झापाको कनकाई नगरपालिकाले सेवाग्राही नगरवासीका लागि अनलाइन सेवा सुरू गरेको छ।
झापाका १५ स्थानीय तह मध्ये कनकाई नगरपालिकाले यो प्रविधि पहिलो पटक सुरू गरेको हो।
नगरवासीले नगरपालिकाबाट पाउने अधिकांश सुविधा एप मार्फत अब घरमै बसेर अनलाइन पाउने नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले बताए।
‘कुनैपनि वडाका बासिन्दाले नगरबाट हुने कामका लागि समय खर्च गर्नु पर्दैन। सबै कामहरू अब घरमै बसेर पाउन सकिन्छ,’ उनले भने।
कुनैपनि सेवाग्राहीले नगरपालिकाबाट लिने सिफारिसलगायत घरबहाल कर, व्यवसाय दर्ता, नविकरण, कर, सम्पत्ती कर, सूची दर्तालगायतका सेवा अनलाइनमार्फत लिन सक्ने कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए।
‘मुलुकभरका स्थानीय तहमा के छ मलाई त्यो थाहा भएन। तर १ नम्बर प्रदेशमा भने कनकाई नगरपालिका यो प्रविधि भित्र्याउने पहिलो स्थानीय तह पक्का बनेको छ,’ उनले दाबी गरे।
अनलाइन मार्फत नगरले सेवा दिएपछि विश्वका जुनसुकै कुनामा भएका कन्काई नगरवासीले आवश्यक सेवा लिन सक्ने उनले बताए।
उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार सबै प्रकारका सिफासिरहरू अनलाइनको प्रयोग गरी घरबाटै लिन अब सकिन्छ। त्यसका लागि सेवाग्राही प्रविधिमा पोख्त र साक्षर हुन जरुरी छ।
अनलाइन सेवाका विषयमा नगरवासीलाई जानकारी गराउने उद्देश्यले फागुन १० गतेदेखि फागुन महिनाभर नगरका वडा तथा विभिन्न स्थानमा प्रचारप्रसार कार्यक्रमको आयोजना गरिएको अधिकृत मिश्रले बताएका छन्।
गएको साउनेदेखि अनलाइन सेवा नगरमा सुरू भएको थियो। तर केही समस्या भएपछि यो सेवा रोकिएको मिश्रले बताए।
‘अहिले सबै समस्या हटेर लाभग्राहीले अनलाइन सेवा लिन थालिसकेका छन्,’ उनले भने।
यो सेवा सुरु भएपछि वडा नं. १ बाट १०६०, २ बाट ७९५, ३ बाट १७७२, ४ बाट २३६, ५ बाट ५३७, ६ बाट ५६५, ७ बाट १११३, ८ बाट ६०६ र ९ बाट ४९३ वटा विभिन्न सेवा अनलाइनमार्फत दिएको कनकाई नगरपालिकाको सूचना शाखाले जनाएको छ।
नगरपालिकामा यो प्रविधि लागू भएपछि नगरवासीको व्ययभार बच्नुका साथै उनीहरू झन्झटबाट मुक्त भएका छन्।