तुलसीपुर उपमहानगरपालिका–१ को वीरेन्द्र माध्यमिक विद्यालयमा चार वर्ष चलेको मगर भाषाको पढाइ गत वैशाखमा एकाएक बन्द भयो।
उक्त विद्यालयमा २०७४ सालको माघमा पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमअनुसार मगर भाषाको पढाइ सुरु भएको थियो। पाठ्यक्रम विकास केन्द्रले कक्षा पाँच सम्मका लागि विभिन्न भाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ।
वीरेन्द्र माध्यमिकले यिनै पुस्तक प्रयोग गर्ने भए पनि यो पढाइ कक्षागत थिएन, अनौपचारिक थियो जसमा इच्छुक विद्यार्थीहरू सहभागी हुन पाउँथे।
गत शैक्षिक वर्षको अन्तिम कक्षामा सय जनाभन्दा बढी विद्यार्थी थिए। पढाइ बन्द हुनुको कारण हो बजेट अभाव।
वीरेन्द्र माध्यमिक विद्यालयमा मगर भाषा कक्षाका लागि तुलसीपुर उपमहानगर वडा नम्बर एक कार्यालयले बजेट दिने गरेको थियो।
पहिलो वर्ष वडाले साढे दुई लाख रुपैयाँ दिएको थियो। त्यसपछि क्रमशः घटाउँदै चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ मात्रै दिने जानकारी गरायो।
एक लाख रुपैयाँ साह्रै कम हुने भएपछि पढाइ स्थगित गर्नु परेको विद्यालयका शिक्षक हिमाल थापामगरले बताए।
‘वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट पाठ्यपुस्तक खरिद गर्ने र शिक्षकलाई तलब दिने व्यवस्था गरेका थियौँ,’ उनले भने ‘वडाले आवश्यक बजेट नदिएपछि हाम्रो केही उपाय चलेन र पढाइ बन्द गर्न बाध्य भयौँ।’
कोभिड–१९ ले भएको लक डाउनको समयमा पनि पढाइ नहुँदा वडाले दिएको बजेट उपयोग नै हुन सकेन।
मगर भाषाको पढाइको बजेट किन कटौती गर्नुपरेको हो?
‘उपमहानगरले यस पटक वडामा बजेट कटौती गरेर थोरै मात्रै पठाएपछि हाम्रो केही उपाय चलेन,’ वडाध्यक्ष हुमाकान्त सापकोटोले भने, ‘वडा कार्यालय पनि विविध शीर्षकका बजेट कटौती गर्न बाध्य भयो।’
वीरेन्द्र माध्यमिक विद्यालयलाई मगर भाषाको पढाइको लागि चालु आर्थिक वर्ष एक लाख रुपैयाँमात्रै दिन सकेको उनले बताए।
स्थानीय तहको निर्वाचन हुने आर्थिक वर्ष २०७८/८९ का लागि तत्कालीन मेयर घनश्याम पाण्डेले नगरका १९ वटै वडालाई एक करोड ७० रुपैयाँका दरले बजेट उपलब्ध गराएका थिए।
यस्तो वितरणलाई धेरैले निर्वाचनमुखी भनेका थिए। त्यसअघि पनि वडाले एक करोडभन्दा बढी नै बजेट पाउने गरेका थिए ।
गत वैशाख ३० गतेको निर्वाचनबाट टीकाराम खड्का मेयर निर्वाचित भएपछि चालु आर्थिक वर्षमा वडालाई ७० लाख रुपैयाँका दरले मात्रै बजेट विनियोजन गरियो।
खड्काका अनुसार पूर्ववर्ती नेतृत्वले उपमहानगरलाई करोडौँ रुपैयाँको ऋणमा डुबाएको हुँदा वडाहरूको बजेट घटाउनु परेको हो।
उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उपमहानगरमाथि ३५ करोड रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ।
वडाको बजेट कटौती भएपछि वडा कार्यालय पनि विद्यालयलाई दिने बजेट घटाउन बाध्य भएको वडाध्यक्ष सापकोटाले बताए।
‘बजेट अभावका कारण मगर भाषाको पढाइ बन्द हुँदा मलाई पनि निकै दुःख लागेको छ,’ उनले भने, ‘मैले पढाइ चालु गर्न चाहँदा चाहँदै पनि उपाय लागेन। आउने वर्ष प्रयास गर्नेछौँ।’
मगरभाषको पढाइ बन्द हुँदा कक्षा १२ का विद्यार्थी श्यामराज घर्तीले दुःख प्रकट गरे। उनी पनि मगर भाषा पढ्थे। पढाइ नियमित भएपछि मगर समुदायका मात्र नभई अन्य बालबालिका पनि मगर भाषा पढ्न थालेका थिए।
मगर भाषा र संस्कृति संरक्षणमा सहयोग पुग्ने पढाइ अचानक बन्द हुँदा आफूलाई नरमाइलो लागेको श्यामराजले बताए।
उनी वीरेन्द्र माध्यमिक विद्यालयमा मगर विद्यार्थी संगठनका अध्यक्ष पनि हुन्। उनी हरेक जातजातिका कलासंस्कृति र वेशभुषा संरक्षणमा राज्यले ध्यान दिन जरुरी ठान्छन् ।
मगर भाषाको पढाइ फेरि सुरु हुनुपर्ने उनको धारणा छ।
‘यसपालि वडाले थोरै बजेट पठाएकाले पढाइ रोक्नु परेको कुरा शिक्षकले हामीलाई भन्नुभएको छ,’ श्यामराजको प्रश्न छ, ‘पैसा छैन, अब तिमीहरू पढ्न छोड भन्नु राज्यका लागि सुहाउने कुरा हो र?’
शिक्षक थापामगरले वडा कार्यालयबाट प्राप्त एक लाख रुपैयाँले कक्षा चलाउन नसकेपछि उक्त रकमले पञ्चेबाजा किन्ने सल्लाह भएको बताए।
‘पढाइ चलाउन बजेट अपुग भए पनि पञ्चेबाजा किनेर संस्कृति संरक्षण र आयआर्जनमा समुदायलाई जोड्ने सल्लाह हुँदैछ,’ उनले भने, ‘पञ्चेबाजा बजाउन समुदायका महिला र पुरुष दुवैलाई तालिम दिएर आर्जन गर्न सके कक्षा चलाउन सहज हुने आशा छ।’
यसमा विद्यालयको मगर विद्यार्थी संगठनले पहल गरेको उनले बताए।
वडा कार्यालयको भर पर्दा पढाइ बीचमै रोकिएकोले स्रोत सुनिश्चित गर्न समुदाय आफैँ जाग्नु पर्ने बेला आएको शिक्षक थापामगरको भनाइ छ।
उनी विद्यालयमा मगर भाषा शिक्षाका संयोजक हुन्।
समय मिलाएर अभिभावकहरूलाई पनि प्रशिक्षकका रूपमा बोलाउने गरिएको थियो। कहिलेकाहीँ बाहिरबाट पनि प्रशिक्षक बोलाउने गरिएको थियो। पढाइ रोकिएपछि सबै गतिविधि ठप्प भएको छ।
शिक्षक थापामगरका अनुसार नेपालका मगर समुदायले ढुड, खामपाङ र काइके भाषा बोल्ने गर्छन्। यी सबै मगरकै भाषा हुन्। पाठ्यक्रम विकास केन्द्रले यी तीनै भाषाका पाठ्यक्रम र पुस्तक तयार गरेको छ। वीरेन्द्र माविमा ढुड भाषा पढाइ हुन्थ्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यले पनि उपमहमहानगरको उदासीनताका कारण मगर भाषाको पढाइ स्थगित गर्नु परेको बताए।
‘राज्यले पैसा नै भएन, अब तिमीहरू बीचमै पढाइ रोक भन्यो,’ उनले भने, ‘बन्द भएको पढाइ कसरी सुरु गर्न सकिन्छ भनेर सल्लाह गर्दै छौँ।’
तुलसीपुरमा मगरभाषाको पढाइ बन्द हुँदै गर्दा दाङको घोराही उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको छ तर पढाइ सुरु भएको छैन।
उपमहानगरका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमका अनुसार पाठ्यक्रम तयार भए पनि पाठ्यपुस्तक तयार नभएकाले पढाइ सुरु हुन सकेको छैन।
स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाएर कुनै एक विषय पढाउन सक्ने व्यवस्था छ। यसै अनुसार घोराहीले थारू भाषाको पाठ्यक्रम बनाएको हो।
गौतमले आगामी शैक्षिक वर्षमा थारू भाषाको पढाइ सुरु हुन सक्ने बताए।
उनले भने, ‘नगर क्षेत्रका रहेका इच्छुक विद्यालयमा कक्षा १ देखि ३ सम्म नयाँ शैक्षिक सत्रदेखि थारू भाषाको पढाइ सञ्चालन गर्ने उद्देश्यअनुरूप काम हुँदै छ।’
घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले आउने शैक्षिक सत्रमा थारू भाषाको पढाइ सुरु गर्ने बताए।
‘बालबालिकाले आफ्नो मातृ भाषामा पढ्न पाउँदा सिकाइमा पनि सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने, ‘स्थानीय सरकारले स्थानीय विषयवस्तु समावेश गरेर पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक बनाउँछ।’