अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका छन्।
सोमबार दिउँसो उनी किभ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा राष्ट्रपति बाइडेनले किभ भ्रमण गरेका हुन्।
किभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन्।
एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनले उल्लेख गरेका छन्।
‘झन्डै १ वर्षअघि यो अतिक्रमण सुरू गर्दा पुटिनले युक्रेन कमजोर छ पश्चिमाहरू विभाजित छन् भन्ने सोचेका थिए। उनले हामीलाई हराउने सोचेका थिए तर उनी पूरै गलत थिए,’ बाइडेनले भनेका छन्।
गत वर्ष फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो। एक वर्षदेखि जारी रहेको युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्।
अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्।
केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए।
बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।