साउनमा बुटवलको चौराहबाट गोलपार्कसम्मको सडक निर्माणको म्याद तेस्रो पटक थप गर्दा निर्माण कम्पनीले २०७९ चैतसम्ममा ७० प्रतिशत र २०८० असार २९ सम्ममा शतप्रतिशत काम सक्ने वर्क सेड्युल (कार्ययोजना) सडक डिभिजन कार्यालयमा बुझाएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार हालसम्म साढे तीन किलोमिटरको सडकको जम्मा ३० प्रतिशतमात्रै काम भएको छ।
हालसम्मको काम हेर्दा आगामी असार मसान्तसम्ममा निर्माण पूरा नहुने सडक डिभिजन कार्यालयका अधिकारीहरूको भनाइ छ।
आगामी असार मसान्तसम्ममा पनि काम पूरा नहुने पक्का भएपछि सडक डिभिजन कार्यालयले यही फागुन ४ गते सूचना प्रकाशित गरी ठेकेदार कम्पनीहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको छ।
सूचनामा ‘ठेक्का लिइएका आयोजना समयमै पूरा गर्न पटक–पटक लिखित र मौखिक सूचना तथा निर्देशन जारी गर्दा पनि चासो नदेखाएकाले उनीहरूलाई बोलाइएको हो। 'ठेक्का सम्झौता किन नतोड्ने र ठेक्का नतोड्नुपर्ने कुनै मुनासिब कारण भएमा १५ दिनभित्र विश्वसनीय स्पष्टीकरण र अविलम्ब निर्माण सम्पन्न गर्ने कार्ययोजना सहित कार्यालयमा उपस्थित हुन' पनि सूचनामा भनिएको छ।
सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर महेश्वर लम्सालका अनुसार हालै निकालिएको सूचनापछि म्याद बाँकी रहेका आयोजना समयमा सम्पन्न गर्न सक्ने विश्वसनीय आधार देखाउन सके म्याद थप गर्न सकिनेछ, अन्यथा ठेक्का सम्झौता तोडिनेछ।
‘ठेकेदार कम्पनीलाई निर्माण कार्य अघि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दा पनि सन्तोषजनक कार्य प्रगति भएको छैन,’ उनले भने।
सूचनामा सार्वजनिक खरिद नियमावली २०७९ अनुरूप पछिल्लो पटक म्याद थप हुँदा गरिएका प्रतिबद्धता, सहमति तथा शर्तहरू बमोजिम कार्य प्रगति नभएकोले ठेक्का तोड्नसक्ने चेतावनी दिइएको छ।
उक्त सूचनामा बुटवलको सडकमात्र नभई समयमा निर्माण कार्य पूरा गर्नेतर्फ चासो नदिएको भन्दै रूपन्देहीका १४ वटा आयोजनाको ठेक्का तोड्न सक्ने कुरा उल्लेख गरिएको छ।
यसरी सूचना जारी गरिएका आयोजनाहरूमा सात वर्षसम्म पनि अलपत्र रही बद्नाम बनेको बेलहिया–बुटवल सडक विस्तार आयोजना, १० वर्षअघि निर्माण थालिएको कञ्चनीया पुल र गत वर्षमात्रै थालिएका सातवटा सडक सुधार र मर्मतका आयोजना छन्।
निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन खण्डमा अलग–अलग ठेक्का लिएको छ।
तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते साढे तीन किलोमिटर सडकको ठेक्का सम्झौता भएको थियो। सम्झौताको ७२ महिना अर्थात ६ वर्ष पूरा हुनै लागेको छ।
निर्माण कम्पनीले अवधि सकिनै लाग्दा नयाँ कार्ययोजना पेश गरेर म्याद थप गराउने गरेको छ।
म्याद थपको अवधि सकिन लाग्दा सडक डिभिजन कार्यालय, बुटवलले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएर सूचना जारी गर्छ। अनि केही दिनमा म्याद थपिदिन्छ।
यसरी तेस्रो पटक थपिएको म्याद आगामी असार मसान्तमा सकिनेछ।
पटक–पटक म्याद थपिए पनि निर्माण कम्पनीले काममा चासो नदिएको कारण देखाउँदै गत वर्ष ठेक्का सम्झौता रद्द गर्न चौतर्फी दबाब परेको थियो।
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले गत स्थानीय निर्वाचनताका उक्त सडक निर्माणलाई मुख्य मुद्दा बनाएका थिए।
उनले संघीय आयोजना अन्तर्गतको उक्त सडकको ठेक्का सम्झौता नतोडिएसम्म सडक डिभिजन कार्यालयमा धर्ना बस्ने चेतावनी दिएका थिए।
थपिएको म्यादमा सडक निर्माणको काम पूरा भएन, ठेक्का सम्झौता पनि रद्द भएन, मेयर पाण्डे धर्ना पनि बसेनन्।
उल्टै सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनपछि निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ को म्याद थप गरियो।
गत वर्ष सम्झौता अवधि सकिन १० दिन बाँकी रहँदा सार्वजनिक खरिद नियमावलीको गरिएको संशोधनको प्रावधानअनुसार सडक निर्माणको म्याद एक वर्ष थप गरिएको थियो।
सम्झौता अवधि सकिन लाग्दा उपकरणहरू ल्याएर केही दिन काम देखाउने र म्याद थप गराएपछि काम बन्द हुने गरेको छ।
गत वर्ष बसपार्कबाट पुष्पलाल पार्कसम्म गिटी बिछ्याएर कम्पनीले एक वर्ष म्याद थप गराएको थियो। त्यसपछि काम भएन।
यही फागुन ४ गते सडक डिभिजन कार्यालयले काममा सन्तोषजनक प्रगति नभएको भन्दै सम्झौता तोड्ने चेतावनीसहितको सूचना जारी गरेको थियो।
यो सूचनापछि बसपार्कबाट मिलनचोकसम्म गिटी बिछ्याउन सुरू भएको छ।
सम्झौता भएपछिका केही दिन अदालतको अन्तरिम आदेशका कारण काम सुरू हुन पाएको थिएन।
सम्झौताको म्याद पाँच महिना बाँकी रहँदै २०७५ वैशाख १२ गते अदालतको अर्को आदेशले कामको बाटो खुला गरिदिएको थियो तर काम सुरू भएन। काम सुरू नहुँदै सम्झौता अवधि सकिएपछि २०७७ साल जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थपिएको थियो।
निर्माण कम्पनीले २०७४ साल र २०७७ सालमा दुई पटक गरी मोभिलाइजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ भुक्तानी लियो तर काम गरेन। यसपछि पनि पैसा लिएको छ।
२०७७ साल पुस १० गते मन्त्रिपरिषद बैठकबाटै २०७९ साल असार मसान्तसम्मका लागि म्याद थप भयो। फेरि करिब ३० प्रतिशत काम गरेर निर्माण कम्पनी सम्पर्कविहीन बन्यो।
गत असार मसान्तमा ठेक्का अवधि सकिनै लाग्दा असार २० गते गरिएको सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधनपछि कम्पनीका अधिकारीहरू सडक डिभिजन कार्यालयमा उपस्थित भए।
नियमावली संशोधनको लाभ उठाउँदै २०८० असार ३१ गतेसम्मका लागि एक वर्ष म्याद थप भयो। फेरि पनि काम पूरा नहुने देखिएको छ।
२०७९ चैतसम्ममा ७० प्रतिशत काम पूरा गर्ने भनिएकोमा साढे एक महिना बाँकी रहँदा समग्रमा ७० प्रतिशत काम बाँकी छ।
निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले पेश गरेको पछिल्लो कार्ययोजनामा गत कात्तिक महिनासम्म सडक कालोपत्रेको ३० प्रतिशत र नाली निर्माणको ७० प्रतिशत काम सक्ने र २०८० असार मसान्तसम्म काम पूरा गर्ने भनिएको छ।
हालसम्मको काम हेर्दा आगामी असार मसान्तसम्ममा निर्माण पूरा नहुने सडक डिभिजन कार्यालयका अधिकारीहरूको भनाइ छ।
अहिले लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य प्रवेशद्वारबाट नयाँ बसपार्कसम्म खण्डहर बनेको सडकमा कामचलाउ कालोपत्रे गरिएको छ।
बसपार्कबाट मिलनचौकसम्म गिटी फिँजाइएको छ। बसपार्कबाट राजमार्ग चौराहसम्म पश्चिमतर्फको सडकमा मात्र दुईतर्फी सवारी सञ्चालन गरी पूर्वतर्फ आवागमन रोकिएको छ।
कुल २७ किलोमिटरको ‘बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना’ अन्तर्गत ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले तीन वटा ठेक्का लिएको छ। तीन वटै काम पूरा गरेको छैन।
फरक–फरक खण्डमा अन्य कम्पनीले पनि ठेक्का लिएको मा ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले मात्र काम पूरा नगरेको हो।
यही सडक आयोजना अन्तर्गत भन्सारनाका बेलहियाबाट डण्डाखोला पुलपारीसम्मको सडकमा चार वर्षदेखि काम हुन सकेको छैन अञ्चलपुरदेखि लखनचोकसम्मको सडक ‘बिरुवा एपेक्स श्रेष्ठ जेभी’ का नाममा र भन्सारनाका बेलहियाबाट डण्डाखोला पुलपारीसम्म ‘द कञ्चनजंघा बिरूवा जेभी’ का नाममा ठेक्का सम्झौता गरिएको छ। यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि एकै व्यक्ति सुवित श्रेष्ठ रहेका छन्।
बुटवलको साढे तीन किलोमिटर सडक निर्माणका लागि ४७ करोड ३२ लाखमा ठेक्का लिएको ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले हालसम्म १३ करोड ८५ लाख रुपैयाँ रकम लगिसकेको छ।
सोही कम्पनीले बेलहिया–बुटवल सडक सुधार विस्तार आयोजना अन्तर्गत बेलहिया भन्सार नाकाबाट डण्डाखोला पुलपारीसम्मको ७५० मिटर सडक पनि अलपत्र पारेको छ।
२०७३ साल चैत १७ गते ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले नै ठेक्का लिएको उक्त सडकको पनि पटक–पटक म्याद थप भएको छ। अन्तिम म्याद यही २०७९ चैत ३० गतेसम्म छ।
अन्तिम पटक थपिएको म्याद सकिएको एक वर्ष पूरा हुन लाग्दा पनि कुनै प्रगति नभएको सडक डिभिजन कार्यालयको भनाइ छ।
कुल १६ करोड ८५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बेलहिया खण्डको काम ६ वर्षमा जम्मा ४० प्रतिशतमै रोकिएको छ। हरेक वर्ष म्याद थपिए पनि पछिल्लो चार वर्षमा केही पनि काम भएको छैन।
यस्तै, ‘मृत सञ्जीवनी निर्माण सेवा प्रालि’, हेटौंडाले २०७४ साल असार १५ गते ठेक्का सम्झौता गरेको तिनाउ नदी पुल र सोनारे–टचिलिया–मैनहिया सडकको पनि प्रगति नभएको सडक डिभिजन कार्यालयका अधिकारीहरूको भनाइ छ।
उक्त सडकको सम्झौता २०८० असार ३० गतेसम्म रहे पनि हालसम्म ६० प्रतिशतमात्रै काम भएको छ। पुल निर्माणको लागि १८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सोही कम्पनीले २०७४ साल असार २९ गते ठेक्का सम्झौता गरेको सिद्धार्थ राजमार्गको लखनथापा चोकबाट हरनैया मैनहिया लुम्बिनी सडक पनि अलपत्र छ।
अन्तिम पटक थपिएको म्याद २०८० साल असार २८ गतेसम्म छ तर हालसम्म ६० प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
उक्त काम ११ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
सडक डिभिजन कार्यालयले कञ्चन गाउँपालिका–५ मा पर्ने वनकसियाघाटमा निर्माण थालिएको कञ्चनिया पुलको काम पनि अलपत्र रहेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको छ।
‘बोखिम शान्ति जेभी’, डिल्लीबजार काठमाडौंले २०६९ साल असार २६ गते ठेक्का सम्झौता गरेको उक्त पुल ९० प्रतिशत काम पूरा गरेर अलपत्र छ।
अन्तिमपटक थपिएको म्याद २०७६ साल मंसिर २९ गते सकिएको हो। यसपछि न म्याद थपियो, न ठेक्का तोडियो।
उक्त पुल निर्माणमा चार करोड रुपैयाँको ठेक्का सम्झैता भएको थियो।
दयानगर, छपियास्थित दानव नदी पुल निर्माणका लागि २०७३ साल असार ३० गते ‘निलगिरि नेसनल जेभी’, पुरानो बानेश्वर काठमाडौंसँग कुल ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
पटक–पटक थपिएको अन्तिम म्याद २०८० असार ३० गतेसम्म छ। काम भने हालम्म ७० प्रतिशतमात्रै भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
नवलपरासीको रामनगरबाट घिउडल्ला–पेपपरमिल–वाइपास रोड जोड्ने भूमही खोलामा निर्माण थालिएको पुलको अन्तिम म्याद २०७८ चैत ३० गते सकिएको थियो।
‘खाम्पाचे शेर्पा निर्माण सेवा प्रालि’, काठमाडौंले २०७४ असार ३० गते ७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। हालसम्म पुलको काम ४३ प्रतिशतमात्रै भएको छ।
ठेकेदार कम्पनीहरूले पुराना मात्रै होइन, नयाँ आयोजनाहरू पनि अलपत्र पारेका छन्।
बुटवल धागो कारखानाबाट योगिकुटी, मगरघाट हुँदै तामनगर जोड्ने सडक सुधारको लागि ‘मजदुर कन्स्ट्रक्सन प्रालि’ वीरेन्द्रनगर, सुर्खेतले २०७८ साल फागुन २५ गते २ करोड ३ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको थियो।
२०७९ कात्तिक २५ गते निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अहिलेसम्म काम सुरू भएको छैन। सडक डिभिजन कार्यालयले म्याद थपेको छैन, ठेक्का सम्झौता रद्द पनि गरेको छैन।
सम्मरीमाई गाउँपालिका–७ मा सडक सुधारको ठेक्का सम्झौताको अवधि सकिएको छ तर १० प्रतिशत पनि काम भएको छैन।
‘समिर मर्चवारी जेभी’, सिद्धार्थनगरले २ करोड १ लाख रुपैयाँमा २०७८ फागुन ६ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताको म्याद गत असोज ५ गते सकिएको छ।
‘चण्डी सिद्धबाबा जेभी’, कोटइमाई, रूपन्देहीले २०७८ साल जेठ २५ गते ठेक्का सम्झौता गरेका दुई वटा सडक मर्मतको काम पनि अलपत्र छ।
बुटवल कोठी र चिडियाखोला सिद्धबाबा सडकखण्डको रिकरेन्ट मर्मत र बुटवल कोठी सडक खण्डमा आवधिक मर्मतका लागि ठेक्का दिइएको थियो।
यस आयोजनाको पनि सम्झौता अवधि सकिएको तर काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।