लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) को पनि सहभागिता हुने भएको छ। सत्तारूढ दलमध्ये हालसम्म लुम्बिनी प्रदेशमा जसपा र नागरिक उन्मुक्ति पार्टीको मन्त्रालयमा भागबण्डा थिएन।
सत्तारूढ यी दुई पार्टीमध्ये जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको छ। सोमबार उनलाई उक्त मन्त्रालयको शपथ गराउने कार्यक्रम छ।
मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी आइतबार जसपाका अहिरलाई तोकिसकेका छन्। अहिर बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन्।
मन्त्रीका रूपमा अहिरको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए। मुख्य मन्त्रीका प्रेस सल्लाहकार टीकाबहादुर बस्नेतले पनि शपथको सबै तयारी पूरा भइसकेको बताए।
यसअघि नेकपा एमालेका तुलसीराम शर्मालाई यो मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। एमालेले पाएको मन्त्रालय काटेर भागबण्डा मिलाउन जसपाका अहिरलाई मन्त्री बनाउन लागिएको हो। भागबण्डा मिलाउन यसअघिका एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई एमालेबाट मुख्यमन्त्री बनेका गिरीको कार्यालयमै व्यवस्थापन गर्न थालिएको छ।
लुम्बिनीको सत्ता गठबन्धन धर्मराउन थालेपछि एमालेका मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको नेपाली कांग्रेसका एक नेताले दाबी गरे। लुम्बिनी मन्त्रिपरिषदमा यसअघि एमालेले मुख्यमन्त्रीसहित पाँच जनालाई मन्त्रिमण्डलमा सामेल गरेको थियो।
माघ २७ गते माओवादी केन्द्रबाट यसअघि बिनाविभागीय मन्त्री बनेकी बाँकेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी थिइन्। पुस २७ गते उनी बिनाविभागीय मन्त्री बनाइएकी थिइन्।
त्यसको एक महिनापछि मुख्यमन्त्री गिरीले केसीको पदबहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन्।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीले माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिनुअगाडि नै पदबाट राजीनामा दिएकी थिइन्।
आइतबार बेलुका मन्त्री केसीले आफूले दिएको राजीनामा स्वीकृत नभएकाले जसपाका मन्त्री थपे पनि आफूलाई कुनै असर नपर्ने तर्क गरिन्।
‘मैले मेरो पार्टीभित्रको विधि र पद्धतिप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएकी हुँ,’ उनले भनिन्, ‘अरू कुनै दलबाट मन्त्री नियुक्त हुन्छन् भने मलाई त्यसले असर गर्दैन। हामीले लुम्बिनीमा सत्ता जोगाएका छौं भन्ने उहाँहरूलाई हेक्का होला।’
अन्य कुनै दलसँग भन्दा पनि व्यक्तिको मनोमानी र पार्टीभित्रको पद्धतिको कुरा आफ्ना लागि प्रमुख कुरा भएको उनले बताइन्।
उनले कुन–कुन दलबाट को मन्त्री हुन्छन् भन्ने कुरा आफ्नो चासोको विषय नभएको पनि बताइन्।
‘हिम्मत भए मेरो राजीनामा स्वीकृत गर्नु नि,’ उनले भनिन्, ‘मैले गठबन्धनका कारणले भन्दा पनि पार्टीभित्रको व्यक्तिवादका कारण राजीनामा दिएकी हुँ। हिम्मत भए त्यो स्वीकृत गरून्।’
लुम्बिनीमा सत्ता गठबन्धन सरकार आफूहरू जस्ता व्यक्तिको सहनशीलताले जोगिएको पनि उनले दाबी गरिन्।