नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बुधबार साँझ बालुवाटारमा भएको बैठकमा चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ।
पुरानो गठबन्धनमा रहेका अरू दलहरूसँग पनि छलफल गरेर बिहीबार साँझसम्ममा औपचारिक सहमति हुने बालुवाटार स्रोतले बतायो।
छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए।
दुई दलबीचको बैठकमा प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेटेसँगै एमालेसँगको कुरा सकिएको ब्रिफिङ गरेका थिए। उनले एमालेसँगको सहकार्य लगभग सकिएको र अब कांग्रेस र माओवादीले औपचारिक सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
प्रचण्डले पछिल्ला दिनमा ओलीसँग भएका कुनै पनि कुराहरू सही ढंगले नबढेको बताउने गरेका छन्। पछिल्लो पटक गत बिहीबार ओलीको निजी निवास बालकोटमा भएको दुई घन्टा लामो छलफलमा पनि ओली एक्लैले पौने दुई घन्टा बोलेको र त्यसमा सहमति र सहकार्यभन्दा पनि धम्कीको भाषा धैरै बोलेको उनले बैठकमा बताए।
'ती भेटपछि झनै केपी ओलीसँग मिलेर जान नसकिनेमा आफू प्रष्ट भएको प्रधानमन्त्रीले बताउने गर्नुभएको छ,' बालुवाटार स्रोतले भन्यो।
कांग्रेससँग समझदारी गर्दा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सँगै लिएर जानुपर्ने प्रचण्डले बताएका थिए।
माओवादीका एक नेताका अनुसार प्रचण्ड दीर्घकालमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपालाई मिलाएर समाजवादी केन्द्र बनाउन चाहन्छन्। त्यसैले उनले कांग्रेस र माओवादीबीच हुने समझदारीमा यी दुई पार्टीलाई पनि समेट्नुपर्नेमा जोड दिएका हुन्।
कांग्रेसका नेताहरूले पनि नेकपा एकीकृत समाजवादी र जसपालाई सँगै लिएर जानुपर्नेमा आफूहरू सहमत रहेको बताएका थिए। ओलीले प्रधानमन्त्रीका रूपमा संसद विघटन गर्दा आफूहरूसँगै मिलेर नेकपा एकीकृत समाजवादी र जसपा पनि त्यसविरूद्ध लडेकाले उनीहरूलाई साथै लैजानेमा आफूहरू प्रतिबद्ध रहेको कांग्रेस नेताहरूले बताएका थिए।
चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। संसदीय निर्वाचनको समयमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको थियो। त्यसपछि जसपाले एमालेसँग मिलेर चुनाव लडेको थियो भने बाँकी चार दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि मिलाएर संयुक्त गठबन्धन बनाएका थिए। यो गठबन्धनले संयुक्त रूपमा चुनाव लडेको थियो।
बालुवाटार जानुअघि कांग्रेसका नेताहरूले बुधबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ बन्ने गठबन्धनमा पार्टीको सम्मानजनक स्थान हुनुपर्ने र आफूलाई राष्ट्रपति बन्न साथीहरूले आग्रह गरिरहेको बताएका थिए।
कांग्रेसका नेताहरूले संसदको सबभन्दा ठूलो दलको हैसियतले कांग्रेसले राष्ट्रपति राख्नु स्वाभाविक हुने भन्दै नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सम्मानजनक र न्यायोचित स्थान पाउनुपर्नेमा आफूहरू पनि सहमत रहेको बताएका थिए।
बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्दै कांग्रेस र नेकपा एकीकृत समाजवादीको छलफल सकिएको थियो।
नेकपा एकीकृत समाजवादीका एक नेताले एमालेसँग मिलेर जाने प्रसंग सकिएको र कांग्रेस-माओवादी सँगै सहमतिमा पुग्ने विश्वास आफूहरूले राखेको सेतोपाटीलाई बताए।
'हाम्रो धारणा अझै पनि अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर जाऔं भन्ने छ। कांग्रेसले आजको छलफलमा केही समयका लागि नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्न सक्ने गरी मिलेर जान संकेत गरेको छ। बिहीबार साँझसम्ममा टुंगो लाग्छ होला,' ती नेताले भने।
बालुवाटारमा कांग्रेस र माओवादीबीचको बैठकमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई 'पावर सेयरिङ' मा कसरी मिलाएर जाने भन्नेबारे छलफल भएको थियो। नेपाललाई पनि आगामी पाँच वर्षभित्र कुनै निश्चित समयावधिमा प्रधानमन्त्री बनाउनेमा दुवै दलहरू सहमत रहेको बालुवाटार स्रोतले बतायो।
को को कति समयसम्म प्रधानमन्त्री रहने भन्नेबारे प्रचण्ड र देउवाले माधव नेपालसँग छलफल गरेर टुंग्याउने सहमति भएको छ। बुधबार साँझ पनि त्यही छलफलका बीच देउवा र प्रचण्ड केही समय छुट्टै बसेर कुरा गरेका थिए।
कांग्रेस र माओवादीका नेताहरू उपस्थित उक्त बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीले 'आगामी वैशाखभित्रमा कांग्रेसले तपाईंलाई धोका दिन्छ र तपाईं पनि मसँगै प्रतिपक्षमा आइपुग्नु हुन्छ' भनेको सुनाएका थिए। साथै ओलीले माधव नेपाललाई राष्ट्रपति बन्न आफूले प्रस्ताव नगरेको भन्दै बाहिरका हल्लामा नलाग्न भनेको पनि प्रचण्डले बैठकमा सुनाएका थिए।
कांग्रेसका नेताहरूले चुनाव अघिका दलहरू मिलेर ब्युँताउने गठबन्धन पाँच वर्षसम्म कायम राख्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसमा तलमाथि नहुने आश्वासन प्रचण्डलाई दिएका थिए।
पुरानो गठबन्धन ब्युँताउने अनौपचारिक सहमतिसहित कांग्रेस र माओवादीबीच बुधबारको छलफल सकिएको थियो।
बिहीबार बिहान नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवसँग छुट्टाछुट्टै छलफल गर्ने र साँझ चारै दल बसेर औपचारिक सहमति गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो। यसरी नयाँ बन्ने गठबन्धनमा अरू स-साना दललाई पनि सहभागी गराउनेबारे समेत छलफल भएको थियो।
'अरू दलहरूसँग पनि चाँडै छलफल हुनेछ,' बालुवाटार स्रोतले भन्यो।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहमति गरेर प्रचण्डको नेतृत्वमा गत पुस १० मा सरकार गठन गरेका थिए।
कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने वा माओवादीले गर्ने भन्ने विवादका बीच चुनावअघिको गठबन्धन भत्किएको थियो। चुनावपछि सुरूका दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिने र त्यसपछि तीन वर्ष कांग्रेसले प्रधानमन्त्री लिने सहमतिबाट कांग्रेस सभापति देउवा पछि हटेपछि प्रचण्ड बालकोट पुगेका थिए। त्यहीँ एमालेसहित जोडिएर नयाँ गठबन्धन बनेको थियो।
यो पनि पढ्नुहोस्- देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई