नेपाली कांग्रेसका कमल शाह बिहीबार सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बनेका छन्। यसअघि मुख्यमन्त्री रहेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश प्रमुख देवराज जोशीले बिहीबार शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
शुक्रबार शाहको शपथ ग्रहण कार्यक्रम छ। शाहले बिहीबारकै मितिदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। प्रदेश सभामा अहिले कायम सांसदको संख्या ५३ मध्ये विश्वासको मत पुग्न २७ सांसद चाहिन्छ।
मुख्यमन्त्री शाहले यसअघिको सरकारले जस्तो विश्वासको मत नपाउने अवस्था अब नआउने दाबी गरे।
'यसअघिको सरकारले जस्तो विश्वासको मत पाउन मलाई सकस हुँदैन। सबभन्दा ठूलो पार्टीका हिसाबले मुख्यमन्त्रीमा नियुक्त भएपछि हामीले नेतृत्व पाइसकेपछि, विश्वासको मत पनि पाउँछौं। अन्यौलतामा हामी राख्दैनौं। ढुक्कका साथ सरकार चलाउँछौं,' उनले भने।
२०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका शाह बुबाको जागिरसँगै तराई झरेका थिए। उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन्। उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन्।
टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गरेका छन्। २०४४ सालमा नेबिसंघ हुदै राजनीतिमा प्रवेश गरेका हुन। क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आएका उनी २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य भए। त्यसकै केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष भएका थिए। पार्टीको नवौं महाधिवेशनदेखि १४ औंसम्म सहासमिति सदस्य बनेका हुन्।
२०४६ र २०६३ को जनआन्दोलनमा पटकपटक गरी चार महिना बन्दी जीवन पनि उनले बिताएको बताए। नेपाली कांग्रेसका नेता केशवसिंह कडायतको जीवनीबाट आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको उनी बताउँछन्।
२०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली- २ बाट उम्मेदवार बनेका उनी त्यस बेला पराजित भए। २०७९ को प्रदेश सभा निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी एमाले छाडेर नागरिक उन्मुक्तिबाट चुनाव लडेका रतन थापालाई हराएर चुनाव जितेका हुन्। उनले १० हजार ४३३ मत पाएका थिए।
चुनावपछि कांग्रेसका १९ जना प्रदेश सांसदहरूमध्ये सात जना संसदीय दलको नेता बन्न भनेर मनोनयन दर्ता भएको थियो। जसमा सबैलाई मिलाएर सहमतिमा शाह दलको नेता चयन भएका हुन्।
मुख्यमन्त्री भएर कृषि, पर्यटन, सडक र शिक्षालाई प्राथमिकता राखेर काम गर्ने शाहको योजना छ।
मुख्यमन्त्री पदको शपथ ग्रहणपछि शाहको नेपाली कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशीलाई समेटेर सरकार विस्तार गर्ने तयारी छ। विश्वासको मत पाउन एमालेबाहेक माओवादी केन्द्र र नागरिक उन्मुक्तिसित पनि मिलेर जाने कांग्रेसको रणनीति रहेको उनको भनाइ छ।