नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औं सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकामा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ।
‘मिसन ग्रासरुट’ सञ्चालन
बैठकले पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीका सदस्यले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने र अभियान सञ्चालन फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको विष्टले जानकारी दिए।
बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी पनि तोकेको छ। पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको छ। यसअघि उक्त विभागको प्रमुख घनश्याम भुसाल थिए। उनले एमालेबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।
प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपांगाता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई तोकिएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राखेका थिए।