लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्।
उनले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा पत्र बुझाएकी हुन्।
राजीनामा पत्र आइसके पनि स्वीकृत भने नभएको स्रोतले बतायो।
‘उहाँले राजीनामा दिनु भएको हो तर स्वीकृत भने भइसकेको छैन’, स्रोतले भन्यो।
पार्टीभित्रै आन्तरिक असन्तुष्टिले गर्दा उनले राजीनामा दिएको बुझिएको छ।
माओवादी सांसद इन्द्रजित थारूले पनि केसीले राजीनामा बुझाएको सुनिएको बताए।
‘उहाँले भौतिक मन्त्रालय रोज्नुभएको थियो। पार्टीले उहाँलाई आन्तरिक मामिलाको जिम्मेवारी दियो’, उनले भने,‘सायद उहाँलाई चित्त बुझेन होला। त्यही भएर राजीनामा दिनुभयो होला।’
शपथग्रहण गरेको एक महिनासम्म केसीको जिम्मेवारी तोकिएको थिएन। मन्त्रालयमा चित्त नबुझेपछि केसीले राजीनामा दिएकी हुन्।
माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले केसीले आफूले राजीनामा बुझाएको जानकारी दिएको बताए।
‘उहाँले राजीनामा बुझाएँ भन्नुभएको छ। अहिले हामी छलफलमै छौं,’ उनले भने।