्त छन्।