लुम्बिनीबाट रिक्त रहेको एक जना राष्ट्रिय सभा सदस्य छान्न अहिले प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गरिरहेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्रको प्रांगणमा बिहान १० बजेपछि मतदान सुरू भएको हो।
प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले पहिलो मतदान गरेका हुन्। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले मतदान सहज बनाउन दुई वटा मतदान केन्द्र निर्धारण गरिएको बताए।
मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदान दिउँसो ३ बजेसम्म समय कायम रहने छ।
राष्ट्रिसभा सदस्य चुन्न प्रदेशका कुल ३०५ मतदाताले मतदान गर्ने छन्। लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य र २१८ जना स्थानीय पालिका प्रमुख तथा उपप्रमुख रहेका छन्।
राष्ट्रिय सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्य प्रतिस्पर्धामा छन्। एमालेका केन्द्रीय सदस्य दसौदी र कांग्रेसका पूर्वजिल्ला सभापति आचार्य रोल्पाका हुन्। नागरिक उन्मुक्ति पार्टीका रायको पुर्ख्यौली घर सल्यान हो। उनी मंसिर ४ गतेको निर्वाचनमा सोही जिल्लामा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। बाँकेको नेपालगञ्जमा समेत बस्दै आएका राय यसपटक नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै बाँकेको बासिन्दा बनेर उम्मेदवार बनेका छन्।
उनी त्यसभन्दा पहिले राप्रपा र तमलोपाबाट समेत उम्मेदवार बनेका थिए।
गत असोज २३ गते एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि बिहीबार उपनिर्वाचन भइरहेको हो।
प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको हरेकको मतभार १८ हुने गर्छ।
लुम्बिनी प्रदेशमा कुल १०९ पालिका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) ले १/१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन। तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन्।
मतदान सकिएलगत्तै गणना सुरू हुने र एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने सूचना अधिकारी कुँवरले जानकारी दिएका छन्।