लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।
बुधबार भएको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार दसौदीले ४०२६ मतभार प्राप्त गरे।
उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।
उनका निकटतम् प्रतिष्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए। आचार्य ३२६ मतान्तरले पराजित भएका हुन्।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैघाका स्थानीय बासिन्दा दसौदी तत्कालीन समयमा रोल्पामा एमाले प्रमुख भएर संगठन निर्माणमा जुटेका नेता हुन्।
दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्कापछि पार्टी प्रमुख अर्थात् तत्कालीन समय जिल्ला सचिव भएर उनैले रोल्पामा एमालेको संगठन निर्माणको काम गरेका थिए। दसौदी हाल पार्टीको केन्द्रीय सदस्य छन्।
२०५१, ०५६ र ०७० को संसदीय निर्वाचन लडे पनि उनले कुनै पनि निर्वाचन जित्न सकेका थिएनन्। दसौदी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा भने वडा सदस्यमा निर्वाचित भएको एमाले रोल्पाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य ईश्वरी जिएमले सेतोपाटीलाई बताइन्।
‘उहाँ रोल्पामा एमालेको संगठन निर्माणका लागि वर्षौं पसिना बगाएको नेता हो,’ उनले भनिन्, ‘उहाँ आज राष्ट्रियसभा सदस्यमा निर्वाचित हुँदा ठूलो न्याय भएको छ।’
समानुपातिक सांसद जिएमका अनुसार दसौदी स्थायी शिक्षकको जागिरबाट राजीनामा दिएर पार्टीमा लागेका एक इमानदार र वैचारिक नेता हुन्।
‘तत्कालीन समयमा पार्टी विभाजन भई एमाले–माले हुँदाको अवस्थामा होस् वा माओवादीको दस वर्षे सशस्त्र द्वन्द्वको समयमा, उहाँ कहिल्यै इमानको राजनीतिबाट विचलित भएको देखिएन,’ उनले भनिन्, ‘रोल्पाजस्तो ठाउँमा एमालेको बिउ जोगाउने उहाँ नै हो, उहाँले जित्दा आज मन रमाएको छ।’
द्वन्द्वको समयमा मात्रै नभई नेता दसौदीलाई माओवादी सत्तामा पुग्दा समेत विभिन्न लोभ प्रलोभन देखाउँदा समेत उनले कहिल्यै निष्ठाको राजनीति नछोडेको हुँदा पार्टीले मूल्याङ्कन गरेको अर्का एक नेताले बताए।