कैलाली कारागारमा रहेका सांसद अरूण चौधरीको कैद मिनाहा गरिएको छ।
आइतबार फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सांसद अरूण चौधरीलाई जेलबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।
प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।
उनी प्रतिनिधि सभा सदस्य भएपछि मात्र कैद सजाय भुक्तान नगरी फरार रहेको खुलेको हो।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए।
त्यसअघि एकपटक मेयर र एकपटक प्रदेश सभा सदस्य पदमा उनले निर्वाचन लडेर हारेका थिए।
रिहाइको प्रक्रिया पुर्याउन दुई-तीन दिन लाग्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘कैद मिनाह गरेको पत्र आउनुपर्छ, उताबाट आएपछि हामीलाई रिहा गर्न दुई– तिन लाग्छ होला,’ सूचना अधिकारी जोशीले सेतोपाटीसँग भने।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो।
जिल्लाले थुनामा पठाएपछि उनी त्यस विरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर उच्च अदालत दिपायल पुगेका थिए।
बुधबार मात्र उनको मुद्दामा सुनुवाइ भएको थियो। तर, उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उनी थुनामै रहेका छन्।
चौधरीले बुधबार राष्ट्रपतिलाई कैद माफी दिन पत्र लेखेका थिए भने भोलिपल्ट बुझाउनुपर्ने रकम दाखिला गरेका थिए। सरकारले बिहीबारै उनको सजाय माफीका लागि सिफारिस गरेको थियो।