नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ।
वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो।
यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केही दिनमै गर्ने माओवादीका एक उच्च नेताले सेतोपाटीलाई बताए।
‘बैठकको दिन त तोकिएको छैन तर फागुन १० वरिपरि औपचारिक निर्णय आउला,’ उनले भने।
स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे।
कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने भनेर किटेर निर्णय आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला निर्णय कसरी लेखिएला थाहा छैन। तर कांग्रेसलाई मत दिने भनेर आए पनि, राष्ट्रिय सहमतिका लागि भनेर आए पनि त्यसको सार एउटै हो।’
राष्ट्रपतिमा अब कांग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनले बताए।
राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चले पनि उनले त्यसो हुन सम्भव नभएको उनले बताए।
‘राष्ट्रपतिमा एमाले र कांग्रेस दुबैको नहुने भनेको दुबैलाई चिढ्याउनु हो,’ उनले भने, ‘त्यो सम्भव छैन र त्यतातिर जाने प्रयास गर्नु भनेको थप अस्थिरता खोज्नु हो।’
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ। त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो।
एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने पर्याप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका ती नेताले बताए।
‘हामी एमाले सहितको गठबन्धनबाट अगाडि बढ्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका छौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काम मात्रै गर्नुभएको छ,’ माओवादीका एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने, ‘राप्रपा र रास्वपासँग छुट्टै बैठक गर्ने, उनीहरूसँग कुरा मिलाउने र प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने काम एमाले अध्यक्षबाट भएको छ। यसको दीर्घकालीन संकेत प्रष्ट छ।’
ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन बनेदेखि नै असहज महसुस गरेका थिए।
मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्रीको इच्छाविपरीत समेत एमाले अध्यक्ष ओलीले गठबन्धनमा हाबी भएको ती नेताले आरोप लगाए।
रास्वपालाई गृह, राप्रपालाई ऊर्जा, एमालेलाई अर्थ, परराष्ट्र र रक्षा सहितका मन्त्रालय दिने निर्णयसमेत ओली आफैंले गरेको उनको आरोप छ।
‘कांग्रेसको साथ छोडेर बालकोट पुगेपछि अब प्रचण्डलाई कस्न सकिन्छ भन्ने मानसिकता उहाँहरूमा सुरूदेखि नै देखियो,’ ती माओवादी नेताले भने।
प्रचण्डले ओलीबाट सुरूदेखि नै कति असहज महसुस गरेका छन् भनेर जनमत पार्टीका अध्यक्ष सिके राउतले सेतोपाटीसँग संकेतसमेत गरेका थिए।
‘मलाई बालुवाटार जानुपर्ने एकाएक बालकोट जानुपर्दा त्यहाँ एउटा मनोवृत्ति देखेको थिएँ। त्यसले मलाई एकैचोटि राजनीतिको वैराग्य र ज्ञान प्राप्त भएको महसुस भयो,’ प्रचण्डको अवस्थाप्रति इंगित गर्दै राउतले भनेका थिए, ‘जसलाई म क्रान्तिको नायक मान्छु, प्रेरणाको स्रोत मान्छु। देशको परिवर्तनको नेता मान्छु। त्यो नेता जसरी परिबन्दमा परेको देखियो। बन्धक बनाएको जस्तो देखियो म त टुलुटुल हेरिरहें।’
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र माओवादी सहितको गठबन्धन गर्ने निर्णय भएको थियो। त्यो बैठकमा राप्रपा, रास्वपा, जसपा, जनमत पार्टीलगायत समेत थिए।
बिहान ११ बजेसम्म पनि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सहितको समर्थनमा प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर अन्तिम छलफलमा थिए। तर त्यसका लागि कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नभएपछि प्रचण्ड खुमलटार हुँदै बालकोट पुगेका थिए।
त्यो बेला कांग्रेस र एमालेबीच पनि कुरा भइरहेको थियो। ओलीले देउवालाई प्रचण्डसँग मिलेर नजाने र आफू सो दिन साढे ३ बजे बालुवाटार आएर कांग्रेससँग सहमति गर्ने वचन दिएका थिए।
यो पनि पढ्नुस्:
बालकोटमै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। त्यसयता ओलीले आफ्नो पक्षमा निर्णय गराउन प्रचण्डलाई निरन्तर दबाब दिएको माओवादी नेताहरूको गुनासो छ।
माघ तेस्रो साता भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत एमालेलाई राष्ट्रपति दिन नहुने धारणा नेताहरूले राखेका थिए। बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने, त्यस्तो हुन नसके एमालेलाई दिन नहुने धारणा राखेका थिए।
‘अलिकति मौका आउनासाथ पेलेर जाने ओलीको पुरानै प्रवृत्ति हो। त्यसैले अहिले पनि हामीले होसियारी अपनाउनु पर्छ भन्नेमा धेरैको एकमत छ,’ बैठकमा आएका विषयबारे एक स्थायी कमिटी सदस्यले भने,‘राष्ट्रपति र सभामुख दुबै लिएका ओलीले जुनसुकै बेला अप्ठ्यारो पार्न सक्छन् भन्ने हामी सचेत हुनुपर्छ। त्यसैले राष्ट्रपति एमालेलाई दिने गल्ती गर्नै हुँदैन भन्ने हाम्रो भनाइ हो।’
स्रोतका अनुसार माओवादी र कांग्रेसका उच्च तहका नेताहरूबीच अनौपचारिक सहमति भइसकेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमात्र नभई शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पनि राष्ट्रपतिका लागि औपचारिक सहमति गरेर जान जोड दिएका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण सहयोग रहने शेखर-गगन समूहले पनि आश्वासन दिएको छ।
एमालेसँग फेरि पार्टी एकता गर्न नसकिने देखेपछि प्रधानमन्त्री प्रचण्ड यो गठबन्धन लामो समयसम्म चल्न नसक्ने निष्कर्षमा पुगेको अर्का स्थायी कमिटी सदस्यले बताए।
‘हामीले कांग्रेससँग गर्न नसक्ने भनेको पार्टी एकता मात्रै हो। अब त्यो सम्भावना एमालेसँग समेत सकिएजस्तै भएको छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘हामी दीर्घकालमा एमालेसँग अगाडि बढ्न नसक्ने भएपछि अहिले नै बाटो परिवर्तन गरेको राम्रो हो।’
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयसँगै राष्ट्रिय राजनीतिमा ‘नयाँ कोर्स’ सुरू हुने उनले बताए।